मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • चीनले जारी गर्‍यो यस्तो सूचना, पुरुषहरुमा मर्दपना हराएकोमा चिन्ता

चीनले जारी गर्‍यो यस्तो सूचना, पुरुषहरुमा मर्दपना हराएकोमा चिन्ता

  • शनिबार, माघ २४, २०७७
चीनले जारी गर्‍यो यस्तो सूचना, पुरुषहरुमा मर्दपना हराएकोमा चिन्ता

चीनको शिक्षा मन्त्रालयको तर्फबाट जारी भएको एक सूचनालाई लिएर चिनियाँहरु खुसी देखिएका छैनन् । उक्त सूचनामा चिनियाँ युवाहरु ‘आइमाई जस्तै बन्दै गएको’ टिप्पणी गरिएकेा छ ।

केही अनलाइन प्रयोगकर्ताहरुले उक्त सूचनालाई यौनभेदी टिप्पणी भन्दै आलोचना गरेका छन् । कतिपयको आरोप यो छ कि यस्तो धारणाका लागि चीनका पुरुष सेलिब्रेटीहरु आंशिकरुपमा जिम्मेवार छन् । चीन सरकारले यस्तो विषयमा चिन्ता व्यक्त गर्दै भनेको छ कि देशका लोकपि्रय पुरुष मोडलहरु सेनाका नायकजस्तै मजबुत तथा हृष्टपुष्ट छैनन् ।

यहाँसम्म कि राष्ट्रपति शी जिनपिङ, जो आफैमा फुटबल खेलाडि पनि हुन्, उनी समेत देशमा राम्रा खेलाडि उत्पादन होउन् भन्ने चाहन्छन् । त्यसैले अघिल्लो हप्ता शिक्षा मन्त्रालयले एक सूचना जारी गर्यो जसमा सरकारको उद्धेश्य प्रष्टरुपमा व्यक्त गरिएको छ ।

किशोरावस्थाका केटाहरुमा ‘केटीजस्तै’ हुने प्रवृत्ति रोक्नका लागि उक्त सूचनामा शारीरिक शिक्षामा सुधार गर्ने कुरा गरिएको छ । त्यसलाई ध्यानमा राख्दै शिक्षकहरुको बहालीलाई समेत दुरुस्त गर्ने विषयमा जोड दिइएको छ ।

सरकारी सूचनामा सन्यास लिइसकेका खेलाडी तथा खेलकूदको पृष्ठभूमिमा रहेका मानिसहरुलाई शिक्षकको रुपमा भर्ना गर्नुपर्ने सल्लाह समेत दिइएको छ । छात्रहरुमा मर्दपना जागृत गराउनका लागि फुटबल जस्ता खेलमा विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

चीनमा मिडियाहरुलाई सामाजिक रुपले जिम्मेवार र नितान्त स्वच्छ छवि भएका स्टारहरुको मात्र समाचार पस्किने इजाजत हुने अवस्थामा सरकारको यस्तो फैसला यस दिशमा अहम कदम मानिएको छ ।

चिनियाँ पुरुषमा महिलाको जस्तो रुझान

अघिल्लो वर्षको मे महिनामा चीनको शीर्ष सल्लाहाकार समितिका प्रतिनिधि सी जेफूले भनेका थिए कि चिनियाँ युवाहरु कमजोर, डरपोक र हीन भावनाले ग्रसित हुँदै गएका छन् । चिनियाँ पुरुषहरुमा महिलाको जस्तो रुझान बढिरहेको उनको दाबी थियो । यदि यस समस्याको उपयुक्त तरिकाबाट समाधान गर्न सकिएन भने त्यसले अन्ततः मुलुकको विकास तथा अस्तित्वलाई नै खतरामा पार्न सक्दछ ।

यसका लागि आंशिक रुपमा घरको माहौललाई समेत जिम्मेवार मानिएको छ किनकी घरमा बच्चाहरुको लालनपालन आमा तथा हजुरआमाहरुले नै गर्ने गर्दछन् ।

उनका अनुसार पुरुष सेलिब्रेटीहरुको बढ्दो क्रेज समेत यसका लागि जिम्मेवार छ । सोही कारणले कैयन् बच्चाहरु अब सेनाको नायक जस्तै बन्न चाहँदैनन् । उनले स्कुलमा छात्रहरुलाई सन्तुलित शिक्षा दिनमा स्कुलहरुले अहम् भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

के युवाहरुलाई डर छ ?

शिक्षा मन्त्रालयको उक्त सूचनालाई लिएर अधिकांस चिनियाँ मानिसहरुको प्रतिक्रिया नकारात्मक रह्यो । हजारौँ चिनियाँहरु सोसल मिडियामा आफ्नो आक्रोस व्यक्त गरिरहेका छन् । धेरैले सरकारको उक्त रबैलाई सेक्सिस्ट भनेका छन् ।

सोसल साइट विबोका एक प्रयोगकर्ताले सोधेका छन्, ‘के महिलाहरु जस्तै हुनु एक अपमानजनक कुरा भैसकेको हो त ?’

उनको उक्त पोष्टलाई दुई लाख मानिसले लाइक गरिसकेका छन् । अर्का एकजना प्रयोगकर्ताले भनेका छन्, ‘केटाहरु पनि मानिस नै हुन् । भावुक हुनु, डराउनु तथा नरम स्वभाव राख्नु यी सबै मानवीय गुण नै हुन् ।’

एक प्रयोगकर्ताले चाहिँ चीनमा महिलाको तुलनामा पुरुषको संख्या ७ करोडले बढि रहेको, दुनियाँमा लैंगिक अनुपातको त्यस्तो असन्तुलन चीनमा सबैभन्दा उच्च रहेको भन्दै सोधेका छन्, ‘के त्यो तथ्य नै मर्दपना देखाउन पर्याप्त छैन ?’

बीबीसीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार