बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • तिहारमा कस्तो खानपिन गर्ने? यस्ता छन् पोषणविद्का सुझाव

तिहारमा कस्तो खानपिन गर्ने? यस्ता छन् पोषणविद्का सुझाव

  • आइतवार, कार्तिक ३०, २०७७
तिहारमा कस्तो खानपिन गर्ने? यस्ता छन् पोषणविद्का सुझाव

काठमाडौं– चाडपर्वमा धेरैको रोजाइ माछा–मासु अनि मिठाइजन्य परिकारमै हुने गर्छ। त्यसमा पनि चिल्लो र मसालेदार परिकारले सबैको जिब्रो लोभ्याउँछ।

तिहारमा धेरैको खानपिन भनेको सेलरोटी, मासु र मिठाइजन्य परिकार नै हुन्छ। मिठो र स्वादिलो खानेकुराले चाडपर्वलाई रमाइलो त बनाउँछ, तर खानपिनमा ध्यान नदिँदा स्वास्थ्यमा भने असर गर्न सक्छ।

पोषणविद् कविता महर्जनर चाडपर्वमा झन् खानपिनमा ध्यान दिनुपर्ने बताउँछिन्। उनी भन्छिन्, ‘कुन खानेकुरा कसरी खाँदैछौं, केसँग खाँदैछौं, कति मात्रामा खाँदैछौं भनेर विशेष ध्यान दिनुपर्छ।’

शरीरको आवश्यकताका अनुसार मात्रा मिलाएर मात्र खानेकुरा खानुपर्ने उनी बताउँछिन्। कृत्रिम गुलियो र विभिन्न रङ मिसाएर मिठाइजन्य परिकार बनाउने चलन बढ्दै गएको छ। हेर्दा आकर्षक र जिब्रोका लागि स्वादिलो भए पनि त्यसले स्वास्थ्यमा भने असर पुग्ने उनले बताइन्।

मिठाइलाई गुलियो र आकर्षक बनाउन तथा लामो समयसम्म ताजा राख्न विभिन्न रङ तथा हानिकारक पदार्थको प्रयोग गरिन्छ। मिठाइ तथा अन्य गुलिया परिकार न्यून गुणस्तर र मिसावट धेरै हुने भएकाले सकेसम्म घरमै बनाएर खान उनको सुझाव छ।

उनले भनिन्, ‘तिहारमा मिठाइ मनपर्छ भन्दैमा मिठाइ, मासु अनि सेलरोटी मात्र खाने गर्छौं। त्यसो गर्नु भएन। सबैको मात्रा मिलाएर खानुपर्छ।’

चाडपर्वमा शारीरिक सक्रियतामा कमी हुने र धेरै खाने भएकाले अपचको समस्या समेत बढ्न सक्ने उनले बताइन्। उनका अनुसार खानपानमा ध्यान नदिएको अवस्थामा शरीरको तौल बढ्ने, अपच हुने, कोलेस्ट्रोल बढ्ने समस्या हुन्छ। दीर्घरोगीहरु छन् भने मधुमेहका बिरामीको सुगर लेभल बढ्ने, रक्तचापको समस्या बढ्ने लगायत समस्या आउन सक्ने उनले बताइन्।

शरीरमा बोसोको मात्रा बढे विभिन्न स्वास्थ्य समस्या निम्तन सक्ने उनी बताउँछिन्। चाडपर्वमा हुने खानपिनमा ध्यान दिनै पर्नेमा उनको जोड छ।

‘चाडपर्वमा बन्ने परिकारहरु नखाऔं भन्न मिल्दैन। तर हामीले शरीरको आवश्यकता अनुसार मात्रालाई ध्यान दिएर खानैपर्छ,’ उनले भनिन्।

उनी थप्छिन्, ‘घरमा सेलरोटी बनेको छ भने बिहान, दिउँसो, बेलुकी सेलरोटी मात्र खानु भएन। शरीरमा एउटै मात्र पोषणतत्व जान्छ। यसबाट हामीले कार्बोहाइड्रेट मात्र पाउँछौं। तर शरीरलाई चाहिने अन्य प्रोटिन लगायत आवश्यक पोषणतत्व पाउन सक्दैनौं।’

खानेकुरामा गेडागुडी, हरिया सागसब्जी मिसाएर खान उनी सुझाव दिन्छिन्। उनका अनुसार कुनै पनि खानेकुरा खानै नहुने भन्ने हुँदैन। आवश्यकता, पोषणतत्व, मात्रालाई ध्यान दिन सक्यौं भने चाडपर्वलाई रमाइलोका साथ मनाउन सकिने उनको भनाइ छ।

कमला गुरुङ

डा अनिल श्रेष्ठको तिहार अनुभव : चाउचाउका भरमा ड्युटी गरेको छु
चाडपर्वले नछोएका चिकित्सक
देउसी–भैलोले बढाउन सक्छ कोरोना संक्रमणको जोखिम
गम्भीर लक्षण भएका कोरोना संक्रमित पनि होम आइसोलेसनमा
शुक्रराज अस्पतालमा पिसिआर गराउनेमध्ये ५१ प्रतिशतमा ३० बढी सिटी भ्यालु
दसैंमा कोभिडको उपचार हुने अस्पतालमा कर्मचारीको ड्युटी कसरी मिलाइएको छ?
चाडपर्वमा बालबालिकालाई कसरी खुसी बनाउने ?
अस्पतालमा भर्ना हुने अधिकांश कोरोना संक्रमितलाई अक्सिजन थेरापीको आवश्यकता
कोरोना संक्रमितले उपचारका लागि कति शुल्क तिर्नुपर्छ?
दसैंमा मनोरञ्जन : तास र पिङले बढाउँछ, कोरोनाको जोखिम

चर्चामा

सम्बन्धित समाचार