शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खाना
  • किन बढेको बढ्यै छ खाने तेलको भाउ?

किन बढेको बढ्यै छ खाने तेलको भाउ?

  • सोमवार, फाल्गुन १६, २०७८
किन बढेको बढ्यै छ खाने तेलको भाउ?

कोरोना सुरू भएदेखि नै दैनिक उपभोग्य सामानहरूको मूल्य आकासिएको छ। यसमध्ये उपभोक्तामाझ सबभन्दा बढी चर्चा खाने तेलको भाउको छ। पछिल्लो डेढ वर्षमा तेलको भाउ निरन्तर बढ्दै झन्डै दोब्बर भइसकेको छ।

२०७६ पुसदेखि तेलको मूल्य थोरैथोरै बढ्न थालेको हो। सुरूमा लिटरमा ५–१० रूपैयाँ बढ्दा उपभोक्ता र अनुगमन गर्ने निकाय दुवैले वास्ता गरेनन्। जब २०७७ भदौ–असोजसम्म असामान्य तरिकाले उकालो लाग्यो तब मात्र अनुगमन निकायको ध्यान गयो।

त्यो बेला दसैं–तिहार छेको परेकाले भाउ बढेको र विस्तारै कम हुने अनुमान सरकारले गर्‍यो। तर सरकारको अनुमान फेल हुँदै तेलको भाउ दोब्बर बढी भयो।

नेपाली बजारमा खाने तेल विशेषगरी तीन प्रकारका आउँछन्ः भटमास, सूर्यमुखी र तोरी। यी तीनै किसिमका तेलका भिन्नभिन्न ब्रान्ड छन्। ब्रान्डअनुसार फरक मूल्य छ। हामीले यहाँ प्याकेटमा पाइने सामान्य तेलको भाउलाई आधार मानेर चर्चा गरेका छौं।

खुद्रा व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सको आपूर्ति समितिका सदस्य चन्द्र थापाका अनुसार हाल बजारमा भुटेको तोरीको तेल प्रतिलिटर तीन सय ४० रूपैयाँ पर्छ। काँचो तोरीको तेल दुई सय ५०, भटमासको दुई सय ३० र सूर्यमुखी दुई सय ५० रूपैयाँ छ।

अत्यावश्यक दैनिक उपभोग्य सामग्री तेलमा उद्योगीले यसरी मूल्य बढाउन नहुने थापा बताउँछन्। तर जति महँगो भए पनि नभइ नहुने कुरा भएकाले बिक्रीमा कुनै प्रभाव परको छैन।

उनी भन्छन्, ‘तेल कति धेरै महँगो भएको भन्छन् ग्राहकले। तर के गर्नु नभइ नहुने कुरा हो। महँगै भए पनि लैजान बाध्य छन्।’

दुई वर्षअघिको कुरा गर्ने हो भने तेलको अहिलेको भन्दा झन्डै आधा थियो।

२०७६ असोज/कात्तिक, अर्थात् दसैंताकाको मूल्यबाट सुरू गरौं। खुद्रा व्यापार संघका अनुसार त्यो बेला भुटेको तोरी तेलको मूल्य प्रतिलिटर दुई सय ७० रूपैयाँ थियो। काँचोको एक सय ७५ थियो भने सूर्यमुखी एक सय ५० र भटमासको एक सय ४० थियो।

२०७६ चैतमा लकडाउनपछि तेलको मूल्य ह्वात्तै बढेको संघको तथ्यांकले देखाउँछ।

चैतमा भुटेको तोरी तेल प्रतिलिटर तीन सय पुग्यो। काँचो दुई सय, भटमास दुई सय २० र सूर्यमुखी दुई सय २५ रूपैयाँ भयो।

यस वर्ष असोज १ गतेसम्म आइपुग्दा भुटेको तोरी तेल मूल्य प्रतिलिटर तीन सय ६०, काँचो दुई सय ६०, भटमास दुई सय ४० र सूर्यमुखी दुई सय ५० रूपैयाँ प्रतिलिटर पुगेको थियो।

यही वर्ष मंसिर अन्तिम साता तोरीको तेलमा प्रतिलिटर १० रूपैयाँ बढेर तीन सय ७० पुग्यो। काँचो तोरीको तेल दुई सय ७० रूपैयाँ भयो। त्यस्तै, भटमासको तेल प्रतिलिटर दुई सय ३० र सूर्यमुखी तेल दुई सय ४० रूपैयाँ पुग्यो।

त्यसयता भने संघले मूल्यको तथ्यांक निकालेको छैन।

बजारमा तेलको मूल्य बढ्दै गएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ। विभागका प्रवक्ता हरि पंगेनी पुसमा तेलको मूल्य प्रतिलिटर २० देखि ३० रूपैयाँ घटेको बताउँछन्। तर माघमा फेरि प्रतिलिटर १० देखि २० रूपैयाँ बढेको छ।

त्यसैले खुद्रा व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सको आपूर्ति समितिको मंसिरको तथ्यांकभन्दा केही कममा व्यापारीले तेल बेचिरहेको पंगेनी बताउँछन्।

‘व्यापारी-उद्योगीले अझै पनि लिटरमा १५ देखि २५ रूपैयाँ घाटा भएको आधार पेस गरेका छन्,’ प्रवक्ता पंगेनीले भने, ‘उनीहरूले तेल ल्याउँदा तिरेको मूल्य समेत पठाएका छन्।’

यति चर्को मूल्यमा बेच्दा पनि किन घाटा भइरहेको बताइरहेका छन् त व्यापारीहरूले?

मूल्य बढाएपछि विभागले तेल उद्योगीहरूसँग मूल्य बढ्नुको कारण मागेको थियो। पंगेनीका अनुसार व्यापारीहरूले दिएको आधार हेर्दा सिपमेन्ट (पानीजहाज ढुवानी) शुल्क, पेट्रोलियम पदार्थ र कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण घाटा भइरहेको हो।

त्यस्तै नेपालमा वनस्पति तेल प्रशोधन तथा उत्पादन गर्नेहरूको संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ माग बढेकाले मूल्य बढेको जानकारी दिएको छ।

हामीकहाँ खपत हुने तेलको कच्चा पदार्थका रूपमा सूर्यमुखी र भटमास प्रशोधन नगरिएको तेल ल्याइन्छ। वनस्पति तेलको उत्पादन तथा प्रशोधन गर्ने उद्योगले तोरी भने दाना नै ल्याउँछन्। अन्तर्राष्ट्रिय बजारमै तेलको मुख्य स्रोत भटमास, सूर्यमुखी तथा तोरीको भाउ बढेको उद्योगी–व्यवसायीले स्पष्टीकरण दिएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुसन्धानमा पनि कच्चा पदार्थको मूल्य बढेको निष्कर्ष निकालेको थियो।

वनस्पति घ्यू–तेल उत्पादक संघका अनुसार पनि आयात लागत बढेकाले तेलको भाउ बढेको हो।

हामीकहाँ तेलका कन्टेनर हल्दिया बन्दरगाह, पश्चिम बंगालबाट आउँछ। भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालसम्म आइपुग्ने कार्गो लागत पनि बढेको संघको भनाइ छ।

संघका अनुसार प्याकेजिङ लगायत अन्य सहायक कच्चा पदार्थ सामग्रीको मूल्य वृद्धिले पनि तेलको भाउ बढाएको हो। कच्चा पदार्थको मूल्य उतैबाट बढेर आउँदा यहाँ आयात कर बापतको रकम बढ्छ। अप्रशोधित तेलमा दस प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ। प्रतिलिटर चालीस रूपैयाँ कर पर्छ। यसले खाने तेलको उपभोक्ता मूल्य झन् आकासिएको संघको भनाइ छ।

अहिले झन् युक्रेनमाथि रूसको आक्रमणले तेलको मूल्य अझै बढाउने देखिएको छ। नेपाली उद्योगीले तेल उत्पादनका लागि आवश्यक तोरी, भटमास र सूर्यमुखीको दाना थुप्रै देशबाट आयात गर्दै आएका छन्। त्यसमा युक्रेन र रसिया पनि पर्छन्।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मागसम्म युक्रेनबाट मात्र १० अर्ब ३४ करोड मूल्य बराबरको भटमास र सूर्यमुखीको कच्चा तेल तथा दाना आयात भएको छ।

त्यस्तै, रसियाबाट तीन अर्ब ३४ करोड मूल्य बराबरको तोरीको दाना र सूर्यमुखीको कच्चा तेल आयात भएको छ।साबार सेताेपाटी

चर्चामा

सम्बन्धित समाचार