शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • ओलम्पिक, एसियाड र साग पदकधारीको पुरस्कार रकम बढ्यो

ओलम्पिक, एसियाड र साग पदकधारीको पुरस्कार रकम बढ्यो

  • शनिबार, साउन ७, २०७९
ओलम्पिक, एसियाड र साग पदकधारीको पुरस्कार रकम बढ्यो

काठमाडौं — ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न लागिएको छ ।

नयाँ व्यवस्थाअनुसार ओलम्पिक खेलकुदअन्तर्गत ग्रिष्मकालीन, शीतकालीन र पारा ओलम्पिक सँगै फिफा विश्वकप फुटबलमा पदक विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ । यी खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एकल खेलतर्फ १ करोड ३० लाख र सामूहिक खेलतर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

रजत जितेमा एकलतर्फ ९७ लाख र सामुहिक खेलतर्फ जनही ४५ लाख तथा कांस्य जितेमा एकलतर्फ ६५ लाख र सामूहिकतर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै स्वर्ण विजेता खेलाडी तथा टिमको प्रमुख प्रशिक्षकले १३ लाख, रजत विजेताले ७ लाख ८० हजार र कांस्य विजेताले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

स्वर्ण विजेता खेलाडी तथा टिमको सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ६ लाख ५० हजार, रजत जितेमा ३ लाख ९० हजार र कांस्य जितेमा २ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः १९ लाख ५० हजार, १५ लाख ६० हजार र ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यसअघि २०७२ सालमा बनाइएको कार्यविधिअनुसार ओलम्पिक स्वर्ण जित्ने खेलाडीले एकल खेलतर्फ १ करोड र सामूहिकतर्फ ४० लाख, रजत विजेता खेलाडीले एकतर्फ ७५ लाख र सामुहिकतर्फ ३५ लाख तथा रजत विजेता खेलाडीले एकलतर्फ ५० लाख र सामुहिक खेलतर्फ २० लाख रुपैयाँ पुरस्कार पाउँदै आएका थिए ।

नयाँ कार्यविधिअनुसार एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडीले एकल खेलतर्फ ३२ लाख ५० हजार र सामुहिक खेलतर्फ १३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत विजेताले एकल खेलतर्फ १९ लाख ५० हजार तथा सामुहिक खेलतर्फ ६ लाख ५० हजार र कांस्य विजेताले एकलतर्फ १३ लाख र सामूहिक खेलतर्फ ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

स्वर्ण विजेता खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख ५० हजार, रजत विजेताले ३ लाख ९० हजार र कांस्य विजेताले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले स्वर्ण, रजत र कांस्य जितेमा क्रमसः ३ लाख २५ हजार, १ लाख ९५ हजार र १ लाख ३० हजार रुपैयाँ पाउनेछन् । खेल संघले पनि क्रमसः १३ लाख, ६ लाख ५० हजार र ३ लाख ९० हजार पुरस्कार पाउनेछन् ।

दक्षिण एसियाली खेलकुद (साग)तर्फ स्वर्ण विजेता खेलाडीले एकल खेलतर्फ ११ लाख ७० हजार, सामूहिक खेलतर्फ ७ लाख ८० हजार रुपैयाँ पाउनेछन् । अघिल्लो व्यवस्थाअनुसार सागमा स्वर्ण जित्नेले एकलतर्फ ९ लाख र सामुहिकतर्फ ६ लाख पाउँदै आएका थिए ।

रजत विजेता खेलाडीले एकलतर्फ ७ लाख ८० हजार र सामुहिकतर्फ ५ लाख २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कांस्य जित्नेले एकलतर्फ ३ लाख ९० हजार र सामुहिकतर्फ २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

सागमा स्वर्ण जित्ने खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख २५ हजार, रजत जित्नेले ३ लाख ९० हजार र कांस्य जित्ने खेलाडीका प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले पनि स्वर्ण, रजत र कांस्यअनुसार क्रमासः ३ लाख ९० हजार, २ लाख ६० हजार र १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः ६ लाख ५० हजार, ३ लाख ९० हजार र २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले १ लाख र अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार