बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बझाङ : खडक बहादुर बोहरा र रमेश भण्डारी सभापति बिच प्रतिस्पर्धा हुने

नेपाली काँग्रेस बझाङ : खडक बहादुर बोहरा र रमेश भण्डारी सभापति बिच प्रतिस्पर्धा हुने

  • आइतवार, अशोज १७, २०७८
नेपाली काँग्रेस बझाङ : खडक बहादुर बोहरा र रमेश भण्डारी सभापति बिच प्रतिस्पर्धा हुने

अर्थ जङ्ग शाही/ बझाङ — नेपाली कांग्रेस बझाङको अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । शनिबार साँझसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएसँगै जिल्ला सभापति निर्वाचनबाटै चुनिने भएको हो । अधिवेशनमा सभापतिका आकांक्षीहरू बढेपछि सहमति गर्ने प्रयास असफल भएकाे  नेपाली काग्रेसले जनाएकाे छ । दुई दिनसम्म छलफल गरेपनि निष्कर्ष निस्कन नसकेपछि निर्वाचनमा जानु परेको प्रदेश ख का क्षेत्रीय सभापति धनबहादुर खड्काले बताए ।

जिल्ला सभापतिका लागि रमेश भण्डारी र खडक बोहराले उम्मेदवारी दिएका छन् । तर यी दुईलाई जिल्लाका प्रभावशाली नेताहरूले अघि सारेका हुन् । बझाङका कांग्रेस नेता तथा पूर्व युवा तथा खेलकुद राज्यमन्त्री नरेशबहादुर सिंह, पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंह तीनै जना देउवा निकट हुन् । यी तीन जना दुई समूहमा बाँडिदा सभापतिका लागि सहमति हुन नसकेको हो ।

सभापतिमा आफू निकट मान्छे ल्याउने जोडबलका कारण सो क्षेत्रमा निर्वाचनबाटै नेतृत्व चयन हुने भएको हो ।नरेशबहादुर र पृथ्वीबहादुर सिंहले संयुक्तरुपमा आफू निकट रमेश भण्डारीलाई सभापतिमा उम्मेदवार बनाएका छन् । दुई नेता आफूखुशी अघि बढेपछि अर्जुनजंगबहादुर सिंहले खडक बोहरालाई सभापतिमा उम्मेदवारका रुपमा अघि सारेका हुन् । अर्जुनजंगलाई पौडेल पक्षका नेताहरू सत्यराज भण्डारी र पूर्व संविधानसभा सदस्य चन्द्रा जोशीको साथ छ ।

बझाङमा पौडेल पक्ष कमजोर भएकाले अर्जुनजंगलाई उनीहरूले समर्थन गरेका हुन् । आफू कमजोर भएपछि पौडेल पक्षका नेताले महाधिवेशन प्रतिनिधि र जिल्लाका केही मुख्य पदका लागि सहमति गरेर खडक बोहरालाई सहयोग गर्ने प्रतिवद्धता जनाएको कांग्रेस निकट स्रोतले जनाएको छ ।

नरेशबहादुर सिंह र पृथ्वीबहादुर सिंह पार्टी आरजु देउवाका विश्वास पात्र हुन् भने अर्जुनजंगबहादुर सिंह भने स्वयं प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र हुन् ।

देउवा समूहकै दुई जना सभापतिका उम्मेदवार भएपछि बझाङ कांग्रेसमा नेतृत्व चयन रोमाञ्चक भएको छ । आइतबार हुने मतदानका लागि शीर्ष नेता उम्मेदवारहरू प्रचारप्रसारमा जुटिसकेका छन् । नेतृत्व चयनका लागि पौडेल पक्षका मतदाता निर्णायक भएकाले आफूलाई सहयोग गर्न दुवै पक्षका नेताहरुले भेटघाटलाई कार्यक्रम तिव्रता दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार