बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपालको एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सन्दीपको कप्तानी, जितको रेकर्ड भने खराब

नेपालको एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सन्दीपको कप्तानी, जितको रेकर्ड भने खराब

  • मङ्लबार, साउन ३, २०७९
नेपालको एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सन्दीपको कप्तानी, जितको रेकर्ड भने खराब

सन् २०१८ मा एकदिवसीय टिमको मान्यता पाएसँगै नेपालले अहिलेसम्म ३० एकदिवसीय खेल खेलिसकेको छ। जसमा नेपालको प्रदर्शन औषत छ। नेपालले ३० मध्ये १३ खेलमा जित निकालेको छ भने १६ खेलमा हार बेहोरेको छ। एक खेल भने बराबरीमा सकिएको छ।

नेपालका लागि अहिलेसम्म एकदिवसीय खेलमा तीन जनाले कप्तानी गरेका छन्। नेपालका लागि एकदिवसीय खेलमा बढी खेलमा कप्तानी गर्ने खेलाडी सन्दीप लामिछाने हुन्।

गत वर्ष ज्ञानेन्द्र मल्लको स्थानमा कप्तानको जिम्मेवारी पाएका सन्दीपको नेतृत्वमा नेपालले १४ एकदिवसीय खेल खेलिसकेको छ। आइतबार सकिएको स्कटल्यान्ड भ्रमण गर्नुअघि सन्दीप र ज्ञानेन्द्र मल्लले नेपालका लागि समान खेलमा कप्तानी गरेका थिए। स्कटल्यान्डको सिरिजसँगै सन्दीप नेपालका लागि बढी खेलमा कप्तानी गर्ने खेलाडी बने।

बढी खेलमा कप्तानी गरेका सन्दीपको रेकर्ड भने राम्रो छैन। सन्दीपको कप्तानीमा नेपालले ४ खेलमा मात्र जित निकालेको छ। ९ खेलमा नेपाल पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ।

सन्दीपको कप्तानीमा नेपालको जितको प्रतिशत ३२.१४ रहेको छ। एकदिवसीय खेलमा नेपालका लागि बढी खेलमा कप्तानी गर्ने सूचीको दोस्रो स्थानमा रहेका ज्ञानेन्द्रको नेतृत्वमा नेपालले १० एकदिवसीय खेल खेल्दा ६ खेलमा जित र ४ खेलमा हार बेहोरेको छ। उनको कप्तानीमा नेपालको जित प्रतिशत ६० रहेको छ।

यस्तै पारस खड्काको कप्तानीमा नेपालले ६ एकदिवसीय खेल खेलेको छ। ६ मध्ये नेपालले ३ खेलमा जित र ३ खेलमा र बेहोरेको छ। टी-२० अन्तर्राष्ट्रिय खेलको कप्तानीमा भने सन्दीपको रेकर्ड राम्रो छ। सन्दीपको कप्तानीमा नेपालले अहिलेसम्म १३ टी-२० अन्तर्राष्ट्रिय खेलेको छ। जसमा नेपालले १० खेलमा जित निकालेको छ भने ३ खेलमा पराजित भएको छ। सन्दीपको कप्तानीमा नेपालको टी-२० अन्तर्राष्ट्रियमा जित प्रतिशत ७६.९२ रहेको छ।

नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी भने पारस खड्का हुन्। खड्काको नेतृत्वमा नेपालले टी-२० विश्वकप खेलेको इतिहास छ। पारसको कप्तानीमा नेपालले २७ टी-२० खेल्दा ११ खेलमा जित र १५ खेलमा हार बेहोरेको छ। एक खेलको भने नतिजा आएको थिएन। पारसको कप्तानीमा नेपालको टी-२० जित प्रतिशत ४२.३० रहेको छ।

टी-२० मा बढी कप्तानी गर्ने सूचीमा सन्दीप दोस्रो स्थानमा रहदा ज्ञानेन्द्र मल्ल तेस्रो स्थानमा छन्। ज्ञानेन्द्रको कप्तानीमा नेपालले १२ खेल मध्ये ९ खेलमा जित निकालेको थियो भने ३ खेलमा हार बेहोरेको थियो। उनको कप्तानीमा नेपालको जित प्रतिशत ७५ रहेको छ।

सन्दीप दुवै फर्म्याटको खेलमा नेपालका उत्कृष्ट बलर हुन्। सन्दीपको नाममा नेपालका लागि एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने कीर्तिमान छ। सन् २०१८ देखि अहिलेसम्म सन्दीपले ३० एकदिवसीय खेल खेल्दा ६९ विकेट लिएका छन्। टी-२० अन्तर्राष्ट्रियमा सन्दीपले २०१८ देखि अहिलेसम्म ३८ खेलमा ७३ विकेट लिएका छन्।

चर्चामा

सम्बन्धित समाचार