शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • मोहनापुल-अत्तरिया ६ लेन सडकको बीचमा माटोको सट्टा बालुवा भरानः धुलो उडेर वायु झनै प्रदूषित

मोहनापुल-अत्तरिया ६ लेन सडकको बीचमा माटोको सट्टा बालुवा भरानः धुलो उडेर वायु झनै प्रदूषित

  • बुधबार, बैशाख ८, २०७८
मोहनापुल-अत्तरिया ६ लेन सडकको बीचमा माटोको सट्टा बालुवा भरानः धुलो उडेर वायु झनै प्रदूषित

धनगढी– मोहनापुल-अत्तरिया ६ लेन सडकको मिडियन अर्थात बीचभागमा माटो भरान नगरी सम्झौता विपरीत बालुवा र गिट्टी राख्ने काम भएको नगरवासीले गुनासो गरेका छन्।

माटोको सट्टा बालुवा र गिट्टी राख्दा मोहनापुल–अतरिया ६ लेन सडकको बीचको खुला भाग मिडियनमा दुबो उम्रन नसकेको बताइएको छ। मिडियनमा दुबो या घाँस नउम्रिदा थोरै हावा चल्दा समेत धुलो उडेर हैरानी खेप्नु परेको सडक छेउका व्यवसायी र यात्रुले बताएका छन्।

मोहनापुल–अतरिया ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको अधिकारीहरुले बताइरहेका छन् । तर सडकको मध्य भागमा बनाइएको मिडियनमा माटो राख्नुपर्नेमा बालुवा र गिट्टी राख्दा दिनभर वालुवा उडेर सास्ती भोग्नु परेको ६ लेन सडकको दाँया–बाँया व्यवसाय गरिरहेका व्यवसायीहरुले गुनासो छ।

“सडकमा बनाइएको मिडियनमा बालुवा भरान गर्दा सवारी साधनको कारण समेत हावा चल्दा धुलो आँखामा पर्ने समस्याले आजित हुनुपरेको छ। बिहानदेखि साँझसम्म पसल र घरमा धुलोले समस्या भइरहेको र सडक प्रयोगकर्ता समेत धुलोमा चिप्लिएर लड्ने गरेका छन्। सम्झौतामा त माटो नै हाल्नु पर्ने छ होला।” चटकपुरका स्थानीय हिक्मत शाहले भने।

मोहनापुल–अतरिया ६ लेन सडकको मोहनापुलदेखि बोराँडाडीसम्मको ४ दशमलव ५ किलोमिटर सडकको ठेक्का नागार्जुन कन्स्ट्रक्सन प्रालिले पाएको छ। तर निर्माण कम्पनीका प्रतिनिधि ईश्वरी भट्टले भने मिडियनमा माटो नै भरान गरेको दाबी गरेका छन्।

“हामीले सडकको मिडियनमा माटो नै हालेका छौँ। तर सडक निर्माणको क्रममा केहि ठाउँमा गिट्टी र सडक सफा गर्दाको बालुवा परेको भए सो उठाएर माटो हालेर व्यवस्थित मिडियन बनाउछौँ।” भट्टले भने।

६ लेन सडकको तीन प्याकेजमध्ये बोराडाँडीदेखि अतरियासम्मको ८ दशमलव ५ किलोमिटर सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण कम्पनीका ईन्जिनीयर रोशन भट्टले पनि सडकको मिडियनमा बालुवा भरान नगरेको दाबी गरेका छन्। उनले भने, सडक बनाउने क्रममा बालुवा या गिट्टी परेको ठाउँमा निर्माण कम्पनीले पुनः माटो भरान गर्छ।” इन्जिनियर भट्टले भने।

मोहनापुल–अतरिया ६ लेन सडक योजना कार्यालयले निर्माण कम्पनीहरुसँग मिडियनमा माटो भरान गर्नेगरी सम्झौता भएको जनाएको छ। मिडियनमा माटो नै भरान गरिएको दाबी योजना कार्यालयले पनि गरेको छ। तर सडकमा बनाइएको मिडियनमा बालुवा हालेको जो कोहिले देखन सक्छन्।

६ लेन सडकको मिडियनमा फूल प्रजातिका विरुवा लगाउन विभिन्न संस्थासँग सम्झौता समेत गरिएको योजना प्रमुख ईन्जिनीयर युवराज पोखरेलको भनाइ छ। यदि माटोका अतिरिक्त अन्य सामग्री मिडियनमा राखिएको भए हटाउन लगाउने योजना प्रमुख पोखरेलले बताए।

मोहनापुल–अतरिया ६ लेन सडकमा बनाइएको मिडियनमा साना विरुवा र फूल रोपेर बगैँचा निर्माण गर्ने योजना रहेको दाबी गरिएको भएपनि फूल विरुवा नरोप्दै फोहर फाल्ने क्रम समेत बढेको देख्न सकिन्छ।

भन्सारतर्फ कृषि मन्त्रालय नजिकैको मिडियनमा स्थानीयले फोहर थुपारेका छन् भने नेशनल ट्रेडिङ अगाडिको मुख्य सडकमै फोहरको डङ्गुर देख्न सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार