शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसका थप पाँच सहमहामन्त्रीका लागि केहीबेरमा मतगणना हुँदै

कांग्रेसका थप पाँच सहमहामन्त्रीका लागि केहीबेरमा मतगणना हुँदै

  • शुक्रबार, पुस २, २०७८
कांग्रेसका थप पाँच सहमहामन्त्रीका लागि केहीबेरमा मतगणना हुँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि शुक्रबार बिहाददेखि मतगणना हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार बिहान ९ बजेपछि मतगणनाको तयारी भइरहेको छ।

मतगणना गर्नुअघि निर्वाचन समितिको बैठक बस्छ।

क्लस्टरअनुसार फरक-फरक पाँच ठाउँमा मतगणना हुनेछ।

कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको छ। अबेर राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी/जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् भने उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन्।

अब खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुन लागेको हो।

खस आर्यको सहमहामन्त्रीमा देउवा प्यानलबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन्।

थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छ। उमाकान्त देउवा समूहका हुन् भने तेजुलाल कोइराला प्यानलका हुन्।

मुस्लिमतर्फ देउवा समूहबाट फर्मुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन्।

पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र चेतनाथ बराल उम्मेदवार छन्। शाही देउवा समूहका हुन् भने पाण्डेले कोइराला र बरालले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

मधेसीतर्फ देउवा समूहका महेन्द्र यादव, कोइराला समूहका रञ्जित कर्ण र निधि प्यानलबाट रामकृष्ण यादव उम्मेदवार छन्।

चर्चामा

सम्बन्धित समाचार