बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लघु कथा-“प्रश्न” थु… कस्तो गन्ध आयो

लघु कथा-“प्रश्न” थु… कस्तो गन्ध आयो

  • शनिबार, फाल्गुन ८, २०७७
लघु कथा-“प्रश्न”  थु… कस्तो गन्ध आयो

थु… कस्तो गन्ध आयो ।
……..,
म केही बोलिन ।
चैत महिनाको टन्टलापुर घाममा पहाडको उकालो बाटो हिड्दै थियौं म र छोरो । पसिनाले निथ्रुक्कै भिजाएको थियो ।
ड्याडी ! हजुरलाई गन्ध आएन ? मलाई त कस्तो गन्धले वाकवाकी लागिसक्यो ।
अँ आएको छ । अगाडी हिडिरहेको छोरोलाई हेरेंर निधारका पसिना पुछ्दै बोले ।
के को गन्ध हो यस्तो ?
गाई गोरु या भैंसी लडेर कुहिएको होला नि !
यो गन्धपनि कस्तो नराम्रो है ड्याडी ? छ वर्ष पुग्न तीन महिना वाँकी छ तर, प्रश्न भने ठुलै मान्छेको जस्तै गर्छ फेरि उत्सुक पनि छ छोरो ।
अँ ! कुहिन्छ किरा पर्छन् यस्तो गर्मी याममा त झन बढी गन्ध आउँछ ।
हामी जति अघि बढ्यौं नाकले सहनै नसक्ने गन्ध लिइरहेको थियो । अब गन्धले नाक आफ्नो बहसमा रहेन । रुमाल समातेर हातले नाक मुख छोपें छोरोले पनि मेरो सिको गर्यो ।
उकालो बाटो सकिएर अलि सोझो बाटो आयो । हामीले थकाइ मार्नुको सट्टा आइरहेको गन्धबाट छिटो छुटकारा पाउनु थियो । अलि पर पुगेपछि बाटो भन्दा चारपाँच मिटर तल तिर स्यालले लुछिरहेको लासमा मेरो नजर गयो । म टक्क रोकिएर हेरें । त्यो लास कुनै नारीको थियो । लामो कपाल यत्रतत्र, घाँटीमा रातो चुंनी, गाढा हरियो रंगको च्यात्तिएको कुर्ता सुरुवाल, आन्द्राभुँडी लुछेर पेटमा पारेको ठूलो भ्वाङ । मेरो मन निकै आत्तियो । कतै यी नारीको कोही नरपिचास नामर्दले अस्मिता लुटेर त हत्या गरेनन् ? कि आत्महत्या गरीन् ? मनभित्र नाना थरी प्रश्न उब्जिन थाले । मैले केही सोच्नै सकिन । त्यो दर्दनाक लास यी आँखाले देखेपछि अघिदेखि निकै गन्ध मान्ने मेरो नाकले कतिखेर गन्ध बिर्स्यो पत्तै भएन ।
मैले पुलिसलाई फोन गरे । एक घन्टा मै पुलिस स्यास्या र फ्याँफ्या गर्दै आइपुगे । मैले लास देखाए । छोरो डरले थुरथुर भयो ।
पुलिससँग कुरो बुझ्दा र यी नारीको हुलिया बुझ्दा तीन दिन अघि आफ्नो केटा साथी भेट्न निस्केकि रहीछन् । यीनको केटा साथी अहिलेसम्म फरार रहेछ ।
पुलिसले मुचुल्का गरेर लास उठाए । म र छोरोले घरको बाटो ततायौं । तर, मेरो मनले मैलाई नै प्रश्न गरिरह्यो यी केटा मान्छे किन यति निष्ठुरी हुन्छन् ? किन हत्यारा हुन्छन् ? र किन बलत्कारी ? यस्ता गल्ती गर्नेलाई समातेर किन सरकारले फाँसी दिदैन ?
निर्मलाको आत्माले न्याय कहिले पाउने अनि हिजो अस्ति अस्ताएकी भागीरथीको आत्माले न्याय पाउने कहिले ? मसँग प्रश्नै प्रश्नको चाङ छ । कसलाई सुनाउ । म जस्ताको प्रश्न सुनिदिने पो को छ ।

चर्चामा

सम्बन्धित समाचार