आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • रोकिन सक्छ भटमास, सूर्यमुखी र पाम तेलको निर्यात

रोकिन सक्छ भटमास, सूर्यमुखी र पाम तेलको निर्यात

  • बुधबार, मंसिर १५, २०७८
रोकिन सक्छ भटमास, सूर्यमुखी र पाम तेलको निर्यात

काठमाडौं — भारत सरकारले भन्सार महसुल घटाएपछि घट्ने आकलन गरिएको भटमास, सूर्यमुखी र पाम तेलको निर्यात कात्तिक महिनामा पनि वृद्धि देखिएको छ । साउनदेखि कात्तिक मशान्तसम्म ४७ अर्ब ४६ करोड रुपैयाँको भटमास, सूर्यमुखी र पाम तेल भारत निर्यात भएकामा कात्तिकमा मात्र १० अर्ब ९ करोड ८३ लाखको निर्यात भएको छ ।

गत असोज २५ गते भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले भटमास, सूर्यमुखी र पाम तेल आयातमा भारतीय व्यवसायीलाई लगाएको प्रतिबन्ध फुकवा गर्नुका साथै त्यसमा लाग्ने भन्सार महसुल पनि घटाएको थियो । पहिले प्रति मेट्रिक टन ४९.५ प्रतिशत तोकिएको भन्सार महसुल भारतले ४१.२५ प्रतिशतमा झारेको थियो ।

भारत सरकारले कर घटाएपछि भारतीय व्यवसायी आफ‌ैंले वनस्पति तेल आयात गर्दा सस्तो पर्ने भन्दै नेपाली व्यवसायीले नेपालबाट हुने निर्यात घट्ने चिन्ता व्यक्त गरेका थिए । तर भारतले कर घटाएको एक महिनाको अवधिमा भटमास, सूर्यमुखी र पाम आयल तीनै प्रकारका वस्तुको निर्यातमा वृद्धि देखिएको भन्सार विभागको तथ्यांक छ ।

साउनदेखि कात्तिकसम्म नेपालबाट २६ अर्ब ४० करोड ११ लाख एक हजार रुपैयाँ बराबरको ११ करोड ७१ लाख ८३ हजार ७५७ किलो भटमासको तेल भारत निर्यात भएको छ ।

त्यस्तै यही अवधिमा २ अर्ब ३ करोड ७९ लाख ४३ हजार बराबरको एक करोड २ लाख ७६ हजार २७२ लिटर सूर्यमुखी तेल निर्यात भएको छ । साउनदेखि कात्तिकसम्म १९ अर्ब २ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ९ करोड ८० लाख ८६ हजार १४८ लिटर पाम आयल निर्यात भएको छ ।

असर देखिँदैछ : व्यवसायी

नेपाल वनस्पति घ्यू तेल संघका अनुसार नेपालबाट निर्यात हुने वनस्पति तेलमा भारतीय नीतिको असर अब देखिन शुरु हुनेछ । पुराना सम्झौताका कारण एक महिनासम्म तेल निर्यात वृद्धिदर कायमै रहेको संघका अध्यक्ष सन्दीप अग्रवालले बताए ।

‘भारतीय व्यापारीसँग भएको व्यापार सम्झौताअनुसार नेपाली व्यापारीहरुले तेल बिक्री गरिरहेका छन् त्यो नसकिँदासम्म निर्यात उस्तै रहन्छ’ अध्यक्ष अग्रवालले भने ।

भारतले कर घटाएका कारण कात्तिक महिनामा स्थिर नै रहेको व्यापार मंसिरदेखि गिरावट आउन सक्ने उनको भनाइ छ । गत आर्थिक वर्षमा भटमास, सूर्यमुखी र ताम आयल गरी नेपालबाट ५५ अर्ब ९५ करोड रुपैयाँको तेल भारत निर्यात भएको थियो ।

नेपालमा किन असर पर्छ ?

स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न भारतले बाह्य मुलुकबाट हुने वनस्पति तेलको आयातमा केही वर्ष देखि ४९.५ प्रतिशत भन्सार महसुल लगाएको थियो । यस्तै पाम तेलको आयात पनि भारतले निषेध गरेको थियो ।

बाह्य मुलुकबाट हुने आयात रोके पनि दक्षिण एशियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) सम्झौता अनुसार नेपाल, बंगलादेशलगायत सार्क सदस्य राष्ट्रबाट भने पाम तेल भारत निर्यात गर्न पाइन्छ ।

साफ्टा सम्झौता अनुसार सन् २००६ देखि सार्क सदस्य राष्ट्रबीच एकले अर्कोमा वस्तु निर्यात गर्दा कम्तीमा ५ प्रतिशत कर छुट पाउँछन् । नेपालले साफ्टा सम्झौताको सो सुविधा उपयोग गर्दै नेपालबाट भारततर्फ हुने सूर्यमुखी, भटमास र पाम तेलको निर्यात गर्दै आएको थियो । यी तीनै वस्तु निर्यात गर्न पुग्ने गरी नेपालमा उत्पादन हुँदैन ।

नेपाली व्यवसायीले भारततर्फ निर्यात गर्नकै लागि तेस्रो मुलुकबाट भटमास, सूर्यमुखी र पाम आयल आयात गर्ने र फेरि भारत पठाउने गरेका छन् । वनस्पति तेलको यही कारोबारका लागि नेपालका उद्योगमा करिब २ खर्ब लगानीका २९ अर्ब लगानी रहेको उद्योगीहरुको भनाइ छ ।

क्यानडा, युक्रेन, ब्राजिल, अर्जेन्टिना, मलेसियालगायतका देशबाट सोझै खरिद गर्दा महंगो पर्ने भएकाले भारतले ती देशका उत्पादन नेपालको बाटो भएर किन्ने गरेको थियो । तर यी वस्तुको मूल्य बढेपछि गत असोज २५ मा भारतले आफूले बढाएको कर घटाउनुका साथै आयातमा लगाएको बन्देज पनि हटाएको थियो ।

भारतको नयाँ नियमपछि साफ्टा सुविधा लिएर नेपालबाट भारत निकासी गर्दा र भारतीय व्यवसायीले आफ्नो देशमा सोझै आयात गर्दाको मूल्य बराबर पर्नेछ ।

भारतको सामुन्द्री बन्दरगाह नजिक भटमास, सूर्यमुखी र पाम आयल प्रशोधन गर्ने ठूलो क्षमताका उद्योग धेरै रहेको र भारतमा भन्सार शुल्क घटेपछि नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने नेपाली व्यवसायीको चिन्ता छ ।

नेपाली व्यवसायीले पाम, भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ निर्यात गर्ने प्रयोजनका लागि आयात गर्दा एक रुपैयाँ पनि शुल्क तिर्नु पर्दैन । व्यवसायीले प्रतिमेट्रिक टन पाम तेल ३७ हजार ५ सय, भटमास ४८ हजार र सूर्यमुखी तेल १३ हजार ४ सय रुपैयाँ धरौटी राखेपछि आयात गर्न पाउँछन् र ती वस्तु भारत निर्यात गरेपछि धरौटी फिर्ता पाउँछन् ।अनलाइन खबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार