• होमपेज
  • समाचार
  • घाट नपाउँदा संक्रमितको शव २४ घण्टा अस्पतालमा

घाट नपाउँदा संक्रमितको शव २४ घण्टा अस्पतालमा

  • आइतवार, जेष्ठ १६, २०७८
घाट नपाउँदा संक्रमितको शव २४ घण्टा अस्पतालमा

कोरोना संक्रमितको शव २४ घण्टापछि मात्रै व्यवस्थापन गरएिको छ । कोरोना संक्रमणबाट ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) मा शनिबार बिहान ७ :२० बजे मृत्यु भएका खिजीदेम्वाका एक पुरुषको शव आइतबार बिहान मात्रै दाहसंस्कार गरिएको हो ।

कोभिड १९ केयर युनिटमा उपचारका क्रममा ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या आएको हो । सदरमुकाममा कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने अतिरिक्त ठाउँ तोकिएको छैन । नजिकैको लिपे खोला र सिस्ने खोलामा ठाउँ हेरिए पनि स्थानीयको अवरोधले शव व्यवस्थापन स्थलका रुपमा प्रयोग गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् ।

सिद्धिचरण नगरपालिकासहित सुरक्षा नियकायका अधिकारीहरुले स्थलगत अध्ययन गरे लगत्तै स्थानीयले राजनीतिक पहुँच प्रयोग गरेर सिस्ने खोलामा शव दाहस्थलको रुपमा प्रयोगमाल्याउन नदिन प्रमुख जिल्ला अधिकारीलाई दवाव दिएका थिए ।

शनिबार ज्यान गुमाएका अर्का व्यक्तिको शव भने आफन्तले आफ्नै जग्गामा लगेर व्यवस्थापन गरेका थिए । खिजीदेम्वाका ती व्यक्तिको शव नेपाली सेनाको सहयोगबाट लिपे खोलामा दाहसंस्कार गरिएको सिद्धिचरण नगरपालिकाका अधिकृत उमेश कार्कीले जानकारी दिए ।

शनिबार झरी परेका कारण समयमा दाउरा जुटाउन नसक्दा जलाउन सकिएको थिएन । शव गाड्न उपयुक्त स्थान पहिचान हुन नसक्दा अस्पतालमै रहेको थियो । परिवारका सदस्यले समेत कोरोना संक्रमणका त्रास र सरकारी मापदण्डका कारण आफ्नो संस्कार अनुसार आफ्नै घाटमा लगेर दाहसंस्कार गर्ने आँट गर्न सकेनन् ।

सामाजिक संस्कार र परिपाटी फरक फरक भए पनि कोरोना संक्रमितको शव व्यवस्थापनमा सरकारले तोकेको मापदण्ड जिल्लामा कार्यन्वयनमा नआएको भन्दै सरोकारवाला र राजनीतिक दलले भने विरोध जनाएका छन् ।

शव व्यवस्थापन मापदण्ड पालना गरेर उपचित व्यवस्थापन गर्न नागरिक समाजले ज्ञापन पत्र नै स्थानीय तह र जिल्ला प्रशासनमा बुझाएको थियो । जग्गा व्यवस्थापनको मूख्य जिम्मेवारी स्थानीय तहको भए पनि त्यसबारे चासो नदिएकाले समस्या आएको छ । यसअघि व्यवस्थापन गरिएका दुई शवको विषयमा पनि स्थानीयले लापरवाही भएको भन्दै विरोध जनाएका थिए ।

नेपाली काँग्रेसले शव अस्पतालका बेडमा २४ घण्टासम्म अलपत्र पारेको भन्दै विरोध जनाएको छ । काँग्रेस जिल्ला सभापति प्रदिप सुनुवारले सरकारले तोकेको मापदण्ड अनुसार शव व्यवस्थापन गर्न नगरपालिका र प्रशासन असफल भएको बताए । उनले भने, ‘एउटा शव व्यवस्थापन गर्न २४ घण्टामा गर्न नसक्ने सरकारी निकायको औचित्य के हुन्छ ?’

जिल्लामा पाँच जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ती मध्ये तीन जनाको शव व्यवस्थापनमा समस्या आइसकेको छ । कोरोनाको त्रासले छरछिमेक र अभिभावक डराउने र सरकारी निकायले समयमा शव व्यवस्थापन गर्न शव वाहन, जनशक्ति र स्थान नतोक्दा यस्तो समस्या आएको हो । सदरमुकाम समेत रहेको सिद्धिचरण नगरपालिकामा एक सरकारी र एक सामुदायिक अस्पताल छन् ।

दुवै अस्पतालमा उपचारका लागि ज्यान गुमाउनेको शव दाहासंस्कार गर्न वैकल्पिक व्यवस्था छैन । स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रबीचको प्रभावकारी समन्वय र स्रोत साझेदारीमा समस्या देखिदा यस्तो समस्या आएको नागरिक समाजका बोध नारायण श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय सरकारसँग स्रोत भए पनि शव व्यवस्थापन सेना र प्रहरीले गर्ने निर्देशिका भनेर पन्छिने र सुरक्षा निकायलाई शव व्यवस्थापनका लागि स्थान तथा अन्य स्रोत साधानको समस्या देखिन्छ, जनप्रतिनिधि बढी जिम्मेबार बन्नुपर्छ।’

चर्चामा

सम्बन्धित समाचार