बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • गिद्धले भालेबिनै चल्ला कोरलेपछि वैज्ञानिक चकित

गिद्धले भालेबिनै चल्ला कोरलेपछि वैज्ञानिक चकित

  • सोमवार, कार्तिक १५, २०७८
गिद्धले भालेबिनै चल्ला कोरलेपछि वैज्ञानिक चकित

अमेरिकाका वन्यजन्तुसम्बन्धी अनुसन्धानकर्ताले लोप हुने जोखिममा रहेका दुई वटा पोथी गिद्धले भालेबिनै चल्ला कोरलेको पत्ता लगाएका छन् ।

वन्यजन्तु अनुसन्धानकर्ताले ‘क्यालिफोर्निया कन्डोर’ नामक लोप हुने जोखिममा रहेको गिद्धको प्रजातिका दुई पोथीले भाले नलगाइकनै चल्ला कोरलेको पत्ता लगाएका हुन् । ती गिद्धले कोरलेका चल्लामा भालेको डीएनए नरहेको बीबीसीले जनाएको छ ।

यसै हप्ता अमेरिकाको एक जर्नलमा प्रकाशित अध्ययनअनुसार अनुसन्धानकर्ताले जेनेटिक परीक्षणपछि २००१ र २००९ मा जन्मिएका दुई भाले गिद्धको डीएनए जन्माउने पोथीसँग मात्रै मिलेको पाएका थिए ।

जेनेटिक स्क्रिनिङका क्रममा ४६८ वटा भालेको डीएनए परीक्षण गरिएको थियो । भालेको उपस्थिति भएको अवस्थामा चराको कुनै पनि प्रजातिले ‘भर्जिन बर्थ’ गरेको यो पहिलो र बिरलै हुने घटना हो ।

यौन सम्पर्कबिनै हुने प्रजनन् अर्थात् ‘भर्जिन बर्थ’मार्फत् गिद्धले चल्ला कोरलेको घटनाबाट वैज्ञानिकहरू चकित परेका छन् । यसअघि अन्य प्रजातिका चरा, छेपारो, सर्प, शार्कलगायतले यौन सम्पर्कबिनै सन्तान जन्माएका घटना फेला परेका थिए ।

वैज्ञिनिक भाषामा ‘पार्थेनोजेनेसिस’ पनि भनिने मैथुनबिनाको प्रजनन बिरलै हुने गर्छ । पोथीको कुनै कोषले शुक्रकीट जस्तो व्यवहार देखाउँदै डिम्बसँग मिल्न जाँदा यस खाले प्रजनन् हुन्छ । प्राय: भालेको संख्या कम वा नभएको अवस्थामा ‘भर्जिन बर्थ’का घटना हुने गर्छन् ।

‘यो साँच्चैको अनौठो कुरा हो’, अध्ययनको सहलेखन गरेका ओलिभर राइडरले भने, ‘हामीले पार्थेनोजेनेसिसका लागि प्रमाण खोजेका थिएनौं, एक्कासी यो कुरा फेला पार्‍यौं । वंश प्रमाणितका लागि भएको नियमित जेनेटिक अध्ययनपछि हामीले यसलाई पुष्टि गरेका हौं ।’

तर दु:खको कुरा- भाले नलागिकनै जन्मेका दुबै गिद्ध हाल मरिसकेका छन् । एउटा जन्मेको २ वर्ष र अर्को ७ वर्षपछि मरेको थियो । ती दुबै गिद्धलाई जन्माउने पोथीले त्यसअघि परम्परागत रुपमै चल्ला कोरलेका थिए ।

लोप हुने जोखिममा रहेको क्यालिफोर्निया कन्डोर नामक गिद्धको संख्या दक्षिणी-पूर्वी अमेरिका र मेक्सिकोमा गरी झण्डै ५ सय रहेको समाचारमा उल्लेख छ । ८० को दशकमा केही दर्जन रहेका उक्त प्रजातिको गिद्धको संख्या हालै संरक्षण अभियानका कारण बढ्न थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार