शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ५० वर्षपछि निकालियो नाकमा अड्किएको सिक्का

५० वर्षपछि निकालियो नाकमा अड्किएको सिक्का

  • बिहिबार, पुस ९, २०७७
५० वर्षपछि निकालियो नाकमा अड्किएको सिक्का

रसियामा एकजना मानिसको नाकभित्र अड्किएको सिक्का झण्डै ५० वर्षपछि मात्र निकालिएको छ ।

नाम नखुलाइएका ती व्यक्तिको उमेर ५९ वर्षको छ । उनी केवल ६ वर्षको हुँदा उनको नाकको दायाँ प्वालमा सिक्का छिरेको थियो । सिक्का खेलाइरहेको बेला नाकको प्वालमा छिरेपछि उनी आत्तिए । तर आमा निकै कडा रहेको कारण कुटाइ खाइन्छ भन्ने डरले उनले आमालाई त्यो कुरा लुकाए ।

नाकको प्वालमा छिरेको सानो सिक्काले खासै असर नगरेको हुँदा पछि उनले उक्त कुरा बिर्सिएछन् । पछिल्ला ५० वर्षसम्म उनी नाकभित्र सिक्का लिएर बाँचे । उनलाई कुनै अप्ठेरो महसूस भएन । तर पछिल्लो केही समयदेखि उनले नाकको दायाँ प्वाल दुख्न थाल्यो र त्यो प्वालबाट स्वास फेर्न कठिन भयो । प्वाल पूरै थुनिएपछि उनी अस्पतालमा गए ।

नाकको चेकजाँच गर्दा प्वालभित्र कुनै अनौठो बाह्य वस्तु रहेको डाक्टरहरुले पत्ता लगाए । यति लामो समयसम्म नाकको प्वालभित्र अड्किएर रहँदा उक्त सिक्काको बाहिर भागमा पूरै पत्थर बनेको रहेछ । त्यसलाई चिकित्सा भाषामा राइनोलिथ भनिन्छ ।

डाक्टरहरुले इन्डोस्कोपिक सर्जरी गरेर उनको नाकमा रहेको पथ्थरी परेको सिक्का निकालेका छन् । उक्त सिक्का सोभियतकालीन एक कोपेक मुद्राको सिक्का हो ।
त्यसबेला १ सेन्ट बराबरको मूल्य थियो उक्त सिक्काको । सो मुद्रा सोभियत संघको विघठनपछि सन् १९९१ मा रुसले प्रयोग गर्न छाडेको थियो । गत शुक्रबार ती व्यक्तिको शल्यक्रिया भएको र उनी स्वास्थ्य लाभ गरेर सोमबार घर फर्केको बताइएको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार