• होमपेज
  • समाचार
  • काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

  • बुधबार, पुस १४, २०७८
काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

काठमाडौँ — काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताए ।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए । सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए ।

आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । फरारहरूको खोजी भइरहेको एसएसपी गिरीले बताए । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकी थिइन् । पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार