आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • बुढीगंगा नगरपालिका हाक्ने एमालेका यी युवा अनुहार

बुढीगंगा नगरपालिका हाक्ने एमालेका यी युवा अनुहार

  • बिहिबार, बैशाख १५, २०७९
बुढीगंगा नगरपालिका हाक्ने एमालेका यी युवा अनुहार

बाजुरा : नेकपा एमाले बुढीगंगा नगर कमिटीले स्थानीय तह निर्वाचनमा युवा अनुहारलाई प्राथमिकता दिएको छ । पालिका प्रमुख उपप्रमुख देखि वडा अध्यक्ष सदस्यसम्म सबैजसो युवा अनुहार नै देखिएका छन् ।

पालिका प्रमुखमा रामबहादुर बाँनीया र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा झिनो मत अन्तरले काँग्रेस उम्मेदवारसँग पराजित बाँनीया र कुँवर दुबै जनालाई एमालेले चुनावी मैदानमा पठाएको छ ।

पार्टी भित्रको आन्तरिक समस्याले नै केही मत अन्तरले हार्नु पर्ने अवस्था आएकोले २०७४ सालकै प्रमुख उपप्रमुखका उम्मेदवारीनै यो चुनावमा स्थान दिएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् । जनताको माग र पार्टीको आवश्यकताका आधारमा नै पुरानै अनुहारलाई दोहोर्याएको एमालेको दाबी छ ।

जनमतमा एमाले नगरपालिकामा बढी भएपनि पार्टी भित्रको आन्तरिक समस्याले हारबेहोर्न बाध्य हुने गरेको छ । यो पटक ती सबै समस्यालाई किनारा लगाएर युवाहरुको टिमलाई उम्मेदवार बनाएको छ । प्रमुख, उपप्रमुख र १० जना वडा अध्यक्ष मध्ये अधिकांश ४० नकटेका युवाहरुलाई नै उम्मेदवार बनाएको छ ।

पार्टी संगठनमा इमान्दार खटाई, सक्षम र योग्यमत व्यक्तित्व र समाजले विश्वास गरेका अनुहारलाई नै उम्मेदवार बनाएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् । अन्तिम समयसम्म पार्टी सचिव भरत थापा र रामबहादुर बाँनीया बीच प्रमुखमा सहमतिको प्रयास गरिएको थियो ।

उपप्रमुखमा माया कुँवर, देबु खाती र विमला थापाबीच पनि सहमति गराएर पुरानै उम्मेदवारलाई अवसर दिने सहमति पछि प्रदेश कमिटीले निर्णय गरेको हो । यस्तै १० वडै वडामा सबै युवा अनुहार नै अघि सारेको छ । ३ नम्बर वडामा खडक अधिकारी बाहेक अरु वडामा नयाँ अनुहारलाई एमालेले वडा अध्यक्ष बनाएको छ ।

वडामा व्यक्तिगत प्रभाव र सामाजिक इमान कमाएका युवाहरुलाई नै अघि सारेको देखिएको छ । १ नम्बरमा रणबहादुर थापा अध्यक्षका उम्मेदवार हुन् । थापाले वडा कार्यालयमा स्थानीय नागरिकलाई दिएको सेवा र व्यक्तिगत व्यवाहारकै कारण लोकप्रीय छन् ।

२ नम्बर वडामा लामो समय युवा संघको राजनीति गरेका पदम भण्डारीले अवसर पाएका छन् । भण्डारी वडामा एकल अध्यक्षको उम्मेदवार बनेर सर्वसम्मत भएका हुन् । यस्तै ३ मा खडक अधिकारी पनि निर्विवाद उम्मेदवार बनेर चुनावी दौडमा छन् ।

४ नम्बर वडामा एमालेले झनै नयाँ अनुहार अघि सारेको छ । ४ मा प्रकाश रावत अध्यक्षको उम्मेदवार हुन् । काँग्रेसको बाहुल्यता रहेको वडामा एमालेको विरासत थाम्ने साहसका साथ रावतले अध्यक्ष बन्ने आकाक्षा राखेपछि एमालेले टिकट दिएको हो ।

५ नम्बर वडामा पनि चक्र थापा उम्मेदवार बनेका छन् । विद्यार्थी राजनीति गरेका र विश्वविद्यालय तहको शैक्षिक योग्यता हासिल गरेका थापालाई पनि एमालेले वडा बासीको मागलाई नै संवोधन गर्न अघि सारेको हो ।

६ नम्बर वडामा पनि पूर्व गाउँ कमिटीका अध्यक्ष हेमराज जोशी उम्मेदवार बनेका छन् । पुराना र पाका अनुहारका बीच छलफल भएपनि युवा जोग जाँगर र केही गर्न सक्ने योग्यता क्षमता भएका जोशीलाई नै एमालेले अध्यक्ष बनाएको छ ।

७ नम्बर वडामा पाका र अनुभवी मनराम विष्टलाई अध्यक्षको उम्मेदवार बनाएको छ । गाउँमा राम्रो पकड भएका र सामाजिक सेवामा सक्रिय विष्टलाई उम्मेदवार बनाएपछि एमालेले वडामा जितको सुनिश्चित हुने विश्वास राखेको छ ।

८ नम्बर वडामा विराज रावललाई उम्मेदवार बनाएको छ । २५ वर्ष उमेर नकटेका रावल वडामा युवाहरुबीच अति लोकप्रीय र प्रभावी अनुहार हुन् । युवाहरुको मत र साथले वडामा जित्न सक्ने साहस राखेका रावललाई एमालेले कलिलै उमेरमा उम्मेदवार बनाएको हो ।

एमालेले १० मध्ये ९ नम्बर वडाको अध्यक्षमा भने पुराना र पाका नेता मिनबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । युवा अनुहारलाई नै अघि सार्ने योजना भएपनि मिनबहादुर सिंहलाई सिंगो वडा बासीको एकमत र माग अनुसार नै अध्यक्षको उम्मेदवार बनाएको हो ।

१० नम्बर वडामा पनि एमालेले विद्यार्थी राजनीतिबाट खारिएर आएका युवा नेता डेबीट क्षेत्रीलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिमा राम्रो प्रभाव राख्ने क्षेत्रीलाई वडामा युवाहरुले अति रुचाएका र माग गरिएका पात्र हुन् ।

एमालेले सबै वडामा नयाँ युवालाई नै अध्यक्षको उम्मेदवार बनाएपछि पालिका स्तरमा चर्चाको विषय बनेको छ । युवा नेतृत्वलाई अवसर दिन र पार्टी संगठनलाई शसक्त बनाउन युवाहरुलाई नै पहिलो प्राथमिकतामा राखेर उम्मेदवार बनाइएको हो । काँग्रेसले उठाएका उम्मेदवार भन्दा धेरै योग्य र सक्षम अनुहार भएकोले चुनाव जित्न एमालेलाई सहज हुने र विरासत फकाउने निश्चित बनेको एमाले नेताहरुको दाबी छ ।

चर्चामा

सम्बन्धित समाचार