बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड

तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड

  • बुधबार, अशोज २०, २०७८
तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड

काठमाडौं — माइक्रोसफ्ट कम्पनीको बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम अन्ततः आम प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । विन्डोज ११ सपोर्ट गर्ने कम्प्युटरहरुमा अब यसलाई निःशुल्क रुपमा डाउनलोड गरी अपग्रेड गर्न सकिनेछ ।

विश्वका दोश्रो मूल्यवान कम्पनीको रुपमा रहेको माइक्रोसफ्टका लागि विन्डोज ११ को सार्वजनिकीकरण कोशेढुंगाको रुपमा रहेको छ किनकी कम्पनीको कूल आम्दानीको १४ प्रतिशत विन्डोज सफ्टवेयरबाटै हुने गरेको छ ।

दशकौंदेखि पर्सनल कम्प्युटरको अपरेटिंग सिस्टमको क्षेत्रमा आधिपत्य जमाउँदै आएको माइक्रोसफ्टले सन् २०१५ को विन्डोज १० यता नयाँ संस्करण ल्याएको थिएन ।

विन्डोज ११ ले माइक्रोसफ्टलाई डेल, एचपी, लेनोभो जस्ता आफ्नो सफ्टवेयरको लाइसेन्स लिने कम्प्युटर निर्माता कम्पनीहरुमार्फत् आम्दानीको वृद्धिदर कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

विन्डोज ११ मा माइक्रोसफ्टले विभिन्न नयाँ फिचरहरु समेत थप गरी समृद्ध बनाएको छ । Start Menu को डिजाइनमा परिवर्तन गरेर Start बटनलाई स्क्रिनको बीच भागमा ल्याइएको छ । त्यस्तै अमेजनको एप स्टोरमार्फत् विन्डोजमै एन्ड्रोइड एप उपलब्ध हुनेछन् । त्यस्तै आगामी वर्षदेखि माइक्रोसफ्टले हरेक वर्ष विन्डोजमा अपडेट गर्ने जनाएको छ ।

कसरी प्राप्त गर्ने विन्डोज ११ ?

पहिलो कुरा तपाईंको कम्प्युटरमा विन्डोज ११ अहिले नै उपलब्ध नहुन पनि सक्दछ । हाललाई माइक्रोसफ्टले विन्डोज १० इन्स्टल भएका नयाँ भर्सनका कम्प्युटरहरुमा विन्डोज ११ उपलब्ध गराउँदैछ । अन्य कम्प्युटरहरुले कहिले विन्डोज अपडेट पाउनेछन् भन्ने कुराको निर्धारण गर्न यसले डाटाको विश्लेषण गर्नेछ । सन् २०२२ को मध्य सम्ममा सबै विन्डोज १० भएका योग्य डिभाइसमा विन्डोज ११ को अपडेट प्राप्त हुने बताएको छ ।

त्यसैले सबैभन्दा पहिले PC Health Check app को प्रयोग गरी आफ्नो कम्प्युटरले विन्डोज ११ को अपग्रेड प्राप्त गर्न योग्य छ कि छैन भन्ने थाहा पाउनुहोस् ।

अपग्रेडका लागि सम्भव भएतापनि तपाईंको कम्प्युटरले विन्डोज ११ सपोर्ट नगर्ने भएमा यसले तपाईंलाई विन्डोज ११ इन्स्टल गर्न सुझाव दिएको हुँदैन ।

तर यदि तपाईंले PC Health Check app बाट आफ्नो कम्प्युटर विन्डोज ११ अपग्रेड गर्नका लागि योग्य भएको पाउनुभयो भने निम्न चरण पूरा गर्नुहोस्ः

  • माइक्रोसफ्ट विन्डोज ११ वेबसाइटमा जानुहोस्
  • Download Now मा क्लिक गरी Windows 11 Installation Assistant प्राप्त गर्नुहोस्
  • डाउनलोड भएको फाइल खोल्नुहोस्
  • लाइसेन्स एग्रिमेन्ट शर्तहरुको खण्डमा Accept and install मा क्लिक गर्नुहोस्
  • अब तपाईंको कम्प्युटरमा फाइल डाउनलोड हुन सुरु हुन्छ
  • विन्डोज ११ इन्स्टलेसन एसिस्टेन्ट टुलले कम्प्युटरमा विन्डोज ११ इन्स्टल गरिदिन्छ र यसका लागि एक घण्टा वा सो भन्दा लामो समय लाग्न सक्दछ । कम्प्युटर तथा इन्टरनेट कनेक्सन कति फास्ट छ भन्ने कुरामा विन्डोज ११ इन्स्टल हुन लाग्ने समय भर पर्दछ ।

तपाईंले पृष्ठभूमिमा विन्डोज ११ इन्स्टल भैरहँदा आफ्नो कम्प्युटरमा काम गरिरहन पनि सक्नुहुन्छ । पूर्ण इन्स्टल भएको ३० मिनेटपछि कम्प्युटर रिस्टार्ट हुन्छ ।

जब यो पूरा हुन्छ तब विन्डोज ११ होमस्क्रिन तपाईंको कम्प्युटरमा देखिनेछ ।

विन्डोज ११ मन नपरेमा के गर्ने ?

तपाईंलाई कम्प्युटरमा इन्स्टल गरिसकेको विन्डोज ११ मन परेन र विन्डोज १० नै प्रयोग गर्ने इच्छा लाग्यो भने पनि पुनः पछाडि फर्किन सक्नुहुन्छ ।
तर यसका लागि विन्डोज ११ इन्स्टल गरेको १० दिनभित्रैमा तपाईंले विन्डोज १० मा फर्किनु पर्नेहुन्छ । यसका लागि :

  • Setting मा मा क्लिक गरेर खोल्नुहोस्
  • System मा क्लिक गर्नुहोस्
  • Recovery मा क्लिक गर्नुहोस् र Go back मा क्लिक गर्नुहोस्

वास्तवमा १ अर्ब ३० करोड प्रयोगकर्ता रहेको विन्डोज १० विश्वको सबैभन्दा लोकप्रिय कम्प्युटर अपरेटिंग सिस्टम हो । त्यसैले माइक्रोसफ्टले यसका प्रयोगकर्तालाई जबरजस्ती विन्डोज ११ मा लैजान चाहेको छैन । त्यसैले तपाईं यदि विन्डोज १० बाट खुसी हुनुहुन्छ भने अझै केही वर्ष निर्धक्क यही चलाउन सक्नुहुन्छ । माइक्रोसफ्टले सन् २०२५ बाट मात्रै विन्डोज १० बन्द गर्नेछ । यो वर्षको अन्त्यतिर विन्डोज १० को फिचर अपडेट गर्ने माइक्रोसफ्टको योजना छ । –एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार