आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • पर्यटन
  • जहाँ प्राचीन कलाको उत्कृष्ट नमूना देख्न पाइन्छ

जहाँ प्राचीन कलाको उत्कृष्ट नमूना देख्न पाइन्छ

  • सोमवार, माघ १२, २०७७
जहाँ प्राचीन कलाको उत्कृष्ट नमूना देख्न पाइन्छ

जुम्लाको सिंजा राज्य इतिहासकालको एक शक्तिशाली राज्यका रूपमा चिनिन्छ।तत्कालीन जुम्ला राज्यको सिंजा उपत्यकाका प्रतापी राजाहरूले राज्य सञ्चालन र बस्ती विस्तार गर्ने क्रममा अहिलेको सुदूरपश्चिमका धेरै ठाउँहरूमा उत्कृष्ट दरबार र बस्ती निर्माण गरे। यस्ता दरबारहरूमध्ये दार्चुला जिल्लाको उकु दरबार र डडेल्धुरा जिल्लाको अजयमेरु दरबार उत्कृष्ट नमूना हुन्।

डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिका वडा नम्बर २ हाँटकोट भन्ने स्थानमा बहुचर्चित अजयमेरु कोट छ। डडेल्धुरा जिल्लाको सदरमुकामबाट पश्चिमतिर दुई घण्टा पैदल बाटो हिँडेपछि तल बस्ती र खेतको बीचमा प्राचीनस्थलको रूपमा अजयमेरुकोट देखिन्छ। यसलाई रणथम्मकोट तथा हाँटकोटको नामले पनि चिनिन्छ। अहिले अजयमेरुकोटसम्म करिब एक घण्टाको सडक पुगिसकेको छ।

बाइसे राज्यकालीन डोटी राज्यको राजधानी अजयमेरुकोट प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार, देबल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष,  पोखरी आदि वास्तुकलाको आकर्षण केन्द्र हो।

इतिहासको पाटोबाट हेर्दा अजयमेरुकोटको स्थापना कसले गर्‍यो भन्ने आधिकारिक दस्तावेज मैले भेटाउन सकेको छैन। एकथरी भनाइ अनुसार कत्युरी राजवंशका राजा अजयपालदेवले ११ औं शताब्दीको सुरुवाततिर यो दरबारको स्थापना गरेका थिए। अजयपालको नामबाट नै अजयमेरुकोटको नामाकरण भएको हो। अजयमेरुकोटको नामाकरणको तथ्यलाई डोटी खोलाको अभिलेखले पनि प्रमाणित गर्दछ।

अर्कोतिर स्थानीय गोरख सेठीजीको डायरीमा अजयमेरूकोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना १३औं शताब्दीमा गरेको कुरा उल्लेख छ भने कसै-कसैले अजयमेरुकोटको स्थापना १३औं शताब्दीको उत्तरार्द्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयपालदेवले वि.सं. १४१९ भन्दा पहिले नै सिंजा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोटको स्थापना गरेको मान्दछन्।

यस कोटलाई केही मान्छेहरू राजा नागी मल्लद्वारा निर्माण गरिएको कोट पनि भन्ने गर्दछन्। तर, वास्तवमा यो कोट कत्युरी वंशजका पाल राजाहरूले नै निर्माण गरेको प्रमाणहरु भेटिन्छन्। रैका राजवंशका नागी मल्लले वि.सं. १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटको रूपमा चिनिन गएको हो। यस ठाउँमा राजा निरय पालदेवका ताम्रपत्र र वि.स.१४१९ सम्मका शिलालेखहरू पाइन्छन्।

वि.स.१४१९ सम्म अजयमेरुकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रको कोट (दरबार) मानिन्थ्यो। वि.सं.१४४१ को अभिलेख रैका राजवंशका नाग मल्लको भेटिएका कारण वि.स.१४४१ पछि नागी (नाग) मल्लको कोट अजयमेरु भनियो। वि.स.१४१९ देखि १४४१ को अवधि (२२ वर्षसम्म)यस कोट वरपर कुनै प्रमाणहरू नभेटिएको कारण यसबीचको अवधिमा कत्युरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मान्न सकिन्छ। इतिहास जति खोज्यो त्यति नै पाइन्छ। सबै इतिहास यहाँ समेट्न गाह्रो हुन्छ। यसको लागि अर्को छुट्टै लेख बनाउँला।

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तुहरू छरिएर रहेका छन्। हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउला भग्न अवस्थामा छन् भने एक नाउला पानी खान प्रयोग भइरहेको छ। यस स्थानका नाउला र निरोली, रिसेडीकोट वरपर रहेका नाउलाहरूको वनौट उस्तै-उस्तै देखिन्छ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई सर्पले बेरेजस्तै गरी गाड (नदी) ले घेरेको छ। तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५/२० मिनेट उकालो उक्लनु पर्दछ। यस कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदारहरूको बस्ने हबेलीहरू भग्नावशेषको रूपमा‌ देखिन्छन्।

दरबारको संरचना सबै भत्केको अवस्थामा छ। बन्ने बेलामा मुख्य दरबार सात तलाको बनेको थियो। यसको सबैभन्दा माथिल्लो तलाबाट  उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो।

यही छेऊतिर राजाका घोडा बाँध्ने स्थान छ। यसलाई स्थानीयहरू ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्दछन्। यास दरबारस्थलको पूर्व-दक्षिणबाट तल गाढ (नदी) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमिनभित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उदेश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सिँढी छ।

यी सबै शिल्पकलाहरू उत्तरी भारतबाट आएका ‘जाड’ जातिका  शिल्पकारहरूले बनाएको हो भन्ने मान्यता छ। जो कत्युरी राजाहरूसँगै यहाँ आएका थिए। भनिन्छ, ती शिल्पकारहरु ठूला-ठूला ज्यान  भएका भयङ्कर हट्टाकट्टा थिए। स्थानीयका अनुसार केही वर्ष अगाडि खेतको बिचोबीच ती ‘जाड’ जातिका शिल्पकारमध्ये कसै एक जनाको पुरानो गाडिएको अस्थिपञ्जर भेटिएको थियो रे। जसको खुट्टाको नलिहाडमा मात्रै  ७ माना कोदो अटाएको थियो। यो कोट बनाउँदा अमरगढी नगरपालिका अन्तर्गत सुनेडा भन्ने स्थानबाट तलिगाँ भन्ने ठाउँमा जाने बाटोको दक्षिणतर्फ रहेको ‘हिराखानी’ भन्ने स्थानबाट ढुङ्गा ल्याएर बनाएको भनिन्छ।

कोटस्थलदेखि तल गाडका किनारमा दरबारका मान्छेहरूको बैठकस्थल छ। यसलाई स्थानीयहरू ‘ओखडेकी माँडौ’ भन्ने गर्दछन्। गाडको केहीमाथि चेतराम नाथको घर नजिक दुई वटा देवल छन्। चेतराम नाथको घर तल वैलवाटा भन्ने खेतको नाम करपुटार खेत हो। यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउलाहरू छन्।

यी तीन नाउलामध्ये एक नाउलामा खेतमा रोपाइँ भइरहेको अवस्थामा बल्लहरू जुवा र मोहीसहित आएर पानी खाँदा त्यहीँ डुबे भन्ने किवदन्ती रहेको  छ। यस करपुटार खेतको गाडतर्फ खेतको किनारमा भैरौँ (भैरव) देवताको थान(स्थान) छ। यो भैरौं देवता तिनै जाड शिल्पकारका पालामा स्थापना गरिएको हो। यहाँ श्रीवेताल, र समैजी देवता पनि छन्। अजैमरुकोट भएको माटो वेताल देवताको हो। अजैमरुकोटको दक्षिणतर्फ गाडदेखि पारि खजानाकोट छ।

कोटस्थलको एक किनारमा नागी मल्लद्वारा धामी नचाउने र तल गाड (नदी)मा फाल्ने ढुंङ्गाको खलो छ। दरबार रहेको स्थानदेखि केही वर डाँडामा एक चाक्लो ढुङ्गा छ। त्यसमा निगालाको मोट्टो राख्ने र त्यसमाथि धेरै संख्यामा कालिगेडा (रिठाका भित्र रहेका कालाकाला दानाहरू) राख्ने गरिन्थ्यो। यी कालिगेडामाथि काँसको थाल राखेर त्यो माथि धामी बसेर नाच्नु पर्ने हुन्थ्यो। यसरी नाच्दा त्यो बसेको स्थान गाडीको चक्का हिँडे जस्तै यताउता सर्ने र बसेको मान्छे धामी काँप्दा पहरोमा खसेर मर्ने गर्दर्थे। यस प्रकार धेरै देवताका धामीहरू मरेका थिए। यही क्रममा वेताल देवताको पालो आए छ।

श्री बेताल देवताको धामी बोहरा थरका व्यक्ति थिए। ती बुढा थिए, तिनलाई बेतालको धामी आयो। बेताल देवताको शक्तिले त्यहाँका सबै ढुङ्गा, मोट्टो, कालिगेडा र थालीलाई जाम गरिदियो र यसै समयबाट नागी मल्लले धामी लाई पैरोमा लोटाएर मार्ने काम रोकियो भन्ने छ। पछि यस्तै प्रकारको शक्ति समैजी, भागेश्वर, घटाल र उग्रताराका धामी काम्दा पनि देखियो भनिन्छ।

अजयमेरुको परिचयसँगै राजा नागि मल्लको व्यक्तिगत इतिहासले थप रोचकता बढाउँदछ। नागी मल्लको वंशज र पूर्व इतिहासको बारेमा अर्को पाटोमा चर्चा गरौंला। विशेषगरी अजयमेरुकोटमा नागि मल्लको छाप गहिरो रुपमा परेको पाइन्छ। कत्युरी राजवंशका पाल राजाहरूको प्रभुत्व समाप्त गरिसकेपछि आफ्नो राज्यकालमा यस क्षेत्रमा नागी मल्लले ठूलो क्रुरता देखाएको र भ्रष्ट राजाको रुपमा आफूलाई चिनाएको पाइन्छ।

देवीदेवताहरूमाथि आफ्नो बस चलाउन खोज्ने, यस क्षेत्रका देवताहरूभन्दा ठूलो म हुँ भनी देवी देवताहरूको अपमान गर्ने, देवी देवतालाई चढाइने अंश सर्वप्रथम आफूलाई चढाउन लगाउने, प्रजाहरूलाई देवताको पूजा गर्न नदिने, मन्दिर मूर्तिहरू तोड्न लगाउने, देवताका धामीहरूको अपमान गर्ने,  भिरको टुप्पोमा धामी काम्न लगाउने र खसालेर गाड (नदीमा) फाल्ने अनि मार्ने, इन्द्रजालद्वारा सबै देवताहरूलाई बसमा पार्न खोज्ने, राज्यका चेलिबेटीमाथि करणी गर्ने, कसैले नवविवाह गरेमा पहिलो रात आफू भोग गर्नेजस्ता कुकर्महरू गरी प्रजालाई दु:ख दिएको पाइन्छ। नागी मल्लले १४४१ देखि १४५० सम्म जम्मा ९ वर्ष शासन गरेको देखिन्छ। देवीदेवताहरूमाथि धेरै ज्यादती गरिसकेपछि शासनको अन्त्यतिर यो क्षेत्रका ठूला देवताहरू भागेश्वर, बेताल, समैजी, उग्रतारा आदिको श्राप लागेर नागी मल्लले ठूलो दु:ख पाएको किम्बदन्ती छ।

खाना खाए चामलको किरा भैदिने,  दुध रगत भइदिने, राति सुत्नेबेला खटिया उल्टा फर्किदिने, दरबार हल्लिने र शरीर पूरै कुष्ठरोगले ग्रसित भएको भनिन्छ। खासगरी यो‌ सब प्रक्रिया  भागेश्वर देवताकी बहिनी डागेश्वरीदेवीको अपमानपछि उनले भागेश्वर देवतालाई गुनासो गरिसकेपछि सुरू भएको हो भनिन्छ। त्यसपश्चात नागि मल्लले तत्काल देवी डागेश्वरीको मन्दिर निर्माण गर्न परेको किम्बदन्ती छ। आफूलाई सन्चो होस् भनेर अन्तिमतिर सबै देवीदेवताका मन्दिर बनाउने, घण्टा चढाउने, देउकी चढाउने आदि विकासका कामहरू गरेको देखिन्छ।

अन्यमा नागि मल्लको ज्यादती र प्रभुत्व चन्द राजवंशका  कुल्लेककोटका महाराजा रन्धौलाद्वारा समाप्त भएको चन्द वंशको इतिहासमा उल्लेख छ। अजयमेरूबाट नागी मल्लको प्रभुत्व समाप्त भइसकेपछि यस स्थानलाई केन्द्र मानेर कसैले पनि राज्य गरेको देखिँदैन। आफ्नो प्रभुत्व समाप्त भएपछि राजा नागी मल्ल बझाङ राज्यमा सरण लिन पुगेको देखिन्छ।   जसको प्रमाण बझाङमा भएका हालका नागि मल्लका सन्तानहरू हुन्। तर, स्थानीय गोरख सेठी नागि मल्लको विवाहिता रानीपट्टीबाट आफ्नो कुनै सन्तान नभएको बताउनुहुन्छ।  विवाहिता रानीबाट कुनै सन्तान नभएको तर नोकरानी र रखैलपट्टीका सन्तानहरू डडेल्धुरा गुनपालको धामीगाउँमा र बझाङको बुंगललगायतका गाउँमा  रहेको जानकारीमा आउँछ।

उनको विवाहिता रानीपट्टीबाट एउटा छोरी रहेको र उनकाे विवाह भारतको रुपेडिया नजिकका जाटकुमारसँग भएको  मानिन्छ। उनका सन्तान अहिले रुपेडियाकै आसपास भेटिन्छन्।

यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनको लागि प्रसिद्ध छ। प्राय: पर्यटकहरू यस दरबारको अवलोकन  गर्न,  वैशाख, जेठ महिनामा आउँदछन्। त्यसैगरी, यहाँ पुरातात्विक उत्खनन र अध्ययनको लागि पनि विज्ञहरू आउँदछन्। यस स्थलमा वार्षिक सरदर ८-९ हजार मानिसहरूले भ्रमण गर्दछन्। ती भ्रमण गर्ने मानिसहरू नेपालको ७७ जिल्लाहरू र भारतबाट समेत आउँदछन्। यस कोटको खास विशेषताहरूमध्ये विशाल चट्टानमाथि करिब ५ रोपनीको थुंकोमा रहेको किल्लाको अवशेष तिनतिर मजारगाड (खोला)ले घेरिएको मध्यकालीन किल्ला र वास्तुकलाको महत्वपूर्ण रुप हुन्।

सम्पदाहरू नै नलेखिएको इतिहासका खुला किताब हुन्।  इतिहासका धरोहरहरूको संरक्षण र प्रवर्द्धनले नै पर्यटन विकास सम्भव छ र नेपालको सन्दर्भमा पर्यटनको विकासले मात्रै तीब्र आर्थिक समृद्धि सम्भव छ। हाम्रो यस सुदूरपश्चिम क्षेत्रको गौरवमय इतिहास बोकेका यस्ता धरोहरहरूको संरक्षण तथा प्रवर्द्वन हाम्रा लागि आजको मुख्य चुनौतीको विषय हो।

अजयमेरू क्षेत्रको अवलोकन र अध्ययन गर्दा राष्ट्रिय सम्पदाको सूद्बीको अग्रपंक्तिमा यसको नाम हुनुपर्ने देखिन्छ तर अजयमेरुदेखि अझै सबै अनभिज्ञ नै देखिन्छन्। देश तथा विदेशमा अजयमेरुको बारेमा जानकारी गराउनको लागि यहाँको स्थानीय सरकारले चासो र सक्रियता देखाउनु पर्दछ। विशेषगरी युवापिंढी यसतर्फ ध्यानाकर्षण गर्नुपर्ने र विकासमा खटिनुपर्छ। यस क्षेत्रको बढी भन्दा बढी प्रचार-प्रसार र प्रवर्द्वन गर्नु पर्दछ।

यस क्षेत्रलाई सुदूरपश्चिमको मात्र नभई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ। पुरातत्व विभागद्वारा यस क्षेत्रको शीघ्र उत्खनन् गराउनु पर्दछ। भग्न अवस्थामा रहेका धरोहरहरूको पुनर्निर्माण र सम्वर्द्धन गर्न मुख्यतया स्थानीय तह नै सक्रिय हुनुपर्दछ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यस्ता पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने संघ-संगठनहरूलाई यसको जिम्मेवारी दिनु पर्दछ। पहाडका कुना कन्दारामा लुकेर रहेका यस्ता सम्पदाहरूको संरक्षण हुनु र ऐतिहासिक  क्षेत्रकाे प्रवर्द्धन भई पर्यटनमा विकास हुनु भनेको पहाडी जिल्लामा आर्थिक विकास र अर्थतन्त्रमा सहजीकरण हुनु हो, यहाँको व्यापार व्यवसायमा वृद्धि हुनु हो। यस क्षेत्रको पर्यटन विकासमा यहाँकै स्थानीको प्रमुख भुमिका रहन्छ। यस ठाउँको अवलोकन गर्न आउने पर्यटकहरूको उचित स्वागत सत्कार गरी उपयुक्त खान बस्नको व्यवस्था गरिदिने र अजयमेरुकोटको सम्पूर्ण जानकारीसहित सम्पदाहरूको अवलोकन गराइदिने सहयोगीको भूमिका निभाउनु स्थानीयको दायित्व हो।

सदरमुकामदेखि अजयमेरूकोट सम्मको यातायातको व्यवस्था हुनु पर्दछ। आउने पर्यटकहरूलाई सभ्य व्यवहार देखाउनु पर्दछ। यस क्षेत्रको रहनसहन, भाषा, कला, संस्कृति र असल सभ्यता, चाडपर्व आदिका बारेमा जानकारी दिनु पर्दछ। सेताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार