मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता “के गर्ने? निर्णय गर”

कविता “के गर्ने? निर्णय गर”

  • आइतवार, पुस २५, २०७८
कविता “के गर्ने? निर्णय गर”

गर्जियौ समय तिम्रै छ
थर्काउ अझै कति सक्छौ
मच्चाउ हंगामा
बिथोल शान्तिलाई
सुरु गर अर्को युद्ध
फस अझै भ्रष्टाचारको जालोमा
नाच विदेशीको इशारामा
निर्दोष जनतालाई
बजाउ ढोलक सम्झिएर
खोक्रो पार देशलाई
मोटाउ आफै जुका जस्तै।
यो देशमा
यो नेपालमा
स्याल पनि सिहं
कुकुर पनि सिहं
बाघ पनि सिहं
सिहं त सिहं नै भइहाल्यो
हुँदा हुँदा मुसो पनि
सिहं बन्ने दाउमा छ।
बस्,
सोझा साझा जनता
केवल मुकदर्शक मात्रै
पालो तिम्रै छ
देश चलाउने खेतालो तिम्रै छ
नातागोता कोचेकै छौ
छाक टार्न मानो दिएकै छौ
जुन मानाको कारण
मीठो हलुवा सम्झी
तिम्रा तलुवा चाट्नेहरूलाई
तिम्रो गुणगान गाउन मस्त पुगेकै छ
तिम्रा चम्चेहरूलाई।
स्थानीय सरकार
प्रदेश सरकार
र,
केन्द्रिय सरकारमा
आफ्ना आउसे बाउसे कोचेर
खुब सिहं बनेर गर्जेका छौ
सिनो खाएर डकार्नेहरू पनि
सिहँ हुँ भन्छन्
कठैबरा!
तिनका दु:खी आत्मा
कुनै दिन,
हामीले सिर ठाडो पारेर
आफ्नै पसिनाको
माना अघाउन्जेल खाएर
डकार्दै घरको डिलबाट
मूल बाटो हेर्ने दिन कसो नआउला
तिमी बूढो भएर
आफ्नै शरीर आफैलाई भारी हुँदा
तिखारीएका दाँत झरेर
गीजा मात्रै रहदाँ
आफ्नै सन्ताने लठ्ठीको साहारा बिना
कुप्रीएको मेरुदण्डसँगै
कहिल्यै नझुक्ने बडेमानको शिर
निहुराएर मेरै घरको मूलबाटो हिड्दा
तिम्रो अन्तरात्माले आफैलाई
श्राप्ला कि नश्राप्ला हँ?
त्यसैले,
हिजो के गर्यौ भुलिदेऊ
आज कमसेकम राम्रो कार्यको थालनी गर
भोलिको लागि आजै सोच
सक्छौ भलो गर
सहयोग गर
दान गर
शान्तिलाई स्वीकार गर
भाइचाराको इतिहास रच
देशको विकास गर्न तिर लाग
आफ्नो हैसियत र धरातल नविर्स
सदाको लागि सिहं बन्न सकिन्न भने
स्याल स्यालै सही
कुकुर कुकुरै सही
बाघ बाघै सही
मुसा मुसा नै सही
आफू जे भए पनि
आफ्नो क्षेत्रबाट सक्ने जति गरौं
जे गरौं भलाइको लागि गरौं
केही दिनको लागि
सिहं नै बन्न जरुरी छैन।
✍️सुरेन्द्र शाही “गुलाब कान्छो”,बाजुरा

चर्चामा

सम्बन्धित समाचार