शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • ती इजरायली जासुस जो सिरियामा रक्षामन्त्री बन्दै थिए

ती इजरायली जासुस जो सिरियामा रक्षामन्त्री बन्दै थिए

  • बिहिबार, असार २४, २०७८
ती इजरायली जासुस जो सिरियामा रक्षामन्त्री बन्दै थिए

जासुसहरुको दुनियाँमा पनि निकै अनौठो हुन्छ । जासुसहरु अर्को देशमा गएर त्यहाँको जासुसी गरी महत्वपूर्ण खुफिया जानकारीहरु आफ्नो देशको सम्बन्धित निकायमा पठाउँदछन् ।

यद्यपि यो कुरा सुन्न र भन्नमा जति सजिलो छ गर्नमा चाहिँ अप्ठेरो र जोखिमपूर्ण पनि हुन्छ । किनकी यसमा ज्यानकै खतरा हुन्छ जतिबेला पनि । यदि जासुसी गरिरहेको बेलामा अर्को देशमा पक्राउ परेमा देशको कानून अनुसार सख्त कारवाही तथा मृत्युदण्ड समेत हुनसक्दछ । आज हामी एकजना यस्ता जासुसको बारेमा कुरा गर्दैछौँ जो अर्को देशमा गएर जासुसी गर्दागर्दै यस्तो अवस्थामा पुगे कि झण्डै त्यहाँको उपरक्षामन्त्री बनेनन् । तर पछि आफ्नै गल्तीले उनी पक्राउ परे र उनलाई चौबाटोमा सयौं मानिसको अगाडि फाँसी दिइयो ।

ती जासूसको नाम थियो एली कोहेन । उनी इजरायली जासुसी एजेन्सीका जासुस थिए । उनलाई इजरायलका सबैभन्दा साहसी तथा बहादुर जासुस पनि भनिन्छ । उनले जे गरेर देखाए त्यो उनको मुलुक इजरायलले पनि सोचेको थिएन । भनिन्छ कोहेनले यस्ता खुफिया जानकारीहरु हात पारेका थिए जसका कारण १९६७ को अबर इजरायल युद्धमा इजरायलले विजय हासिल गरेको थियो ।

इजरायली जासुसको रुपमा कोहेनले सन् १९६१ देखि १९६५ सम्म सिरियामा बिताए । एक व्यापारीको रुपमा उनले सिरियामा आफ्नो अलग पहिचान बनाएका थिए र त्यसको आडमा उनी सिरियाको सत्ताको निकै नजिक पुगेका थिए । त्यसक्रममा उनले सिरियामा भएको कूमा पनि अहम भूमिका निभाएका थिए र सिरियाली राष्ट्रपतिको निकटको व्यक्ति बन्न सफल भए । सिरियाली राष्ट्रपतिले रक्षा सम्बन्धी मामिलाहरुमा कोहेनको सल्लाह लिने गर्दथे ।

सन् १९६५ को मे १८ मा दमास्कसस्थित एक सार्वजनिक चौबाटोमा एली कोहेनलाई फाँसीमा चढाइयो । त्यसक्रममा उनको गलामा एउटा ब्यानर पनि झुण्डाइएको थियो, जसमा लेखिएको थियो– सिरियामा रहेका अरबी मानिसहरुको तर्फबाट ।
एलीको जन्म सन् १९२४ मा इजिप्टको अलेक्जेन्ड्रियास्थित एक सिरियाली यहुदी परिवारमा भएको थियो । उनका पिता सन् १९१४ मै सिरियाको एलेप्पोबाट इजिप्ट बसाइ सरेका थिए । तर जब सन् १९४८ मा इजरायलको स्थापना भयो इजिप्टमा रहेका कैयन् यहुदी परिवारहरु त्यहाँबाट निस्किएर इजरायल पुगे । त्यसरी इजरायल गएर बस्ने एली कोहेनको परिवार पनि थियो जो सन् १९४९ मा इजरायल गएर बसोबास गर्यो । तर परिवारका अन्य सदस्य इजरायल गएपनि कोहेन भने तत्काल इजिप्टमै रोकिए किनकी उनले इलेक्ट्रोनिक्सको पढाइ गरिरहेका थिए ।

कोहेन अरबी, अंग्रेजी र फ्रेन्च भाषामा पोख्त थिए भनिन्छ । पछि पढाइ पूरा गरेर इजरायल गएसँगै इजरायली खुफिया विभागको नजर उनीमाथि पर्यो । वास्तवमा कोहेन जासुसी कार्यप्रति पहिलेदेखि नै रुचि राख्दथे र सन् १९५५ मा जासुसी सम्बन्धी छोटो तालीम लिनका लागि इजरायल गएका थिए । एक वर्षमै इजिप्ट फर्र्किएका उनी स्वेज संकटपश्चात् सन् १९५७ मा पुनः इजरायल गए । इजरायलमा उनले भाषा अनुवादक र लेखापालको काम गर्न सुरु गरे । त्यसक्रममा उनको इराकी यहुदी युवती नादिया मजाल्दसँग बिहे भयो ।

एलीको जिन्दगीको खास कथा चाहिं सन् १९६० बाट सुरु हुन्छ जब उनी इजरायली खुफिया विभागमा भर्ति हुन्छन् । एक वर्षपश्चात् अर्थात् सन् १९६१ मा उनलाई मिसनमा पठाइन्छ । इजरायली खुफिया विभागले एली कोहेनलाई सुरुमा कामिल अमिन ताबेत नाम दियो र व्यापारीको रुपमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स पठाइयो ।

त्यहाँ उनले सिरियाली समुदायका मानिसहरुसँग सम्पर्क बढाए र विस्तारै सिरियाली राजदूतावासमा काम गर्ने उच्च अधिकारीहरुसँग पनि मित्रता कायम गरे । त्यसमा सिरियाली सेनाका एक वरिष्ठ अधिकारी अमीन अल हफिज पनि थिए, जो एली कोहेनकै सहयोगबाट अगाडि बढेर सिरियाको राष्ट्रपतिसम्म बनेका थिए ।

कामिल अमीन ताबेत बनेका एली सन् १९६२ मा सिरियाको राजधानी दमास्कस गएर बसोबास सुरु गरे । रेडियो ट्रान्समिसनको माध्यमबाट उनले सिरियाली सेनासँग सम्बन्धित अनेक जानकारीहरु प्राप्त गरी इजरायलमा पठाउन सुरु गरे । सन् १९६३ मा जब सिरियामा कू भयो र अर्जेन्टिनामा रहँदा एलीका मित्र रहेका वरिष्ठ सैन्य अधिकारी अमिन अल हफिज राष्ट्रपति बने एलीलाई सिरियाको उपरक्षामन्त्री बनाउने निर्णय गरे । उनी यसअघि नै रक्षा मन्त्रीको सल्लाहकार भैसकेका थिए । तर सन् १९६५ मा इजरायलको प्रति जासुसी संस्था मोसादका अधिकारीहरुले उनको रेडियो ट्रान्समिसनको जानकारी प्राप्त गरे र उनलाई रंगेहात पक्राउ गरे ।

एली कोहेनमाथि सिरियामा सैन्य मुद्दा चल्यो र उनलाई मृत्युदण्डको सजायँ सुनाइयो । अन्ततः सन् १९६५ को मे १८ मा दमास्कसस्थित एक सार्वजनिक चौबाटोमा उनलाई फाँसीमा चढाइयो । त्यसक्रममा उनको गलामा एउटा ब्यानर पनि झुण्डाइएको थियो, जसमा लेखिएको थियो– सिरियामा रहेका अरबी मानिसहरुको तर्फबाट ।

इजरायली जासूस एली कोहेनलाई फाँसी दिएपछि उनको मृत शरीर सिरियाले इजरायलमा पठाएन । हुनत फाँसी दिनु अगाडि इजरायलले उनको सजायँ माफीका लागि सिरियासँग लगातार अनुरोध गरेको थियो, तर सिरिया सरकारले त्यसलाई अस्विकार गर्यो ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार