शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • क्रिकेट
  • न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन

न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन

  • सोमवार, कार्तिक २९, २०७८
न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन

अस्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। आइतबार दुबईमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्वकपको नयाँ विजेता बनेको हो। अस्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकप जितेको हो। यसअघि अस्ट्रेलियाले सन् २०१० को फाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदा च्याम्पियन हुने अवसर गुमाएको थियो।

अस्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि भने पाँच पटक जितेको छ।

यता न्युजिल्यान्ड टी-२० विश्वकपको पहिलो पटक फाइनलमा पुगेको हो। न्युजिल्यान्ड उपाधि जितेर इतिहास बनाउन भने असफल भयो। न्युजिल्यान्ड सन् २०१९ को एकदिवसीय विश्वकपको पनि फाइनलमा पुगेको थियो। त्यतिबेला न्युजिल्यान्डलाई इंग्ल्यान्डले हराएको थियो।

आइतबार दुबईमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले २ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गर्‍यो।

अस्ट्रेलियाको जितमा मिचेल मार्सले अर्धशतक प्रहार गरे। उनले नटआउट ७७ रन जोड्ने क्रममा ५० बल खेलेर ६ चौका र ४ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेलले नटआउट २८ रन जोडे। म्याक्सवेलले १८ बलमा ४ चौका र १ छक्का हिर्काए।ओपनर डेभिड वार्नरले पनि अर्धशतक प्रहार गरे। उनले ५३ रनको योगदान दिए। वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का हिर्काए। कप्तान आरोन फिन्च भने ५ रनमै आउट भएका थिए।

बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्डले २ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४ विकेटको क्षतिमा १७२ रन जोड्यो।

न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रनको योगदान दिए। उनले ४८ बलमा १० चौका र ३ छक्का हिर्काएका थिए।

ओपनरद्वय मार्टिन गुपटिल २८ रन र ड्यारल मिचेल ११ रनमा आउट भएका थिए। ग्लेन फिलिप्सले १८ रन बनाउँदा जेम्स निशमले नटआउट १३ रन बनाए।

बलिङमा अस्ट्रेलियाका जोश हजलउडले ३ विकेट लिए। उनले ४ ओभरमा १६ रन खर्चिए।

चर्चामा

सम्बन्धित समाचार