शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगाको मतगणना मुद्दा- सुनुवाइअघि जब कामु प्रधानन्यायाधीशको च्याम्बरमा महान्यायाधिवक्ता छिरे

बुढीगंगाको मतगणना मुद्दा- सुनुवाइअघि जब कामु प्रधानन्यायाधीशको च्याम्बरमा महान्यायाधिवक्ता छिरे

  • मङ्लबार, असार १४, २०७९
बुढीगंगाको मतगणना मुद्दा- सुनुवाइअघि जब कामु प्रधानन्यायाधीशको च्याम्बरमा महान्यायाधिवक्ता छिरे

काठमाडौं– देशका ७५३ स्थानीय तहमध्ये यस पटक सर्वाधिक चर्चामा रहेको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः निर्वाचन कि मतगणना भन्ने विवादमा अन्ततः महान्यायाधिवक्ता खम्म खातीले सर्वोच्च अदालत र निर्वाचन आयोग दुवै संवैधानिक अंगलाई आफ्नो पक्षमा उभ्याउन सफल भएका छन् ।

बुढीगंगा नगरपालिकाको मेयरमा खम्ब खातीका सहोदर दाजु रंगबहादुर खाती उम्मेदवार छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रंग खातीको अनुकूल निर्वाचन आयोगबाट निर्णय गराउन सफल भएका खातीले मंगलवार कामु प्रधान न्यायाधीश दीपक कुमार कार्कीलाई भेटेर निस्के लगत्तै सर्वोच्चबाट पनि सोही अनुरूपको आदेश आएको छ ।

मंगलवार कामु प्रधान न्यायाधीश कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासमा बुढीगंगाको मतगणना गर्न अन्तरिम आदेश माग गर्दै वडाध्यक्षका उम्मेदवार दलबहादुर साउदले दायर गरेको रिटमाथिको सुनुवाइ थियो । टि ब्रेकपछि सुनुवाइ हुने भनेर इजलासबाट बाहिरिएका प्रधान न्यायाधीशको कार्यकक्षमा महान्यायाधिवक्ता खाती छिरेपछि अन्य आदेश आउने आङ्कलन साउद पक्षका वकिलहरुले गरिसकेका थिए ।

नभन्दै टि ब्रेकपछि सो मुद्दाको सुनुवाइ गर्दै कार्कीले अन्तरिम आदेश जारी नहुने आदेश सुनाए । सुनुवाइको ठिक अघि मुद्दाका विपक्षी (झगडिया) रंग खातीका सहोदर भाइ महान्यायाधिवक्ता खम्म खाती कामु प्रधान न्यायाधीशको च्याम्बरमा पस्नु र लामो छलफलपछि उनको पक्षमा आदेश दिइनुलाई संयोग मात्र मान्न नसकिने वकिल समेत रहेका एमाले स्थायी कमिटी सदस्य तथा बाजुराका नेता कर्णबहादुर थापाले बताए ।

खम्म खातीले बुढीगंगा नगरपालिकाको निर्वाचनकै दिन मतदान रद्द गर्न नसकेपछि मतदान केन्द्रबाट प्रहरी फिर्ता गराउनेदेखि पुनः मतदानको लागि जिल्ला सुरक्षा समितिलाई दबाब दिएको र पदीय दुरुपयोग गरेको प्रतिवेदन निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले नै दिएको थियो ।

आयोगको टोलीले मतगणना गर्न सुझाव दिए पनि खम्म खातीमार्फत सरकारको दबाबमा आयोगले पुनः मतदानको निर्णय गरेको आरोप छ । निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दामा अदालतलाई समेत खातीले प्रभावित पारेको आरोप रिट निवेदकको छ । मुख्य निर्वाचन अधिकृतले बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः मतदानको मिति तोकिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार