मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को स्थगित परीक्षा कहिले होला ?

कक्षा १२ को स्थगित परीक्षा कहिले होला ?

  • बिहिबार, भदौ ३, २०७८
कक्षा १२ को स्थगित परीक्षा कहिले होला ?

काठमाडौं — कक्षा १२ को स्थगित वार्षिक परीक्षा सञ्चालन सन्दर्भमा अन्यौलता छाएको छ । कोभिड–१९ संक्रमणका कारण ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आग्रहमा राष्ट्रिय परीक्षा वोर्डको साउन २३ मा बसेको बैठकले परीक्षा स्थगितको निर्णय गरेको थियो । बोर्डले विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकेपछि मात्रै परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ ।

विद्यार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा.रोशन पोखरेललाई बोर्डले अनुरोध गरिसकेको छ । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले विद्यार्थीलाई खोप उपलब्ध गराउने सकारात्मक जबाफ दिएका थिए । स्वास्थ्य मन्त्रालयले केहिदिनमै जापानबाट कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त १६ लाख डोजमध्ये बाँकी ८ लाख मात्रा एस्ट्राजेनेका खोप आउने जनाएको छ ।

वोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले विद्यार्थीलाई खोप लगाइसकेपछि चिकित्सकको सुझावपछि परीक्षा सञ्चालनबारे थप निर्णय हुने बताए । उनले भने, ,’विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छौं । खोप लगाएपछि चिकित्सकको रायमा थप निर्णय लिन्छौं ।’ परीक्षा हुनु १५ दिनअघि बोर्डले परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डका अनुसार परीक्षामा ३ लाख ८६ हजार परीक्षार्थीले ४ हजार ३३५ परीक्षा केन्द्रबाट अनिवार्य र ऐच्छिक गरी करीब ९० विषयको परीक्षा दिने तयारीमा थिए । गत वर्ष परीक्षा समय र अंक भार घटाएर बोर्डले परीक्षा लिएको थियो । परीक्षा धकेलिदा विद्यार्थीहरु अन्योलमा परेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीलाई खोप उपलब्ध गराएर मात्रै परीक्षामा सामेल गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार