बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • काजकस्तान अशान्त बन्दा तेलको भाउ बढ्यो

काजकस्तान अशान्त बन्दा तेलको भाउ बढ्यो

  • आइतवार, पुस २५, २०७८
काजकस्तान अशान्त बन्दा तेलको भाउ बढ्यो

काठमाडौं —  मध्य एसियाली मुलुक काजकस्तानमा उत्पन्न अशान्तिका कारण यो हप्ता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।

काजकस्तान पेट्रोलियम पदार्थ निर्यात गर्ने मध्य एसियाकै ठूलो मुलुक हो । २०२० मा त्यहाँ प्रतिदिन झण्डै १८ लाख ब्यारेल तेल उत्पन्न भएको थियो । त्यस्तै पेट्रोलियन निर्यात गर्ने मुलुकको संगठन ओपेक प्लसमा रहेका राष्ट्रमध्ये रुसपछि सबैभन्दा धेरै तेल उत्पादन काजकस्तानमै हुन्छ ।

तर काजकस्तानमा पछिल्लो समय उत्पन अशान्तिका कारण आपूर्ति अवरुद्ध हुन सक्ने त्रासबीच तेलको मूल्य बढेको एएफपीले जनाएको छ । ‘दंगाले उत्पादन र आपूर्ति रोक्न सक्छ’, स्विडिस बैंक एसईबीका विश्लेषक बेजार्नी शिल्ड्रोपले भने ।

शुक्रबार कच्चा तेलको मूल्य प्रति ब्यारेल ८३ अमेरिकी डलरभन्दा माथि पुगेको समाचारमा उल्लेख छ । तेलको मूल्य बढ्दा गत हप्ता समग्रमा अन्तर्राष्ट्रिय बजारमा तेलको मुनाफा ५ प्रतिशतले वृद्धि भएको छ ।

इन्धनको मूल्य एक्कासि वृद्धि भएको विरोधमा आइतबारदेखि भएको प्रदर्शनले उग्र रुप लिएपछि काजकस्तानको सबैभन्दा ठूलो शहर अलमाटी र माङगिस्टाउ प्रान्तमा संकटकाल घोषणा गरिएको छ । प्रदर्शनकारीले सरकारी भवनमाथि आक्रमण गर्न थालेपछि र प्रहरीसँगको झडपपछि मंगलबार काजकस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले संकटकाल घोषणा गरेका हुन् ।

बिहीबार काजकस्तानको सुरक्षा बलले शान्ति तथा सुव्यवस्था पुनर्बहालीका लागि गरेको कारबाहीमा दर्जनौं प्रदर्शनकारी मारिएका थिए भने कम्तिमा ८ जना सरकारी अधिकारीको ज्यान गएको थियो । लगत्तै राष्ट्रपति टोकायभले अवस्थालाई काबुबाहिर जान नदिन भन्दै रुसको नेतृत्वमा रहेको सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) लाई सहयोग गर्न अनुरोध गरेका थिए ।

राष्ट्रपति टोकायभको अनुरोधपछि रुसले काजकस्तानमा शान्ति एवं सुव्यवस्था पुनर्बहाली गर्न भन्दै फौज पठाइसकेको छ । तर अमेरिकाले काजकस्तानमा फौज पठाउने रुसी कदम गलत भएको बताएका छ । शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसलाई फौज पठाउनुको औचित्य पुष्टि गर्न भनेका थिए ।

यता रुसी विदेशमन्त्रालयले ब्लिङ्केनको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनले काजकस्तानमा देखिएको दु:खद घटनामाथि मजाक गरेको आरोप लगाएको छ । अमेरिकाले भियतनाम र इराक जस्ता मुलुकमा गरेको सैन्य हस्तक्षेपको इतिहासको विश्लेषण गर्नुपर्ने पनि रुसको भनाइ छ । स्राेत अनलाइन खबर ।

चर्चामा

सम्बन्धित समाचार