बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • बिहे अगाडि सम्भोग गरेको अभियोगमा ९ जनाको गयो जागिर

बिहे अगाडि सम्भोग गरेको अभियोगमा ९ जनाको गयो जागिर

  • मङ्लबार, चैत्र ३१, २०७७
बिहे अगाडि सम्भोग गरेको अभियोगमा ९ जनाको गयो जागिर
कम्पनी मालिक डेभ राम्से

कुनै पनि कार्यालय वा कम्पनीले आफूकहाँ कार्यरत कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कारणहरु के-के हुन सक्लान् ? कुनै गम्भीर गल्ती वा लापरबाही गरेमा, आफू कार्यरत निकायलाई हानिनोक्सानी पुर्‍याउने काम गरेमा वा गम्भीर नैतिक पतनको काम गरेमा आदि-आदि । तर, अमेरिकाको एक कम्पनीले चाहिं बिहे अगाडि नै सम्भोग गरेको अभियोगमा आफ्ना ९ जना कर्मचारीलाई बर्खास्त गरेको पाइएको छ ।

चर्चित रेडियो स्टार डेभ राम्सेको कम्पनी राम्से सोलुसन्सले विवाहपूर्व सहवास गरेको भन्दै हालसम्म ९ जना कर्मचारीलाई जागिरबाट निकालेको खुलासा भएको छ ।

एक पूर्वकर्मचारीले दायर गरेको मुद्दामा राम्से सोलुसन्सले अदालतमा प्रतिउत्तर पेश गर्दै विवाहपूर्व सम्भोग गर्ने कर्मचारीलाई बर्खास्त गर्ने आफ्नो कम्पनीको नियम नै रहेको प्रष्ट पारेको छ । कम्पनीको उक्त नीतिका विरुद्धमा एक पीडित पूर्वकर्मचारीले अदालतमा मुद्दा दायर गरेकी थिइन् । कम्पनीले चाहिं आफ्नो नीतिले ती पूर्वकर्मचारी महिलालाई कुने विभेद नगरेको दाबी गरेको छ ।

डेभ राम्सेले चर्चित रेडियो कार्यक्रम डेभ राम्से शो चलाउँदछन् । अमेरिकाका विभिन्न रेडियो स्टेसनबाट प्रसारण हुने उक्त चर्चित कार्यक्रम परम्परावादी क्रिस्चियनको अवधारणा तथा वित्तीय सुझावमा आधारित छ ।

राम्से सोलुसन्सकी पूर्वप्रशासन सहायक क्याटलिन ओ कोन्नोरले गत वर्ष अमेरिकाको टेनिसीस्थित जिल्ला अदालतमा कम्पनीविरुद्ध मुद्दा हालेकी थिइन् । आफू गर्भवती भएको आरोपमा कम्पनीले आफूलाई बर्खास्त गरेको उनको भनाइ थियो । सन् २०२० को जून महिनामा सुत्केरी बिदा स्वीकृत गराउने बेलामा कम्पनीले आफूसँग विवाहलगायतका कागजातहरु मागेको तर आफू अविवाहित रहेको थाहा पाएसँगै जागिरबाट निकालेको उनको दाबी छ ।

कम्पनीले पनि कोन्नोरलाई फगत गर्भवती भएको आरोपमा नभई आफूले बिहे नै नगरेको केटासँग गर्भाधारण गरेको हुँदा बर्खास्त गरिएको बताएको छ ।

कम्पनीको उक्त कदमले कोन्नोरको आधारभूत मानवअधिकारका साथै सुत्केरी बिदा लिन पाउने संघीय अधिकारका साथै टेनिसी राज्यका कानूनहरु उल्लंघन भएको बताएका छन् । कम्पनीको त्यो कदम निकै निर्दयी व्यवहारयुक्त रहेको वकिलको भनाइ छ ।

राम्से सोलुसन्सका वकिलका अनुसार कोन्नोरलाई कम्पनीको मापदण्ड उल्लंघन गरेको आरोपमा जागिरबाट हटाइएको छ । कम्पनीको आधारभूत मापदण्डअनुसार कर्मचारीहरुबाट सदैव सख्त मर्यादाको अपेक्षा गरिन्छ ।

बिहेपूर्वको यौन सम्पर्क सख्त मर्यादाको विपरीत तथा सही जीवनयापनको विपरीत रहेको ठहर कम्पनीको छ । पछिल्ला पाँच वर्षमा बिहेअगावै सम्भोग गरेको आरोपमा अरु ८ जना कर्मचारीहरुलाई बर्खास्त गरिसकिएको पनि कम्पनीले जनाएको छ । तीमध्ये ५ जना पुरुष थिए ।

बिजनेस इनसाइडरबाट

चर्चामा

सम्बन्धित समाचार