बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • समयमै उपचार नपाउँदा अछाममा सुत्केरी महिलाको मृत्यु

समयमै उपचार नपाउँदा अछाममा सुत्केरी महिलाको मृत्यु

  • मङ्लबार, मंसिर १६, २०७७
समयमै उपचार नपाउँदा अछाममा सुत्केरी महिलाको मृत्यु

अछाम — अछामको तुर्माखाँद गाउँपालिकाकी एक सुत्केरी महिलाको सोमबार राति मृत्यु भएको छ । उनको उच्च रक्तस्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालका डा. अतुल भारद्वाजका अनुसार तुर्माखाँद गाउँपालिका-४ नाडाकी ३८ वर्षीया नामसरा विक सोमबार दिउँसो व्यथा लागेको र रक्तस्राव भएको भन्दै तुर्माखाँद स्वास्थ्य चौकी पुगेकी थिइन् । अवस्था गम्भीर भएका कारण स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि उनलाई दिउँसो साढे ४ बजे जिल्ला अस्पताल रिफर गरिएको थियो । ‘ती महिलालाई तुर्माखाँदबाट मंगलसेन पुर्‍याउनै ६ घण्टा लाग्यो । त्यतिन्जेल रगत अत्यधिक बगिसकेको थियो । साँझ करिब १० बजेतिर जिल्ला अस्पताल पुर्‍याइएको थियो,’ डा. भारद्वाजले भने, ‘अस्पताल पुग्दा उनको अवस्था गम्भीर थियो । हामीले नर्मल डेलिभरी नै गरेका हौं । बच्चा पेटमै मरिसकेको थियो ।’
रात १२ बजे उनले बच्चा जन्माएको र त्यसको केही समयपछि उच्च रक्तस्रावका कारण मृत्यु भएको उनले बताए । ‘सुत्केरी भइसकेपछि हामी ब्लड दिने तयारीमा थियौं । अनेक प्रयास गर्दा पनि महिलालाई बचाउन सकिएन,’ उनले भने, ‘शिशु जन्मेको केही समयपछि उनको मृत्यु भयो ।’ परिवारका अनुसार नामसराका यसअघि ३ छोरा र २ छोरी छन् । छैटौं शिशुलाई जन्म दिने क्रममा उनको मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार