शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • अमेरिकासँग नेपाल ३९ रनले पराजित

अमेरिकासँग नेपाल ३९ रनले पराजित

  • बिहिबार, असार २, २०७९
अमेरिकासँग नेपाल ३९ रनले पराजित

काठमाण्डौँ — आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ। आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो।

यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो। चार खेल मध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो। अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ। अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ।

आरिफ र सोमपालले छैटौं विकेटका लागि १०६ रनको साझेदारी गरेपनि नेपाललाई जितसम्म पु¥याउन सकेनन्। नेपाललाई अन्तिम ५ ओभरमा ५० रन भन्दा कम चाहिएको अवस्थामा दुव खेलाडी ४५औं ओभरमा आउट भएका थिए।

९३ रनमै ५ विकेट गुमेको अवस्थामा आरिफ र सोमपालले कीर्तिमानी शतकिय साझेदारी गरेका थिए। छैटौं विकेटका लागि नेपालको यो अहिलेसम्मको ठूलो साझेदारी हो। यसअघि छैटौं विकेटका लागि २०२० मा कुशल मल्ल र विनोद भण्डारीले अमेरिका विरुद्ध नै ८४ रनको साजेदारी गरेका थिए।

नेपालका लागि आरिफले सर्वाधिक ६३ रन बनाए भने सोमपालले ४७ रन जोडे । यसबाहेक देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रन बनाए। आदिल अन्सारी ४, करण केसी १ रनमा आउट भए भने कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन्। नेपालले अन्तिम ७ रन जोड्दा ५ विकेट गुमाएको थियो।

नेपाललाई अलआउट गर्न अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले ३–३ विकेट लिए। नोसथुस केन्जिगले र निसर्ग पटेलले समान १ विकेट लिए। नेपालका दुई खेलाडी रनबउट भए। त्यसअघि मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो।

अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए। यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे। करण केसीले स्टेभेन टेलर (१) र कप्तान मोनाक पटेल (४) लाई सुरुमै आउट गरेपनि मोदानी र जोन्सले ८८ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्सलाई अघि बढाएका थिए।

नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

चर्चामा

सम्बन्धित समाचार