बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद्ले पायो पूर्णता

मन्त्रिपरिषद्ले पायो पूर्णता

  • शुक्रबार, जेष्ठ २८, २०७८
मन्त्रिपरिषद्ले पायो पूर्णता

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणापछि दोस्रो पटक हेरफेर गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सात मन्त्री र एक राज्यमन्त्री थपिएसँगै बिहीबार मन्त्रिपरिषद् २५ सदस्यीय पुगेको छ। प्रधानमन्त्री ओलीले जेठ २१ मा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० जनालाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार वैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन्। नवनियुक्त मन्त्रीहरूले बिहीबारै राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन्।

जसमा खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकासमन्त्री, नारदमुनि राना वन तथा वातावरणमन्त्री, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री, राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन्। नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विकले प्रधानमन्त्री ओलीसमक्ष शपथ लिएकी छन्।

नेपालको संविधानमै २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था छ। ओलीले बिहीबार एमालेबाट सात र जसपाबाट एक मन्त्री थप गरेका हुन्। उद्योगमन्त्री यादव जसपाका हुन्। सञ्चारमन्त्री थापा र कृषिमन्त्री साह माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन्।

गृह मन्त्रालयको जिम्मेवारी पाएका अधिकारी दोस्रो पटक मन्त्री नियुक्त भएका हुन्। अधिकारी २०७० सालमा सुशील कोइराला नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए। मन्त्री रानाले कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस नेतृ आरजू देउवालाई पराजित गरेका थिए। मन्त्री पहाडी एमाले नेता योगेश भट्टराईनिकट हुन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष पेस गरेको दाबीका १ सय ४९ हस्ताक्षरकर्तामध्ये उनी एक हुन्। तर, उनी सर्वोच्च अदालतमा रिट निवेदन दिन भने गएका थिएनन्।
कृषिमन्त्री साह गत चैतमा एमाले प्रवेश गरेकी थिइन्। माओवादी परित्यागपछि उनको प्रदेश सांसद् पद गएको थियो। साह २०६६ सालमा भूमिसुधार राज्यमन्त्री बनेकी थिइन्।
ठाकुर पक्षका नेता यादव मन्त्रिपरिषद्मा थपिँदा जसपाबाट मन्त्री हुनेको संख्या ११ पुगेको छ। २५ सदस्यीय मन्त्रिपरिषद्मा जसपाको भागमा मात्रै ४४ प्रतिशत परेको छ।

प्रदेश २ बाट मात्रै १४ जना मन्त्री भएका छन्। जसमा जसपाबाट ११, एमालेबाट तीन जना छन्। एमालेबाट उपप्रधान तथा परराष्टमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ र नवनियुक्त कृषिमन्त्री साहले प्रदेश २ बाट प्रतिनिधि गर्छन्। यो मन्त्रिपषिद्मा प्रदेश १ बाट प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ छन्। बागमती प्रदेशबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ र नवनियुक्त संघीय मामिलामन्त्री पहाडी छन्। सञ्चारमन्त्री थापा पनि बागमती प्रदेशकै हुन्। गण्डकी प्रदेशबाट गृहमन्त्री अधिकारी, लुम्बिनीबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कर्णालीबाट नवनियुक्त मन्त्री बानियाँ र सुदूरपश्चिमबाट नवनियुक्त वनमन्त्री राना र वन राज्यमन्त्री विकको प्रतिनिधित्व छ।

यो मन्त्रिपरिषद् समावेशी देखिएको छ। जसमा बाहुन क्षेत्री ६, जनजाती ८, मधेसी १०, दलित १ छन्। यो मन्त्रिपरिषद्मा ५ जना महिलाले प्रतिनिधित्व गरेका छन्।
२०७४ फागुन ३ मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएका हुन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ मा विश्वासको मत गुमाएका थिए। त्यसपछि २०७८ वैशाख ३१ मा संविधान धारा ७६(३) बमोजिम अल्पमतको सरकारमा पुन: ओली प्रधानमन्त्री नियुक्त भए । यो अवधिमा ओलीले १७ पटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन्।

कुन प्रदेशबाट कति मन्त्री
प्रदेश १ : २
प्रदेश २ : १४
बागमती प्रदेश : ४
गण्डकी प्रदेश : १
लुम्बिनी प्रदेश : १
कर्णाली प्रदेश : १
सुदूरपश्चिम : २

कहिले–कहिले पुनर्गठन
१. २०७४ फागुन ३ : ओलीको नेतृत्वको चार मन्त्रीसहित सरकार गठन
२. २०७४ फागुन १४ : चार मन्त्री थप
३. २०७४ चैत २ : मन्त्रिपरिषद्लाई पूर्णता
४. २०७५ जेठ १८ : तत्कालीन समाजवादी पार्टी सरकारमा
५. २०७५ साउन १८ : शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकालको नियुक्ति
६. २०७६ साउन १५ : योगेश भट्टराईलाई मन्त्री नियुक्त
७. २०७६ मंसिर ४ : हृदयेश त्रिपाठी सरकारमा
८.२०७६ फागुन ५ : उपसभामुखबाट हटेपछि डा. शिवमाया तुम्बाहाङफे मन्त्री नियुक्त
९.२०७६ फागुन ८ : पार्वत गुरुङ मन्त्री नियुक्त
१०.२०७६ फागुन २१ : डा. युवराज खतिवडा पुन: मन्त्री नियुक्त
११.२०७७ असोज २८ : कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ मन्त्री नियुक्त
१२.२०७७ पुस १० : प्रतिनिधिसभा विघटनपछि केही मन्त्रीले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन
१३.२०७७ चैत २७ : लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको सांसद पद गएपछि पुन: मन्त्री नियुक्ति
१४.२०७८ वैशाख ५ : रामबहादुर थापाको सांसद पद गएपछि पुन: मन्त्री नियुक्त
१५. २०७८ वैशाख ३१ : ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त
१६.२०७८ जेठ २१ : जसपा समेटेर मन्त्रिपरिषद्को गठन
१७. २०७८ जेठ २७ : मन्त्रिपरिषद्को पूर्णता

चर्चामा

सम्बन्धित समाचार