सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को उत्तरपुस्तिका जाँचमा भएको अनियमितता ढाकछोपको प्रयास

कक्षा १२ को उत्तरपुस्तिका जाँचमा भएको अनियमितता ढाकछोपको प्रयास

  • आइतवार, कार्तिक १४, २०७८
कक्षा १२ को उत्तरपुस्तिका जाँचमा  भएको अनियमितता ढाकछोपको प्रयास

यसअघि दुईपटक अनियमितता गरेको पुष्टिसहित कारबाहीको सिफारिस भएका राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका निमित्त प्रमुख डम्बर बतासलाई जोगाउने बोर्डका पदाधिकारीमाथि नै शंका

असोज दोस्रो साता सम्पन्न कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गर्नेलाई जोगाउन खोजिएको छ । राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख डम्बर बतासको नेतृत्वमा कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको खुलेको थियो । सो घटनालाई अझै गुपचुप राखिएको छ । उत्तरपुस्तिका परीक्षण गर्दा विराटनगरका ठूला निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई बढी नम्बर दिएको पाइएको थियो ।

खुल्लमखुला उत्तरपुस्तिका जाँचमा अनियमितता भएको घटना बाहिरिँदा पनि अझैसम्म राष्ट्रिय परीक्षा बोर्डले छानबिन समिति बनाउन कुनै चासो दिएको छैन । बरु बोर्डले उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका निमित्त निर्देशक बतासलाई दसैलगत्तै काठमाडौंमा हाजिर गर्न बोलाएर उतै काजसरुवा गरेको छ । दसैँपछि कार्यालय प्रमुखविहीन बन्न पुगेको विराटनगरस्थित परीक्षा बोर्ड कार्यालयमा आइतबार जीवन गड्तौलालाई पत्र पठाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रदेश १ का सामुदायिक विद्यालयका प्र्राध्यापकहरूले छानबिन समिति बनाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले प्रदेश १ मा भएको उत्तरपुस्तिका परीक्षणमा अनियमितताबारे छानबिन गर्न प्रक्रिया अघि बढाएको बताए । ‘प्रक्रिया अगाडि बढिसकेको छ, त्यसैका लागि निमित्त निर्देशक डम्बर बतासलाई काठमाडौं हाजिर गराएर जीवन गडतौलाजीलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हौँ,’ उनले भने ।

दोषीलाई कारबाही नभए संघर्ष थाल्ने सामुदायिक विद्यालयहरूको चेतावनी
ठूला निजी विद्यालयहरूको मिलेमतोमा उत्तरपुस्तिका परीक्षण गराउने गरेको खुलेपछि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आन्दोलित बनेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही नभए संघर्ष थाल्ने चेतावनी दिएका छन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको टोली गत शुक्रबार विराटनगरस्थित कार्यालयमा डेलिगेसन गएको थियो ।

‘खुल्लमखुला अनियमितता भएको घटना ढाकछोप गर्न खोजे पनि अपराध मर्दैन, यसैले तुरुन्त छानबिन समिति बनाएर दोषीलाई कारबाही गराउनुपर्छ, नत्र हामी चुप लागेर बस्दैनौँ,’ विराटनगरस्थित सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले भने । मोरङ उर्लाबारीस्थित राधिका माविका प्रधानाध्यापक कुमार पोखरेलले पनि दोषीलाई कारबाही नभए प्रदेशका सामुदायिक विद्यालयहरू संघर्ष थाल्न बाध्य हुने बताए । ‘मिलेमतोमा ठूला निजी विद्यालयको उत्तरपुस्तिका जाँच गराएर हामीलाई ‘डोमिनेट’ गर्ने काम हुँदै आएको रहेछ । यो सामुदायिक विद्यालय र पढ्ने विद्यार्थीको आत्मसम्मानमाथिको चोट पनि हो । यसैले दोषीलाई कारबाही हुनैपर्छ । अपराध ढाकछोप गर्नुहुँदैन,’ उनले भने ।

यस्तो छ घटनाको विवरण
विराटनगरको बरगाछीस्थित गोग्राह उच्च माविमा प्रदेश १ को उत्तरपुस्तिका जाँच परीक्षण केन्द्र तोकिएको थियो । १६ असोजदेखि सुरु भएको परीक्षण केन्द्रमा एउटै शिक्षकले अलग–अलग विद्यालयको उत्तरपुस्तिका सुटुक्क पोका खोल्न लगाएर जाँच गरेको परीक्षण अधिकृत सीमा राईले पत्तो पाएपछि शिक्षकहरूसँग विवाद सुरु भएको थियो । २१ असोजमा विराटनगरस्थित मेरिल्यान्ड माविका शिक्षक गणेश दहालले परीक्षण अधिकृतको स्वीकृतिबेगरै धमाधम अंग्रेजी विषयको उत्तरपुस्तिका जाँच गरेका थिए । उनले जाँच गरेको करिब एक सय उत्तरपुस्तिका सबैमा ९० देखि ७५ सम्म अंक दिएका थिए ।

स्वीकृतिविनै उत्तरपुस्तिकाको पोका खोलेर जाँच गरेको पाइएपछि परीक्षण अधिकृत समिता राईले शिक्षक दहाललाई सबै कापी फिर्ता गर्न निर्देशन दिइन् । शिक्षक दहालले माफी माग्दै आफूलाई बोर्डका कर्मचारीले नै उत्तरपुस्तिकाको पोको खोलेर पुस्तिका जाँच गर्न दिएको बताएका थिए ।नयाँ पत्रिकाबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार