शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

  • सोमवार, चैत्र १४, २०७८
३८ लाख यूक्रेनी विदेशी शरणमा : राष्ट्रसंघ

जेनेभा — एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार सार्वजनिक तथ्याङ्कले देखाएको छ। यद्यपि शरणार्थीको बहावमा पछिल्लो साता उल्लेख्य रुपमा सुस्ताएको छ।

संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्याङ्क सर्वजनिक गरेको हो। यो शनिबारको तथ्याङ्कभन्दा ४८ हजार ४५० सङ्ख्याको वृद्धि हो। विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका यूएनएचसीआरले जनाएको छ। यूक्रेनबाट जीवनका लागि भागेकामध्ये सबैभन्दा धेरै दुई लाख २० हजार छिमेकी पोल्याण्डमा पुगेका छन् भने ५० हजारभन्दा बढी रोमानिया पुगेका छन्।

उनीहरूमध्ये झन्डै तीनलाखले रूसमा शरण लिएका बताइएको छ। एक महिनाअघि सङ्कट सुरु हुनुभन्दा अघि यूरोपेली संघको सदस्य रहेको पोल्याण्डमा करिब १५ लाख युक्रेनीहरू बसोबास गर्दै आएका तथ्याङ्कमा उल्लेख छ। फेब्रुअरी २४ मा आक्रमण हुनुभन्दा पहिले सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बस्दै आएका कूल १० लाखभन्दा बढी मानिसहरूले अहिले आफ्नो घर छोडेर भागेका बताइएको छ। यसमा आन्तरिक रूपमा विस्थापित भएकामध्ये झन्डै छ लाख ५० हजार मानिसहरू पनि समावेश छन्।

युक्रेनको शरणार्थी सङ्कट दोस्रो विश्वयुद्धपछि यूरोपको सबैभन्दा खराब सङ्कट हो। संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफले बिहीबार बताएअनुसार यूक्रेनमा रूसले आक्रमण सुरू गरेदेखि अहिलेसम्म अनुमानित ७५ लाख बाल जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् भण्डै ४३ लाख बालबालिकाहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। यसमध्ये झन्डै १५ लाख बालबालिकाहरू शरणार्थी बनेका छन् भने २५ लाख युद्धग्रस्त देशभित्र विस्थापित भएका बताइएको छ।

युद्धका कारण यूक्रेनको जीवनस्तर खस्कँदै गएपनि दिनहुँ विदेशिनेको सङ्ख्या पछिल्लो हप्तामा प्रतिदिन एक लाख भन्दा कम र हालैका दिनहरूमा ५० हजार भन्दा कम भएको छ। यस तथ्याङ्कमा युक्रेन छोडेर घर फर्कन गएका छिमेकी राज्यका नागरिकहरू समावेश गरिएका छैनन्। यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म युक्रेनी शरणार्थीमध्ये प्रत्येक दश जनामा छ व्यक्ति पोल्याण्ड पुगेका छन् अर्थात् पोल्याण्ड पुनेको सङ्ख्या २२ लाख ६७ हजार १०३ रहेको छ। यूक्रेनबाट तत्काल पश्चिमी छिमेकीहरूमा प्रवेश गर्ने धेरै मानिसहरू यूरोपको शेंजेन खुला सिमाना क्षेत्रका अन्य राज्यहरूमा जाने क्रम निरन्तर रहेको छ।

धेरै जना विपरीत दिशातर्फ पनि गइरहेका छन्। सीमा रक्षकहरूले युद्ध सुरु भएदेखि लगभग दुई लाख ७४ हजार मानिसहरू पोल्याण्ड छोडेर यूक्रेन गएका पनि बताइएको छ। विदेशिएका शरणार्थीमध्ये करिब छ लाख रोमानियामा प्रवेश गरेका छन् र यिमध्ये अधिकांशे रोमानिया र यूक्रेनको बीचमा रहेको मोल्डोभाबाट पार गरेका छन्। धेरै मानिसहरू रोमानिया हुँदै अन्य मुलुकतर्फ गएका पनि बताइएको छ। यूएनएचसीआरले तीन लाख ८१ हजारभन्दा बढी युक्रेनीहरू गरिब राष्ट्र माल्डोभातर्फ गएका बताइएको छ। त्यसैगरी करिब तीन लाख ५० हजार यूक्रेनीले हङ्गेरीमा शरण लिन पुगेका छन्।

यूएनएचसीआरको तथ्याङ्कअनुसार रूसमा लगभग २७ लाख ७१ हजारभन्दा शरणार्थीहरूले आश्रय लिएका छन्। यसबाहेक, फेब्रुअरी २१ देखि २३ को बीच पूर्वी यूक्रेनको डोनेट्स्क र लुगान्स्कका पृथकतावादी समर्थक क्षेत्रहरूबाट एक लाख १३ हजार मानिसहरू रूसमा प्रवेश गरेका थिए। यूक्रेनको सबैभन्दा छोटो सीमा पार गरेर करिब दुई लाख ७२ हजार मानिस स्लोभाकिया पुगेका छन् भने करिब छ हजार ५०० शरणार्थीहरू रूसको निकट सहयोगी बेलारूसको उत्तरी क्षेत्रमा पुगेका छन्। -एएफपी रासस

चर्चामा

सम्बन्धित समाचार