शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी

नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी

  • बिहिबार, जेष्ठ २०, २०७८
नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन शुक्रबार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको बताए ।

‘बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको रहेछ । तर यसबारे हामीलाई कुनै जानकारी छैन,’ उनले भने, ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं ।’

नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको विश्व स्वास्थ्य संगठनले पनि बताएको छ । बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।

‘हामी आफैं यसबारे अनभिज्ञ छौं । बेलायतले जानकारी गराए अनुसार यहाँबाट गएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं । नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन’ डा. पौडेलले भने । डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो ।

नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन ।’

चर्चामा

सम्बन्धित समाचार