बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • १४ जिल्लामा बढ्यो कोरोना संक्रमण

१४ जिल्लामा बढ्यो कोरोना संक्रमण

  • आइतवार, असार २७, २०७८
१४ जिल्लामा बढ्यो कोरोना संक्रमण

काठमाडौं — पछिल्लो दुई सातामा काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बागमती प्रदेशको काठमाडौं र चितवन लगायत १४ जिल्लामा कोरोना संक्रमण बढेको बताए ।

प्रदेश १ को इलाम, खोटाङ, झापा र धनकुटा, गण्डकी प्रदेशमा कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको प्युठान, कर्णाली प्रदेशको डोल्पा र मुगु तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, बझाङ र बाजुरामा संक्रमण बढेको छ ।

विशेषगरी निषेधाज्ञाको केही प्रावधानहरुमा खुकुलो गरिएसँगै संक्रमण बढेको हुन सक्ने उनले बताए । ‘जिल्ला जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय प्रशासनहरुले केही दिनयता निषेधाज्ञा खुकुलो पारेका छन् । तर जोखिम भने कायमै छ । त्यसैले सबै नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कतव्र्य नभुलौं’ डा. पौडेलले भने ।

पछिल्लो २४ घण्टाको तथ्यांकलाई हेर्दा झण्डै ५ जनाको आरटी–पीसीआर गर्दा १ जनामा संक्रमण पुष्टि भएको डा. पौडेलले बताए । ‘पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५,५३५ परीक्षण गरिएकोमा १,२३७ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा यो संक्रमण दर २२.३ प्रतिशत हो’ डा. पौडेलले भने । पछिल्लो २४ घण्टामा ३,६८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो, जसमध्ये ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभित्रको अवस्था हेर्ने हो भने कर्णाली प्रदेशमा ४५ जनाको आरटी–पीसीआर गर्दा १६ जनामा संक्रमण देखिएको छ । ‘संख्यात्मक हिसाबमा यो कम परीक्षण हो । तर प्रतिशतको हिसाबमा संक्रमण दर (३५.५६ प्रतिशत) बढी छ’ डा. पौडेलले भने ।

कर्णालीपछि गण्डकी प्रदेशमा संक्रमण दर बढ्दो छ । कर्णालीमा ४३३ जनाको पीसीआर परीक्षण गर्दा १४७ मा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा संक्रमण दर ३३.९५ प्रतिशत हो ।

प्रदेश १ मा ५९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १८८ (३१.८१ प्रतिशत) जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश २ मा ८६ जनाको पीसीआर गर्दा ८ जना (९.३० प्रतिशत)मा संक्रमण देखिएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश १ मा संक्रमित पुष्टि हुने दर कम छ ।

बागमती प्रदेशमा ३,४२२ जनाको परीक्षण गर्दा ६९८ जना (२०.३९ प्रतिशत) मा संक्रमण देखिएको छ भने लुम्बिनीमा ६४९ नमुना परीक्षण गर्दा ९१ जना (१४.०२ प्रतिशत) र सुदूरपश्चिममा ३०९ नमुना परीक्षण गर्दा ८९ जना (२८.८० प्रतिशत) मा संक्रमण पुष्टि भएको छ ।

कुन–कुन जिल्लामा छन् ५०० भन्दाबढी सक्रिय संक्रमित ?

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला क्रमशः घट्दो क्रममा छ । मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ९ वटा छन् ।

प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन तथा गण्डकी प्रदेशको कास्की जिल्ला ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन् ।

कुन–कुन जिल्लामा छन् २०० भन्दाबढी सक्रिय संक्रमित ?

आइतबारसम्म २०० भन्दा माथि र ५०० भन्दा तल सक्रिय संक्रमित रहेका जिल्ला २४ वटा छन् ।

२०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा प्रदेश २ को धनुषा, सप्तरी, बारा र पर्सा, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ, म्याग्दी, तनहुँ र नवलपरसी (पूर्व) छन् ।

यसैगरी लुम्बिनी प्रदेशको रुपन्देही, बर्दिया, पाल्पा, दाङ, बाँके र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशको सुर्खेत र जुम्ला तथा सुदूरपश्चिमको केलाली र कञ्चनपुर छन् ।

चर्चामा

सम्बन्धित समाचार