शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • ‘खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्छ’

‘खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्छ’

  • शनिबार, मंसिर २०, २०७७
‘खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘खोपहरू वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रूपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्छ।’

खोपसम्बन्धी सुखद समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रूपमा देखा परेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा भइरहेको पहलकदमीको हामी सराहना गर्छौं।’ उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए।

सम्पूर्ण मानवजगत् संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने प्रधानमन्त्रीले सम्बोधनमा भने। ‘उचित पुन:स्थापना र असल पुनर्निर्माणका योजना बनाउँदै गर्दा हाम्रा प्रयास एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूल हुनुपर्छ’, उनले भने, ‘हामीले स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली, पूर्वाधार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्छ।’ उनले यस सन्दर्भमा भएका राष्ट्रिय प्रयत्न अन्तर्राष्ट्रिय सहयोगका परिपूरकका रूपमा रहनुपर्ने बताए।

वर्तमान संकटबाट जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग प्रधानमन्त्रीले गरेका छन्। उनले मानव सभ्यताले सधैं विनाशकारी चुनौती सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको पनि बताए। प्रधानमन्त्री ओलीले महामारी अन्तर्राष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रूपमा प्रयोग गरिनु नहुने बताए। विशेष परिस्थितिमा रहेका राष्ट्रहरूलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकट सामना गर्न बृहत् सहयोगको खाँचो रहेको उनले बताए। सम्बोधनमा संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपालले संयुक्त राष्ट्रसंघ तथा विशेषत: विश्व स्वास्थ्य संगठनको सराहना गरेको पनि उनले बताए। चुनौती सामना गर्दै गर्दा हामीलाई विद्यमान संकट निवारण गर्न एउटा दरिलो विश्वव्यापी सम्बोधन आवश्यक रहेको प्रधानमन्त्री ओलीले जनाए।

महामारीले एउटा अमूल्य शिक्षा प्रदान गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो संसार एउटा सानो जहाज हो र हामी सबै यसका यात्री। हामीलाई मन परोस् वा नपरोस्, हामी एउटै भाग्यका हिस्सेदार हौं।’ पहिल्यै अडियो भिडियोसहित पठाइएको सम्बोधन बिहीबार राति आएको थियो। विशेष महासभामा सम्बोधनका लागि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल गठन गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार