शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा छैन कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयोगशाला

सुदूरपश्चिममा छैन कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयोगशाला

  • बुधबार, मंसिर २२, २०७८
सुदूरपश्चिममा छैन कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयोगशाला

धनगढी — नेपालमा कोरोना भाइरसको पहिलो र दोस्रो भेरियन्ट पूर्ण रुपमा नियन्त्रण नभएको बेला तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। विगतको तुलनामा बढी कडा भनिएको ओमिक्रोन छिमेकी मुलुक भारतसँगै नेपालमा पुष्टि भइसकेको हो।

तर सुदूरपश्चिम भने ओमिक्रोन मात्र नभएर यसअघिका भेरियन्ट पनि पत्ता लगाउने प्रयोगशाला नभएको सेती प्रादेशिक अस्पतालको प्रयोशालाका इन्चार्ज रमेश शाहीले बताए।

‘नेपालमा भेरियन्ट छुट्याउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्ने गरेको छ,’ उनले भने, ‘त्यो पनि विश्व स्वास्थ्य संगठनको सहयोगमा हुने गरेको छ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाका अनुसार मंगलबार मात्रै सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाइएको छ।

कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो।

संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको उनले जानकारी दिए। उनका अनुसार सबैभन्दा पहिले कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमुना सङ्कलन गरिन्छ।

‘सङ्कलित नमुनाको प्रयोगशालामा परीक्षण गरेर भाइरसको सङ्क्रमण छ कि छैन भन्ने पत्ता लगाइन्छ,’ ओझाले भने, ‘भाइरस पत्ता लगाउने सुदूरपश्चिमका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन सक्दैनन्। त्यसका लागि काठमाडौंको भर पर्नुपर्ने अवस्था छ।’ कुन भेरियन्ट हो ? भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्वहरूको क्रम अर्थात सीक्वन्स हेर्नुपर्ने हुन्छ।

त्यस्तो जाँच गर्ने विधिलाई नै जीन सीक्वन्सिङ भनिन्छ। त्यो विधि निकै खर्चिलो हुने गरेको छ। सुदूरपश्चिममा कोरोना भाइरसको पहिलो लहर देखिएको समयमा पनि परीक्षण गर्नका लागि समस्या भएको थियो। प्रदेशमा पीसीआर मेसिन नहुँदा स्वाब काठमाडौं पठाउनु पर्ने बाध्यता थियो। अहिले भने पीसीआर मेसिन सञ्चालनमा भए पनि भेरियन्ट पत्ता लगाउने प्रविधिको अभाव खट्किएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले भने पीसीआर मेसिनबाटै ओमिक्रोन पत्ता लगाउनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ। प्राविधिकसहिको टोलीबाट गरिने अध्ययनपछि ओमिक्रोनको विषयमा थप तयारी गर्ने दाबी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीको छ। ‘यताको मेसिनबाट परीक्षण हुन्छ की भनेर अध्ययन गछौं,’ उनले भने, ‘त्यसपछि मात्रै थप तयारी हुन्छ।’दिनेशखबरमा छ अाजकाे समाचार ।

चर्चामा

सम्बन्धित समाचार