शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ
  • स्थानीय चुनावमा सत्ता गठबन्धनले पैसाको खोलो बगायो : पृथ्वीसुब्बा गुरुङ

स्थानीय चुनावमा सत्ता गठबन्धनले पैसाको खोलो बगायो : पृथ्वीसुब्बा गुरुङ

  • बुधबार, जेष्ठ ११, २०७९
स्थानीय चुनावमा सत्ता गठबन्धनले पैसाको खोलो बगायो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं — नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले पैसाको खोलो बगाएको आरोप लगाएका छन्।

पोखरा महानगरपालिकामा उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा उपमहासचिव गुरुङले पोखराका कुना कुनामा रहेका बस्तीमा पैसाको खोलो बगाएर परिणाम उल्ट्याउने काम गरिएको आरोप लगाएका हुन्।

सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीले निर्वाचनमा असहज भएको उनको भनाइ छ। ‘पोखरामा हामीले आफ्नो विरासत जोगाउन सकेनौं। दु:ख लागेको छ। मेयरका उम्मेदवारलाई सहानुभूति छ,’ गण्डकी प्रदेश इन्चार्ज गुरुङले भने, ‘मेयरले नजिते पनि उपमेयर पोखरेली जनताले जिताएकाले यो सफलता हो।’

मेयर गुमाए पनि पोखराको नगरसभा र कार्यसमितिमा एमालेको बहुमत रहेको भन्दै यसको नेतृत्व उपमेयर मन्जुदेवी गुरुङले गर्ने उनको भनाइ छ। ‘हामीले यहाँ एकीकृत समाजवादीलाई निष्तेज पारेका थियौं। प्रदेशमै उठ्न दिएका थियनौं। तर पोखरामै मेयर हार्‍यौं,’ उनले भने।

उनले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई शासकजस्तो नभइ सेवक भएर काम गर्न अपिल गरे। ‘शासकजस्तो भएर प्रस्तुत भएका ठाउँमा हारेका छौं। सेवक भएर गरेका ठाउँमा जित्यौं। यो कुरालाई मनन् गरौं,’ उनले भने।

धाँधली र सत्ताको चरम दुरुपयोगको बीच चार वटा महानगरमा उपमेयर जितेको उल्लेख गर्दै गुरुङले भरतपुर र वीरगंजमा असफल भएको बताए। निर्वाचनको मौन अवधिमा भएका चरम गतिविधिमा आफूहरुको ध्यान पुग्न नसक्दा पनि पराजित हुनुपरेको उनको भनाइ छ।

‘धरान र बुटबल हामीले गुमाएका छौं। एमालेको लालकिल्ला गुमाएका छौं। यसमा समीक्षा गर्नुपर्छ,’ उनले भने।

यति हुँदाहुँदै प्रदेशमै पहिलो बनेर गण्डकीमा एमालेले विरासत कायम राखेका उनले सुनाए। तर यति हुँदाहुँदै पनि पोखराको मेयर गुमाउँदा दुखी रहेको उनको भनाइ थियो।

अब पोखरालाई माथि उठाउने भिजन, स्वच्छ, सुन्दर र हराभरा पोखरा निर्माण अभियानको नेतृत्व उपमेयरले गर्ने गुरुङले उल्लेख गरे।अन्नपुर्णपाेष्टबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार