शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बजेट खर्चमा अर्थ मन्त्रालय नै कमजोर

बजेट खर्चमा अर्थ मन्त्रालय नै कमजोर

  • शुक्रबार, चैत्र १३, २०७७
बजेट खर्चमा अर्थ मन्त्रालय नै कमजोर

बजेट खर्च समयमै गर्न अन्य मन्त्रालयलाई भनिरहने अर्थमन्त्रालय आफै बजेट खर्चमा कमजोर देखिएको छ । चालु आर्थिक वर्षको (२०७७/७८) फागुन मसान्तसम्म (आठ महिना) अर्थ र त्यस मातहतका कार्यालयले २७.१८ प्रतिशत बजेट खर्च गरेका छन् ।

यो भनेको ९ अर्ब ४९ करोड रुपैयाँ हो । यस मन्त्रालयलाई चालु आर्थिक वर्षका लागि ३४ अर्ब ९४ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।

मिलेनियम च्यालेन्ज कार्यक्रम अन्तरगतको परियोजना सम्झौताको क्रममा रहेको र सफ्टवेयर तथा अन्य आवश्यक उपकरण पनि खरिदको प्रक्रियामा रहेकोले खर्च कम भएको अर्थमन्त्रालयले जनाएको छ । यस्तै रातमाटे सवस्टेशनको जग्गा प्राप्तिको रकम पनि भुक्तानीकै चरणमा रहेको छ ।

मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालको लागि ९ अर्ब १० करोड ५३ लाख रुपैयाँ बजेट छुट्याएकोमा १ अर्ब ११ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।

विकास साझेदारको खरिद निर्देशिका बमोजिम कार्य दक्षता र क्षमतामा कमी रहेको र आन्तरिक राजस्वतर्फ अन्तःशुल्क स्टिकर खरिदमा खर्च हुन नसक्नु जस्ता कारणले बजेट खर्चमा कमी आएको अर्थमन्त्रालयले भनेको छ ।

समग्र बजेटमा फागुन मसान्तसम्म ५ खर्ब ७१ अर्ब २८ करोड बजेट खर्च भएको छ । यो भनेको कुल बजेटको ३८.७४ प्रतिशत हो ।

गत आर्थिक वर्षको (२०७६/७७) यहि अवधिसम्मको तुलनामा बजेट खर्च ६.१६ प्रतिशतले कम हो । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ अर्ब बजेट बिनियोजन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार