शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सौन्दर्य
  • जाडोमा अनुहार सुन्दर बनाउने जुक्ति

जाडोमा अनुहार सुन्दर बनाउने जुक्ति

  • शनिबार, माघ २४, २०७७
जाडोमा अनुहार सुन्दर बनाउने जुक्ति

अहिले जाडो महिना छ। जाडो मौसममा अनुहारलाई सुन्दर र आकर्षक बनाइराख्न के गर्नुपर्छ ? भन्ने विषयमा यहाँ चर्चा गरिन्छ। जाडो महिनामा बिहान उठ्ने वित्तिकै, नुहाउनुअघि र सुत्ने समयमा अनुहारको छालाको स्याहार विभिन्न तरिकाले गर्न सकिन्छ। सबैभन्दा पहिला बिहान उठ्ने वित्तिकै केके गर्नुपर्छ, यो विषयमा जानकारी गराउँछु।

बिहान उठ्ने वित्तिकै साधारण तरिकाले फेसवास गर्न सकिन्छ। तर जाडो मौसममा बिहान उठ्ने बित्तिकै स्क्रभको प्रयोग गर्नु हुँदैन। किनकी बिहान उठ्दा हाम्रो शरीरको छाला कोमल र मुलायम हुन्छ। बिहानै स्क्रभ गर्दा अनुहारको कोमल छालालाई असर पर्न सक्छ। त्यसैले उठ्ने वित्तिकै साधारण फेसवास मात्र गर्दा हुन्छ। फेसवास गरेपछि टोनरको प्रयोग गर्नुपर्छ।

अनुहारको सौन्दर्य मानिसको स्वास्थ्य अवस्थासँग पनि जोडिएको हुन्छ। त्यसैले सुन्दर छाला तथा अनुहारका लागि बिहानको समयमा दूधचिया वा कफी पिउनुभन्दा तातोपानीमा कागती राखेर पिउनु उपयुक्त हुन्छ। कागती पानीले शरीरलाई स्वस्थ राख्छ। शरीरका भित्री अंगहरु स्वस्थ भएमा शरीरको छाला पनि सुन्दर हुन्छ।

अनुहारलाई सुन्दर र स्वस्थ राख्न बिहानको समयमा सनब्लक वा मोस्चराइजर क्रिमको प्रयोग गर्नु अनिवार्य छ। यसले सूर्यको हानिकारण किरणले तपाईंको छालामा आउने दाग, चायापोतोबाट जोगाउन मद्दत गर्छ। यति गरेर मात्र अनुहार सुन्दर हुन सक्दैन। अनुहारलाई सुन्दर र आकर्षक बनाराख्न नुहाउँदा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

जाडोको समयमा शरीरको छाला एकदमै सुख्खा हुन्छ। त्यसैले नुहाउनुभन्दा अघिल्लो रात नरिवलको तेलले शरीरमा मसाज गर्नु राम्रो हुन्छ। यस्तै सम्भव भएसम्म नुहाउनुभन्दा १ घन्टाअघि बदाम र मख्खनको लेप लगाउनु राम्रो हुन्छ। यस्तै बडी पोलिसिङ प्याक बनाएर पनि लगाउन सकिन्छ। यो प्याक घरमै पनि बनाउन सकिन्छ। यसका लागि ४/५ चम्चा गहुँको पिठो, २ देखि ३ चम्चा बेसनको पिठो, आधा भाग कागती, साढे १ चम्चा बेसार ४ देखि ५ चम्चा नरिवलको तेल, ४ देखि ५ चम्मा बदामको तेल मिक्स गरेर बडी पोलिसिङ गर्न सकिन्छ।

यस्तै सुत्नुअघि पनि अनुहार सफा हुन जरुरी हुन्छ। दिनभरि अफिस वा अन्य काममा जाँदा हामीले मेकअप गरेका हुन्छौं, त्यो मेकअप राम्रोसँग सफा गरेर मात्र सुत्नुपर्ने हुन्छ। त्यसका लागि नरिवलको तेलले मेकअप पुछ्नुपर्छ। नरिवलको तेलले वाटरप्रुफ मेकअपलाई पनि रिमुभ गर्न सक्छ। मेकअप पुछिसकेपछि मह र बेसनलाई मिक्स गरेर फेसवास गर्ने र त्यसपछि टोनर गर्नु उपयुक्त हुन्छ।

(थापा ब्युटिसियन हुन्।) स्वास्थ्य खबर बाट

चर्चामा

सम्बन्धित समाचार