शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • लिग टु क्रिकेट : नामिबियाविरुद्ध बदला लिने नेपालको योजना

लिग टु क्रिकेट : नामिबियाविरुद्ध बदला लिने नेपालको योजना

  • शनिबार, असार ३२, २०७९
लिग टु क्रिकेट : नामिबियाविरुद्ध बदला लिने नेपालको योजना

काठमाडौं– स्कटल्याण्डमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि स्कटल्याण्डको क्याम्बुसडून नयाँ मैदानमा हुँदैछ ।

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमै नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डमाथि ५ विकेटको ऐतिहासिक जित हासिल गर्‍यो ।

नामिबियाविरुद्ध ओडीआईमा पहिलो पटक पराजित भएको नेपालले स्कटल्याण्डविरुद्ध भने ओडीआईमा पहिलो जित निकाल्यो ।

एकरुपको प्रदर्शन गर्न नसकेको नेपालले नामिबयाविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । तर त्यसका लागि नेपालले ब्याटिङमा सुधार गर्नुपर्नेछ । पहिलो खेलमा नामिबियाविरुद्ध २२१ रनको लक्ष्य पछ्याउँदा नेपाल १८० रनमा अलआउट भएको थियो ।

त्यसपछि दोस्रो खेलमा भने नपालले स्कटल्याण्डलाई १४४ रनमै अलआउट गरेको थियो ।

ब्याटिङमा ओपनिङ जोडीले लामो समय खेल्न सकेका छैनन् । आसिफ शेखले अघिल्लो खेलमा अर्धशतक प्रहार गरेका थिए । अर्का ओपनर कुशल भुर्तेलले इनिङ्सलाई ठूलो स्कोरमा कन्भर्ट गर्न सकिरहेका छन् ।

मिडल अर्डरमा दीपेन्द्र सिंह ऐरी अहिले लयमा देखिएका छैनन् । दीपेन्द्र लयमा आए नेपाललाई सजिलो हुनेछ । देव खनाल र उपकप्तान रोहित पौडेलले पनि लय अनुसार खेल्न सकेका छैनन् ।

लिग टु मा शीर्ष तीनमा रहँदै ग्लोबल छनोटमा पुग्न नेपाललाई यस शृखंलाका बाँकी दुई खेल महत्वपूर्ण हुनेछ । हाल नेपाल १८ खेलबाट १७ अंकसहित पाँचौ स्थानमा छ । नेपालले लिग टु मा आधा खेल खेलिसकेको छ ।

नामिबिया १७ खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ र नेपाललाई पछ्याइरहेको छ । अघिल्लो खेलमा नेपाललाई हराएर नामिबिया पाँचौ स्थानमा उक्लेको थियो तर स्कटल्याण्डलाई हराएपछि नेपाल पाँचौ स्थानमै उक्लेको हो ।

अब बाँकी दुई खेल जित्न सके नेपालले चौथो स्थानको अमेरिकासँग अंकदूरी कम पार्नेछ । अमेरिका २४ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार