बुधबार, बैशाख ५, २०८१

आज लोकतन्त्र दिवस

  • शनिबार, बैशाख ११, २०७८
आज लोकतन्त्र दिवस

काठमाण्डौ — आज लोकतन्त्र दिवस। २०६२÷६३ जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ।

१५ वर्षअघि २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेको थियो।

पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो।

जनआन्दोलनमा कमाण्डर समेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो।

संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो। दोस्रो जनआन्दोलनले सङ्घीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ।

राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ। पछाडि पारिएका वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मुल प्रवाहमा ल्याइएको छ। सात प्रदेश र अधिकार सम्पन्न ७५३ पालिकामार्फत जनताले गाउँमै सिंहदरबार पाउने सेवा तथा सुविधा पाएका छन्।

राजाबाट खोसेर नागरिक आफैंले निर्माण सुरु गरेको नयाँ नेपालको खाका बन्दै गरे पनि नागरिकका अपेक्षा सबै पूरा हुन सकेका छैनन्।

राजनीतिक उपलब्धि प्राप्त भए पनि संसदीय प्रणाली र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा देखिएका विकृति उस्तै रहेको भन्दै नागरिक असन्तुष्ट छन्।

परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुकेकाले नागरिकका सपना अझै पूरा हुन नसकेको गुनासो छ।

चर्चामा

सम्बन्धित समाचार