शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • सगरमाथाको उचाइ बढ्यो

सगरमाथाको उचाइ बढ्यो

  • बिहिबार, मंसिर ११, २०७७
सगरमाथाको उचाइ बढ्यो

सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव पेश गरेकी थिइन् । मन्त्रालयको प्रस्ताव बैठकको लिखित कार्यसूचीमा राखिएकोे थिएन ।

क्याबिनेटले ठाडो प्रस्तावका आधारमा उचाइ घोषणा गर्न स्वीकृति दिइएको छ । यद्यपि सगरमाथाको उचाइ कति छ भन्ने मन्त्रीहरुलाई समेत जानकारी दिइएको छैन ।

स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले अहिले सार्वजनिक नगरिएको हो ।

अधिकारीहरुका अनुसार चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुनसक्छ । मन्त्रालयले पनि केहीदिनमै औपचारिक कार्यक्रममार्फत सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने बताए ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो ।

सगरमाथाको उचाई मापन कार्य आर्थिक वर्ष ०७५/०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाई मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर क्याबिनेटले उचाई सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको हो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार