बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • नबोली नबोलीः ‘साढे २ लाख लगानी, ८ लाख आम्दानी’

नबोली नबोलीः ‘साढे २ लाख लगानी, ८ लाख आम्दानी’

  • मङ्लबार, मंसिर ९, २०७७
नबोली नबोलीः ‘साढे २ लाख लगानी, ८ लाख आम्दानी’

संगीतकार अर्जुन पोखरेल प्रेमिला गीतहरु बनाउन माहिर छन् । विशेषगरि, चलचित्रका लागि उनले तयार पारेका गीतहरुले दर्शकको मन जितेका छन् । उनले, तयार पारेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरी’ लोकप्रिय बनेको छ ।

लकडाउनपछि चलचित्रको बजार शुन्य छ । नयाँ चलचित्रका गीत सार्वजनिक भएका छैनन् । अर्जुनको व्यस्तता भने घटेको छैन । उनले चलचित्रका लागि गीत तयार पार्न नपाएपनि म्यूजिक भिडियोका लागि गीत भने प्रशस्तै तयार पारेका छन् ।

तर, अर्जुनले तयार पारेका गीतहरुले उनको हिट ब्रान्डलाई निरन्तरता दिन नसकिरहेको समयमा ‘नबोली नबोली’ले उनलाई खुशी दियो । सार्वजनिक भएको २ महिनामा यो गीतलाई १ करोड भन्दा बढी पटक हेरिएको छ । गीतलाई १ करोड पटक हेर्नु मात्र सफलता होइन । ‘नबोली नबोली’ले गाउँदेखि शहरसम्मका श्रोताको मन जितेको छ । यसकारणले पनि अर्जुनले आफ्नो श्रृजनामा गर्व गर्न सक्छन् ।

१ लाख १६ हजार लाइक बटुलेको गीतमा ६ हजार ६ सय प्रतिक्रिया आएका छन् । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने प्रविन भेडवाल र समिक्षा अधिकारीको स्वर छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो गीतलाई अर्जुन आफैले निर्माण गरेका हुन् । उनको ‘दि डिभाइन म्यूजिक’ नामक युटुब च्यानलबाट गीत अपलोड भएको छ ।

नाफा कमाउँदा खुशी
गीतले भ्यूज बटुल्दैमा नाफा कमाउँछ भन्ने छैन । अर्जुनले पनि निर्माण गरेका केही गीतले भ्यूज अनुसारको आम्दानी दिएका छैनन् । अर्जुन भन्छन्–‘गीत धेरै पटक हेरिदैमा पैसा पनि धेरै आउँछ भन्ने होइन । मैले बनाएका केही गीतहरु १ करोड भ्यूज जाँदा पनि एक लाख आम्दानी युटुबबाट भएको अनुभव मसँग छ । तर, यो गीतलाई दर्शकले धेरै पटक मात्र होइन धेरै मिनेट पनि हेरिदिनुभएको छ । यसैले, यसले राम्रो कमाई गरेको हो ।’

अर्जुनका अनुसार, यो गीतमा उनले आफ्नो पारिश्रमिक नजोड्दा साढे २ लाख हारहारीको लगानी गरेका छन् । गीतको अडियो र भिडियो साढे २ लाखमा तयार पारेका अर्जुनका अनुसार, गीतको भिडियोलाई १ करोड पटक हेरिदा युटुबबाट ८ लाख आम्दानी भएको छ । अर्जुन भन्छन्–‘गीतको भ्यूज अझै दैनिक १ लाख भन्दा बढी गैरहेको छ । यसैले, यसको आम्दानी अझै बढ्छ ।’

साढे २ लाख लगानीमा तयार भएको गीतले ८ लाख आम्दानी गर्दा अर्जुनलाई ठूलो राहत मिलेको छ ।

अडियो हिट भएपछि चल्यो गीत
गीतको अडियो कमजोर बनाएर महंगा कलाकार राखेर भिडियो बनाउने चलन बढ्दै गएको छ । कलाकारलाई १ लाख भन्दा बढी पारिश्रमिक दिने तर अडियो फितलो बनाउँदा धेरै निर्माता डुबेका छन् । अर्जुन भन्छन्–‘यो गीत चल्नुमा अडियो नै बलियो हो । भिडियो विधान कार्कीले राम्रो बनाइदिनुभएको छ, तर अडियो बलियो भएर गीत चलेको हो ।’ २४ घन्टामा करिब ३ लाख पटक हेरिएको यो गीत २ महिनामा १ करोड पटक हेरिनुको पछाडि अडियो लोकप्रिय बन्नु नै प्रमुख कारण हो ।

लगानीकर्ता डराएपछि आफै निर्माता बने अर्जुन
संगीतकार अर्जुन पोखरेलले यो गीत अरु केही निर्मातालाई पनि सुनाएका थिए । तर, यो गीतमा लगानी गर्न अरुले आनाकानी गरेपछि अर्जुन आफै अघि सरेका थिए । अर्जुन भन्छन्–‘अडियो बनाउँदा नै मलाई यो गीत हिट हुन्छ भन्ने लागेको थियो । भिडियो छायांकनको दिनमा पनि मैले गीत हिट हुन्छ भनेर भनेको थिएँ । यो गीतले प्रेमको भावनलाई साधारण भाषामा व्यक्त गरेको छ । यस्तो भाषालाई दर्शकले मन पराउनुभएको छ ।’

अर्जुनका अनुसार, उनी ३ वटा गीत चाडै नै सार्वजनिक गर्ने तयारीमा छन् । जसलाई केही निर्माताले पत्याएका छैनन् । तर, ती गीतहरुलाई श्रोतले मन पराउने विश्वास उनको छ ।

चर्चामा

सम्बन्धित समाचार