बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • दुई गुणासम्म किन बढ्यो कागतीको भाउ?

दुई गुणासम्म किन बढ्यो कागतीको भाउ?

  • शुक्रबार, बैशाख २, २०७९
दुई गुणासम्म किन बढ्यो कागतीको भाउ?

पछिल्लो समय नेपाली बजारमा कागतीको मूल्य दिन प्रतिदिन बढ्दै गइरहेको छ। छिमेकी मुलुक भारतमा कागतीको मूल्य बढेपछि त्यसको असर यहाँ परेको व्यवसायीहरूले बताएका छन्।

कालिमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ। बुधबारको थोक मूल्य सूचीअनुसार कालिमाटीमा कागती प्रतिकिलो तीन सय ७५ रूपैयाँसम्म बिक्री भएको देखिन्छ।

गत वर्ष यो अवधिमा कागतिको थोक मूल्य प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रूपैयाँसम्म थियो। अन्य बेला भने कागती एक सय १० देखि एक सय ५० रूपैयाँ किलोसम्म कारोबार हुने गरेको तथ्यांकले देखाएको छ।

भाउ महँगिएपछि दाना किन्नेका लागि कागती झनै महँगो पर्न थालेको छ। चाबहिल बजारमा तरकारी किन्दै गरेकी शर्मिला मगरले भनिन्, ‘कागती त छोइनसक्नु भएको छ। पहिले १० रूपैयाँमा ३-४ वटासम्म पाइन्थ्यो। अहिले साना दुइटालाई ५० रूपैयाँ लाग्छ।’

चाबहिल बजारकै कागती व्यापारीका अनुसार दाना पनि आकारका आधारमा बिक्ने गरेको छ। साना दाना दस वटाको ५० रूपैयाँ तोकिएको छ भने मध्यम दाना ६ वटाको ५० रूपैयाँ तोकिएको छ।

कागतीको भाउ उक्लेको धेरै भएको छैन। कालिमाटी तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार एक महिनाअघिसम्म कागती किलोको डेढ/दुई सय रूपैयाँसम्म बिक्री हुन्थ्यो।

भारतमा कागतीको भाउ बढेकैले नेपालमा असर देखिएको श्रेष्ठको भनाइ छ।

‘नेपालमा कागतीको उत्पादन मौसमी हो। यति बेला आउने कागती सबै भारतकै हो। भारतमा नै भाउ बढेकाले यहाँ पनि बढेको हो,’ श्रेष्ठले भने।

उनकाअनुसार काठमाडौंको कागती बजार भारतमै निर्भर छ। इन्डिया टुडेका अनुसार दिल्लीको तरकारी बजारमा कागतीको भाउ प्रतिकिलो भारू ३५० सम्म पुगेको छ।

पेट्रोलियम पदार्थको मूल्य बढेकाले बढेको ढुवानी खर्च र धेरै कागती उत्पादन हुने गुजरातमा केही समयअघि आँधीले कागती खेतीमा पुर्‍याएको क्षतिका कारण कागती भाउ बढेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार