बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लुले त्रास बढाएको छ: प्रा.डा. प्रताप नारायण

कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लुले त्रास बढाएको छ: प्रा.डा. प्रताप नारायण

  • शुक्रबार, भदौ २५, २०७८
कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लुले त्रास बढाएको छ: प्रा.डा. प्रताप नारायण

सरकारी तथ्यांक अनुसार अहिले कोरोना महामारी मत्थर हुँदै गएको छ । तर कोरोनाको लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्याले धेरैलाई सताउन थालेको छ । रुघा, खोकी, ज्वरो, शरीरको दुखाइ जस्ता लक्षण देखिएका छन् । जबकि, स्वास्थ्य परीक्षणको क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिँदैन । यो के कारणले भइरहेको छ ? यही विषयमा प्रा.डा. प्रताप नारायण प्रसादसँग कुराकानी गरेको छ ।

अहिले धेरैलाई रुघा खोकीसँगै ज्वरोको समस्या देखिएको छ । तर, परीक्षण गर्दा उनीहरुमा कोरोना देखिँदैन । यो के भएको हुन सक्छ ?

खोकी, रुघा र ज्वरोको समस्या मौसम परिवर्तनको समयमा कोरोनापछि होइन पहिले पनि भइरहने समस्या हो । भलै अहिले कोरोना महामारीका कारण धेरैमा भाइरल ज्वरो पनि कोरोना हो कि ? भन्ने भय बढेको हुन सक्छ । तर आफैँमा यो पहिलेदेखि नै भोगिँदै आएको स्वास्थ्य समस्या हो । यो मौसम परिवर्तनको समयमा धेरैजसो दोहोरिरहने समस्या हो ।

कोरोना र सिजनल फ्लु पत्ता लगाउने कसरी ?

कोरोना र सिजनल फ्लु क्लिनिकल्ली परीक्षण गरिरहनेहरुले सहजै पनि चिन्न सक्छन् । यसको लागि ज्वरोको प्रकृति र खोकीको अवस्था हेरेर थाहा पाउन सकिन्छ । जस्तो ज्वरो एक्कासी बढेर गएको छ भने त्यस्तो अवस्थामा हामी यो सिजनल फ्लु हो भनेर चिन्न सकिन्छ । किनकि कोरोनामा यसरी एकै दिनमा एक्कासी १०३ डिग्रीसम्म ज्वरो आउने हुँदैन । त्यस्तै, खोकीको आधारमा भन्दा बिहान बढी खोकी लाग्ने र अरु समयमा सामान्यतया खोकी लाग्ने गरेको छ भने यो पनि सिजनल फ्लुका कारणले निम्तिने समस्या हो भन्ने बुझ्दा हुन्छ । कोरोना भएका मान्छेलाई जुनसुकै समयमा पनि समान किसिमको खोकी लाग्ने गर्छ ।

अर्काे लक्षण भनेको नाकबाट पानी बगिरहेको छ कि छैन भन्ने हो । जस्तो नाकबाट धेरै पानी बगेको छ भने त्यो सिजनल फ्लु हो भन्ने बुझ्दा हुन्छ । नाकसँगै आँखाबाट पनि धेरै आँसु बग्ने गर्छ । यी लक्षणको आधारमा कोरोना हो कि साधारण खालको रुघाखोकी के हो ? पत्ता लगाउन सकिन्छ ।

केही दिनअघि एक जना बिरामी एकैपटक १०३ डिग्रीको ज्वरो आयो भनेर उपचार गराउन आउनु भयो । कोरोना परीक्षण पनि गर्नुभएछ । त्यसमा नेगेटिभ देखिएपछि आउनुभएको रहेछ । तर उहाँहरुलाई कोरोनाभन्दा भाइरल ज्वरो आएको थियो ।

लामो समयसम्म किन लागिरहन्छ खोकी ?

खोकी लाग्नु फोक्सोमा कुनै एलर्जी वा कफ छ भने खोकी लाग्छ । कोरोनाकालभन्दा अघिसम्म प्रदूषण अत्यधिक थियो । खोकीको कारण पनि त्यही हुन्थ्यो । राति सुत्ने बेलामा र बिहान खोकी बढी लाग्थ्यो । कसैमा एलर्जीले गर्दा पनि खोकी लाग्थ्यो ।

खोकी पनि फोक्सोमा इन्फेक्सन भएर सुरु भएको छ भने तत्कालै औषधि खाइहाल्नु पर्छ । सामान्यतया सुरु भएको एक साता र बढीमा ९ दिनसम्म खोकी लाग्न सक्छ । तर त्योभन्दा धेरै समय खोकी लाग्यो भने चिकित्सककोमा उपचारको लागि जानुपर्छ ।

सिजनल फ्लुमा औषधि खाइहाल्नुपर्छ ?

सिजनल फ्लुको बिरामी हो भन्ने यकिन भयो भने औषधि खाइहाल्नु पर्दैन । सामान्यतया ३ दिनसम्म त अफ्टेरो भयो भने सिटामल खाएर बस्दा हुन्छ । यदि ३ दिनसम्म पनि समस्या कम भएन भने रगत परीक्षण गर्ने वा चिकित्सकलाई देखाएर औषधि खानुपर्छ । हामीले सबैभन्दा गल्ती गर्ने कुरा भनेको चिकित्सकलाई नदेखाई सिधै फार्मेसीमा गएर औषधि किन्छौं । त्यसले कहिलेकाहीँ समस्या पनि सिर्जना गर्न सक्छ ।

जस्तो उदाहरणको लागि खोकी लाग्यो भनेर फार्मेसीमा जानुभयो भने पसलेले कफ सिरप(खोकीको औषधि) दिएर पठाउँछ । त्यो पनि २ किसिमको हुन्छ । एउटा कफलाई दबाउने खालको हुन्छ भने अर्काे कफ निकाल्ने खालको हुन्छ । यदि फोक्सोमा कफको मात्रा छ भने त्यस्तोमा कफ निकाल्ने औषधि दिनुपर्छ । तर कफ नै नभएको अवस्थामा दबाउने औषधि खाइयो भने मान्छेमा झनै खोकी बढी हुन सक्छ । त्यसैले चिकित्सकलाई देखाएर मात्रै औषधि किन्न जानु राम्रो हुन्छ ।

मौसमी रुघा र ज्वरोको घरेलु उपचार विधि के हो ?

घरेलु उपचार विधि सजिलो छ । सबैभन्दा सजिलो हो पानीको बाफ लिने । यस बाहेक नुन पानीले कुला गर्ने, अदुवालाई पोलेर त्यसको रस चुस्ने, पोलेको अदुवालाई मनतातो पानीमा राखेर त्यसमा दुई थोपा मह र कागती मिसाएर दिनमा ३-४ पटक खायो भने समस्या समाधान हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार