आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रकृतिको अनुपम उपहार बडिमालिका पुग्दा…

प्रकृतिको अनुपम उपहार बडिमालिका पुग्दा…

  • सोमवार, भदौ ७, २०७८
प्रकृतिको अनुपम उपहार बडिमालिका पुग्दा…
अच्युत शाली घिमिरे
अच्युत शाली घिमिरे

यात्राको म पूर्ण सौखिन मान्छे हुँ। चिकित्सा पेसाका कारण रोजेरै विकट जिल्ला बाजुरा आएको १० महिना भयो। धेरथोर घुमेकै छु कलाकारजस्तै भएर नियतिले निर्देशित यो जिन्दगीमा।

बडिमालिकाको बारेमा धेरै सुनियो,नजिकै भए पनि माथि बस्ने व्यवस्थापन नहुने, सिजन नमिल्ने र टिमको जरूरत पर्ने हुनाले घुम्न जाने मिति थाति राख्दै गएँ।काठमाडौंबाट कामको शिलशिलाले रिसर्चको टिम कोल्टीमा आएपछि रातारात बडिमालिका घुम्ने योजना बन्यो।

रविन्द्र दाजु , जोतनारायण दाजु, अस्मिता र आरती बहिनीको बडिमालिका घुम्ने इच्छाले हामीलाई पनि एकचोटि नपुगी नछोड्ने आँट आयो।

प्राथमिक स्वास्थ्य केन्द्रका हामी ओम सर, छत्र सर र म आफैं, दीर्घ सरको अग्रसरतामा बिहीबार साउन २१ गते कोल्टीबाट बडिमालिका लाग्यौं। टेन्ट,ओड्ने प्लास्टिक, न्याना लुगा र खानेकुरा सबैको जोहो गरेपछि हामी बिहानको १० बजे हिँड्यौं।

बीचबीचमा बाटो बिग्रिएको हुनाले गाडीले पाण्डुशैनसम्म पुर्याउन पनि ३ बजायो। त्यहाँ खाजा खाएर हामीले उकालो उक्लिने जमर्को गर्यौं। पानी एकदम दर्किरहेको थियो, सामान सबैका झोलामा भारी थिए। प्लास्टिक ओडेर पनि पानीले भिजाउन रोकेको थिएन। बाटो उस्तै चिप्लो, हिलो। जुत्ताभित्र पानी पसेर हिँड्न असजिलो भइरेहको थियो।

कविताजस्तै हुन्छ ठाडै उकालोको यात्रा! लेख्यो लेख्यो अनि अन्तिममा खुसीका साथ पढ्यो! अर्थात् हिँड्यो हिँड्यो अनि माथि पुगेर निचोडमा लामो सास फेर्दै आएका बाटा हेर्यो।

मनमोहक बडिमालिकाको प्यासी भएपछि पसिना काढेरै भए पनि उक्लिन मन लाग्दो रहेछ। हामी आठ जना थियौं, बाटैभरि रमाइला कुरा गर्दै, रमाउँदै हिँड्यौं।

साँझ छिप्पिँदै गयो, बाटा देखिन छाडे, जसोतसो हिलोमा लड्बड्दिँदै गाई भैंसी चराउन आएका गोठाला दाइहरू बस्ने गोठ पुग्यौं। आजको बास त्यहीँ हुने थियो।

दीर्घ भाइको विशेष चिनजान थियो गोठाला दाइहरूसँग। हामी आफ्ना भिजेका लुगाहरू सुकाउन आगोमाथि झुण्डाउन थाल्यौं। त्यहाँ रहनुभएका दाजुहरूले रोटी पकाउनुभयो, दुध उमाल्नुभयो अनि अचारको स्वादमा हामीले टन्न रोटी दूधमा डुबाउँदै खायौं।
बिहान उठेर स-धन्यवाद हामी बाटो लाग्यौं।

सम्झनाका लागि एउटा फोटो खिच्यौं। धन्न त्यो दिन पानी परेन। बडिमालिकाको सुन्दर परिकल्पनाले विस्तारै चुम्बकले झैं माथितिर हामीलाई तानिरहेको थियो। ब्यागमा रहेका जीवनजल, ग्लुकोज एवं मिस्री,नरिवल र अन्य खानेकुरा खाँदै खोलाको तिरतिरैमाथि लाग्यौं।

चट्टानमा बज्रिँदै खोला तल पुग्न आतुर देखिन्थ्यो। जसोतसो उकालो उक्लिएर हामी पाटनमा पुग्यौं। सपनाको कथा भन्दा कत्ति पनि फरक थिएन।

एकछिन मन्त्रमुग्ध भयौं। प्रकृतिले नेपाललाई बक्सिस दिएजस्तो एउटा अनुपम उपहार हो बडिमालिका।

हामीलाई त्यही रोकिनु थिएन, त्यसैले हिँडिरह्यौं लगातार पाटनका उकालोहरू!

विभिन्न फूलहरू, ढुंगा, पुराना भेडिगोठहरू, चर्न आएका भेंडा भैंसी, दलदले जमिन, २२पाटन, सिमसार क्षेत्र आदि दृश्यहरू अलौकिक थिए। स्वप्निल भ्यालीको त्यो विछट्टै संसारमा फूलहरू जम्मा भएर हार्दिकताको कखरा पढिरहेका जस्ता देखिन्थे। मनले छोड्नै मानेको थिएन। स-साना गोरेटो बाटो वरिपरि त्यो सिंगो फूलबारीको उपस्थिति वास्तविकता थियो वा काल्पनिक अझै सोचमग्न छु।

कुहिरोले निर्लप्प छोपेको थियो घाँसे मैदान। आफूले आफैंलाई भेट्टाउन पनि साह्रो गाह्रो पर्ने। बाटो छेक्ने एक मुठ्ठी कुहिरोलाई सबैले गोजीभित्र हालेर घर लैजान पनि नमिल्ने! कुहिरोसँग ठोक्किँदै हिँड्नुपर्ने! कुहिरोका सिँढीहरू चढ्दै हामी उक्लिरह्यौं। कुहिरोको बाक्लो कम्बलभित्र हामी अदृश्य थियौं तर आवाजले जसोतसो एकअर्कालाई भेट्टाइरहेका थियौं।

शुक्रबारको दिन दिउँसोको २ बजे हामी दीर्घ सरको भेडीगोठमा पुग्यौं। टाँसिएका कुहिरोहरू टक्टक्याएर भित्र छिर्यौं र भट्टको झोल र अचारसँग भात खायौं। भात सँगको साइनो घनिभूत थियो किनकि यो बिना पाइला चाल्नै मुस्किल हुन्थ्यो। साँझ नपर्दै त्रिवेणी पुग्ने अठोट जो हामीमा थियो।

त्यसपछि हामी ढिलो नगरी बाटो लाग्यौं। बाजुराबाट हिँडेर आउँदा करिब ३५०० मि उचाइ चढिसकेपछि देखिने समतल फाँटहरू जता हेर्‍यो उतै हरिया थिए।

आँखाले भ्याइन्जेल हेर्न मिल्ने पहेंलो, नीलो,वैजनी, सुन्तले,रातो आदि रङका फूलहरूमा इन्द्रेणीयुक्त वातावरण देख्दा हामी प्रफुल्ल भएका थियौं।

टाढा-टाढासम्म केही नदेखिने न घर न बस्ती, कतै कतै भेंडी गोठ त्यो पनि कुकुर भुकेपछि मात्र पत्ता लाग्ने। जसोतसो हराउँदै-हराउँदै सिमसिमे पानीमा भिज्दै हामी साँझमा त्रिवेणी पुग्यौं।

त्रिवेणीको फाँटबाट दुई तिरबाट बग्दै आएका नदी गंगा र जमुना मिसिइरहेको देखिन्छ। खप्तडको त्रिवेणीमा जस्तै यहाँ पनि सरस्वती विलुप्त भएको मानिँदोरहेछ। फाँटैभरि स-साना पोखरी थिए। अनि एउटा धर्मशाला। त्यहीभित्र हामीले टेन्ट हालेर नजिकै आगो बाल्यौं र रातको बसाइको जोहो गर्यौं। के-के मिल्छ त्यही त्यही खाएर आठ जना टेन्टभित्र गुट्मुटियौं।

सुदूर र मध्यपश्चिममा ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथा निकै प्रसिद्ध छन्। तीमध्ये बाजुरामा अवस्थित बडिमालिका कान्छी मानिन्छिन्। मानव बस्ती भन्दा धेरै टाढा पहाडमाथि ४२०० मि उचाइमा बस्ने भएकाले पनि बर्सेनि जनैपूर्णिमामा उनलाई पूजा पुर्याइन्छ। जनै पूर्णिमाको एक दिन अघि तीर्थयात्रीहरू बडिमालिका पुग्छन् र हरेक यात्राका चरणमा देवीको वर्णनयुक्त गीतहरू गाउँदै हिँड्छन्।

वरिपरिका सातै जिल्लाबाट मानिसहरू त्रिवेणी हुँदै बडिमालिका मन्दिर पुग्छन्। हामी भने जनैपूर्णिमाको धेरै अघि गएका थियौं र गएका साथीहरूको कार्यव्यस्तता र अहिले मन्दिर नखुल्ने कुरा सुनेपछि त्यही त्रिवेणीबाट नै नुहाई धुवाई पूजापाठ गरी फर्किने निधो गर्यौं।

बडिमालिकाले मागेको कुरा दिन्छिन् भन्ने विश्वासका साथ मानिसहरू मन्दिरमा अन्न, गाईवस्तु, सन्तान आदि माग्ने गर्छन्। कतै तेर्सो त कतै ठाडै उकालो हिँडेर त्रिवेणीबाट ३-४ घण्टा हिँडेर मन्दिर पुग्छन् मानिसहरू। हामी भने त्यहीँबाट आफ्ना कामना सुनिदिन भगवानसँग आग्रह गर्दै फर्कियौं।

धार्मिक दृष्टिकोणले जति महत्वपूर्ण छ बडिमालिका त्यति नै पर्यटकीय दृष्टिकोणले पनि अलौकिक छ। वर्षको एकचोटि मेला लाग्दा मात्र मानिसहरू आउने भएर होला बाटो, होटल जस्ता पूर्वाधारहरू त्यति बनाइएका छैनन्। तर सबै सिजनमा यो स्वर्गलाई मानिससँग जोड्न पदमार्ग नै उचित बनाउनुपर्ने हुन्छ। ठाउँ-ठाउँमा बाटो नचिनेर हराउन सक्ने पर्यटकलाई सही सूचना दिने सूचना बोर्ड राखेर दिशानिर्देश गर्न सकिन्छ। सहज यात्राका लागि सडक मार्ग पनि विकल्प त हुनसक्छ तर प्रदूषण र पहिरो निम्त्याउने सडक मार्गभन्दा जलवायुमैत्री केबलकार नै ठिक हुन सक्छ।

बडिमालिकाको यात्रा जो कोसैलाई साहसिक लाग्न सक्छ।एकैछिनमा पानी र हावा अनि चिसो सिरेटोले मुटुमा नै हान्छ। त्यसमाथि न बासको टुङ्गो न खाने टुङ्गो।ठाउँ-ठाउँमा होटल र लज हुने अन्य पदयात्राभन्दा बिल्कुल फरक किसिमको स्वाद बडिमालिकाको यात्राबाट पाउन सकिन्छ। त्यसैले साथैमा टेण्ट, स्लिपिङ ब्याग र म्याट अनिवार्य लानैपर्छ।

आजकल त हेलिकप्टरबाट समेत मालिका भ्रमण गर्न पाइने अवसर मिल्छ तर त्यो फरक रमाइलो गर्न चाहनेलाई त्यति फलदायी हुँदैन। रात राम्ररी कटेन भने लेक लाग्ने, बिरामी हुने समस्या आउन सक्छ त्यसैले आवश्यक औषधिको प्रबन्ध समेत आफैंले गर्नुपर्ने हुन्छ।

शनिबारको दिन बिहान अलिकति घाम झुल्कियो त्यसैले फोटाहरू खिच्न पायौं। सैपाल हिमाललाई पृष्ठभूमिमा पारेर। कुनै अबेर नगरिकनै हामी ओर्लिरह्यौं। गलैंचा ओछ्याएजस्ता देखिने कयौं पाटन कटाउँदासम्म हामीले धेरै कुराहरू मिस गर्यौं।

पानीका छहरासँगै चिप्लिँदै चिप्लिँदै ओर्लिने माछाहरूजस्तै हामी तलतिर ओर्लियौं। प्रकृतिको टुप्पोमा पुगेर हराइएका हामीलाई तल आफ्ना हविगत युक्त सोचहरूमा ओर्लिन थियो वृक्षका लता, लहराहरूमा बेरिँदै बेरिँदै। आरती नानीको मोबाइलमा नेपथ्यका र अन्य गीतहरू घन्किँदै थिए। खान्न म त लामपाते सुरती.. छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले…। हामीले गीत सुन्दै गति बढाएका थियौं र त समयमा नै पाण्डुशैन पुग्यौं। बाटोमा भेडीगोठका एक जना दाजुको शव पनि हामी सँगसँगै ओर्लियो। भीरमा लडेर बितेका ती दाजुको शवले पनि बताउँछ, दुईदिन गएर रमाइलो गर्नेलाई खुसी तर भेंडा चराउन जानेहरूलाई कष्टपूर्ण छ बडिमालिका।पाण्डुशैनबाट हामी चार जना कोल्टी आयौं भने पाहुना रिसर्च टिम मार्तडी लाग्यो।

अस्ति भर्खर वैशाखमा खप्तड पुगेर आएको थिएँ म तर बडिमालिका खप्तडभन्दा बढी माधुर्ययुक्त लाग्यो। बडिमालिकाका बनोट प्रकृतिले कुन रहर लागेर एक तमासले कुँदेकी होलिन्, म छक्क परिरहेछु। गुडुल्किँदै तप्पतप्प झरिरहेका रहस्यमय प्रकृतिका वरदान कसरी संगालिए होलान् बडिमालिकामा,म सोचमग्न छु। रिदम बिग्रेर गएको मानिसलाई पनि मुसुमुसु हँसाउन सक्ने खै!
कुन सूत्रमा बाँधिएको छ बडिमालिका? आफैं अनुत्तरित छु।

चर्चामा

सम्बन्धित समाचार