शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • रोजगारी गुमेर बाजुरा फर्किएकाको बिचल्ली : खान अन्न न बस्ने घर

रोजगारी गुमेर बाजुरा फर्किएकाको बिचल्ली : खान अन्न न बस्ने घर

कोभिड-१९ का कारण भारतमा रोजगारी गुमाएर बाजुरा फर्केका मजदूरले खान, बस्न र औषधि उपचार गर्न मात्र होइन, मृत्यु संस्कारका लागि सामान्य खर्च जोहो गर्न नसकेर भौंतारिनु परेको छ ।

  • बुधबार, भदौ १०, २०७७
रोजगारी गुमेर बाजुरा फर्किएकाको बिचल्ली : खान अन्न न बस्ने घर

प्रकाश सिंह/खोज पत्रकारिता केन्द्र — बाजुराको त्रिवेणी नगरपालिका-८ झालगाउँका धर्म सार्की २० वर्ष अघिदेखि सपरिवार भारतमा बस्दै आएका थिए । पछिल्लो समय भारतको दिल्लीस्थित करोलवागमा काम गरिरहेका धर्म पत्नी र छोरीसहित कोभिड-१९ को संकट शुरू भएपछि ४ वैशाख २०७७ मा नेपाल फर्किए । भारतमा काम गरेर दैनिक गुजारा गरिरहेका उनले अचानक नेपाल फर्किनु पर्ला भन्ने कल्पना समेत गरेका थिएनन् ।


बाजुरा फर्केका धर्मको गाउँमा न जग्गा छ, न घर । उनी परिवार सहित अहिले अरूको घरमा बसिरहेका छन् । गाउँ पुगेर धर्म सपरिवार १६ दिन क्वारेन्टाइनमा बसे । त्यसपछि उनी खाने-बस्ने समस्या झेलिरहेका छन् । धर्म भन्छन्, “भएको घर जग्गा पहिला नै बेचें, अहिले बिचल्ली छ । मसँग एक रुपैयाँ छैन । गाउँलेसँग सहयोग मागेर पेट पालिरहेको छु । यसरी कति दिन चल्ला र ?”
त्रिवेणी नगरपालिकाले कोरोना प्रभावितलाई राहत वितरण गर्ने सूचना धर्म र उनको परिवारले सुने पनि अहिलेसम्म राहत पाएका छैनन् । धर्म भन्छन्, “राहत आउँछ भन्ने सुनेका थियौं, तर हामीलाई एक दाना चामल पनि दिइएको छैन । काम छैन, अब कोरोनाले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको छ ।” जनप्रतिनिधि र स्थानीय सरकारले आफ्नो पीडा नसुनेको धर्मको दुःखेसो छ ।
वडा नम्बर ८ का वडाध्यक्ष भीमबहादुर थापा भन्छन्, “शुरूमा राहत वितरण गरियो । त्यसबेला भारतबाट आएकामध्ये कोही क्वारेन्टाइनमा थिए, कोही आउने क्रममा । नगरको बजेट क्वारेन्टाइन र कोरोना नियन्त्रणमा खर्च भएकोले भारतबाट फर्केकालाई सहयोग गर्न सकिएको छैन ।”
भारतमा रोजगारी गुमाएर बाजुरा फर्किनेहरू अहिले गाउँ पिच्छे भेटिन्छन् । बूढीनन्दा नगरपालिका-२ कोल्टीका अम्बिका कार्कीको परिवार पनि ६ वर्षपछि भारतबाट फर्केको छ । अम्बिका कार्की र उनका पति गंग कार्की भारतमा मजदूरी गर्थे । उनीहरू ६ जना छोराछोरी सहित भारतको दिल्लीमा बस्थे । आमाको बाजुरामा मृत्यु भएकाले काजकिरिया गर्न गंग २ फागुन २०७६ मा नेपाल आएका थिए । आमाको काजकिरिया सकेर उनी १२ चैतमा भारत फर्किंदा नेपालगञ्जमै लकडाउनमा परे ।
उता भारतमा रोजगारी गुमेपछि अम्बिका छोराछोरी लिएर नेपालगञ्ज आइन् । अम्बिकाको परिवार लकडाउनमा परेपछि नेपालगञ्जमा डेरा लिएर बस्न थाले । विडम्बना दुई महीनापछि १४ जेठमा भाडामा बसेको घरको छतबाट लडेर गंगको मृत्युु भयो भने अम्बिका र उनका छोराछोरीको बिचल्ली । त्यसपछि उनी छोराछोरी लिएर बाजुरा फर्किन् ।
बाजुराको जनप्रकाश माध्यमिक विद्यालयमा २४ दिन क्वारेन्टाइनमा बसेर गाउँ गएकी अम्बिका अहिले छोराछोरी सहित आफन्तको घरमा आश्रय लिइरहेकी छिन् । अम्बिकाको घरजग्गा छैन । लकडाउनका कारण नाबालक छोराछोरी कुपोषणको शिकार हुने जोखिम बढेको छ । अम्बिका भन्छिन्, “एकातिर श्रीमान्को मृत्यु भयो, अर्को परिवार कसरी पाल्ने चिन्ता बढ्यो । छोराछोरीको पढाइ-लेखाइ र पालनपोषण गर्न कठिन परेको छ ।”
बाजुराका शिक्षक जनेश भण्डारीका अनुसार अम्बिकाको परिवार खाद्य संकटमा परेको छ । भण्डारी भन्छन्, “हामीले उनको परिवारलाई केही पैसा संकलन गरेर भाँडाकुँडा र एक महीनाको लागि चामल किनेर दियौं, तर त्यतिले कहिलेसम्म पुग्छ र ? अहिले फेरि उनको परिवारले खाद्य संकट झेलिरहेको छ ।”
बाजुराकै त्रिवेणी नगरपालिका-८ कालापानीका नौले नेपालीको ७ जनाको परिवार १० वर्षपछि कोरोना कहरकै बीच भारतबाट बाजुरा फर्केको छ । पाँच छोराछोरी र पति-पत्नी भारतको ओखलामा बस्दै आएका थिए । कोरोनाले रोजगारी गुमेपछि ४ वैशाखमा उनको परिवार नेपाल आएको हो ।
नौले नेपाली १० वर्षदेखि भारतमा चौकीदारी गरेर परिवार पाल्थे । भारतमै बस्ने गरेको र यता गाउँको घर रित्तो भएकोले भत्किसकेको थियो । नौलेको पनि गाउँमा घरजग्गा छैन । उनी परिवारसहित गाउँ पुगेलगत्तै सपरिवार क्वारेन्टाइनमा बसे । २० दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किए, तर बस्ने घर नभएकोले जेठो दाइको घरमा सहारा लिएका छन् । नौलेको परिवारलाई यतिबेला खानेकुराको अभाव छ । आफन्त र गाउँलेहरूको सामान्य भरथेगले उनको परिवारले जेनजेन छाक टारिरहेको छ । उनी भन्छन्, “दाइको घरमा बसेको छु । तर बिहान-बेलुका छाक टार्न समस्या परेको छ ।”

नौलेकी पत्नी राधिका नेपाली अल्सरकी बिरामी छन् । रकम अभावका कारण उनको उपचार हुनसकेको छैन । भारतमा हुँदा नियमित औषधि खाने उनी बाजुरा फर्केपछि औषधि-उपचारबाट वञ्चित भएकी छन् । नौलेका तीन छोरा दुई छोरी पोषणयुक्त र पर्याप्त मात्रामा खान नपाउँदा कुपोषित समेत भइसकेका छन् । नौलेका पाँच छोराछोरी छोटो जन्मान्तरमा भारतमै जन्मेका हुन् ।
खान, बस्न र औषधि उपचारबाट वञ्चित नौलेको परिवारको पीडा बारे स्थानीय सरकार बेखबर नै छ । भारतबाट नेपाल आएको तीन महीना भए पनि उनले वडा र नगरपालिकाबाट कुनै सहयोग पाएका छैनन् । उनी भन्छन्, “काम छैन, पैसा छैन । राज्यको कुनै सहयोग छैन । जीवनमा दुःख मात्र थपिएको छ ।” नौलेले गाउँलेहरूसँग बारम्बार सहयोग माग्न पनि असजिलो भएको अनि गाउँमा पनि खाद्य संकट र भोकमरी शुरू भएको बताए ।


बाजुराकै त्रिवेणी नगरपालिका-८ कालापानीका प्रेम सार्कीको परिवार पनि २० वर्षदेखि भारतमै थियो । दिल्लीमा काम गर्दै आएका प्रेमका तीन छोरा र एक छोरी भारतमै पढिरहेका थिए । प्रेम भन्छन्, “सब ठीकठाक चलेकोले नेपाल फर्किनु पर्ला भन्ने सोचेको थिइनँ । तर, कोरोनाले नेपाल फर्कायो, यता आएपछि बिचल्ली भयो ।”
२२ वैशाख २०७७ मा गाउँ फर्केका प्रेमको ६ जनाको परिवार गाउँकै कालु सार्कीको घरमा बसेको छ । ठूलो परिवार, काम विना बस्नु परेकोले प्रेमलाई दैनिकी चलाउन सकस परेको छ । स्थानीय पसलमा उधारो माग्दा पनि पसलेले पत्याउन छाडेको प्रेम बताउँछन् । उनी भन्छन्, “भएको सम्पत्ति पहिला नै बेचें । अहिले न उता जागिर रह्यो, न यता घरजग्गा छ ।”

उनी कोरोना नियन्त्रण भएपछि परिवारलाई यतै छाडेर फेरि रोजगारीका लागि भारत जाने योजनामा छन् । तर, कोरोना संकट टर्ने टुंगो छैन । भारतबाट फर्केका र खान बस्नलाई नै संकट झेल्दै आएका अरूहरूलाई जस्तै प्रेमको परिवारलाई पनि स्थानीय सरकारको कुनै सहयोग प्राप्त भएको छैन ।

न कात्रो, न काजकिरिया
२४ वर्षदेखि भारतमा बस्दै आएको बाजुराको बडिमालिका नगरपालिका-२ माझीगाउँकी कलमती दमाईको ६ जनाको परिवार कोरोना कहरपछि २८ जेठमा बाजुरा फर्कियो । बाजुरा पुगेलगत्तै बडिमालिका नगरपालिका-२ भौनेराको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा कलमतीको परिवारलाई राखियो । क्वारेन्टाइनमा बसेको दुई दिनमै ३० जेठको साँझ उनका पति भुपेन्द्र दमाईले आत्महत्या गरे ।
लामो समयदेखि दमको रोगबाट पीडित भुपेन्द्र कोरोना कहरका कारण आर्थिक अभावले गुज्रिरहेका थिए । भारतको दिल्लीमा कलमती अरूको घरमा काम गरेर पतिको उपचार खर्च जुटाउन र परिवार पाल्न सक्रिय थिइन् । लकडाउन भएपछि भारतको रोजगारी गयो, सपरिवार गाउँ आए, पतिले ज्यान गुमाए । कलमतीको जीवनमा अन्धकार छायो ।
कलमतीको गाउँमा घरजग्गा छैन । पतिको मृत्यु कर्म गर्न खर्च समेत नभएकी कलमतीसँग कात्रो किन्ने रकम समेत थिएन । खर्च अभावले उनले पतिको १३ दिने काजकिरिया समेत गर्न सकिनन् । पतिलाई उनी आफैंले बोकेर क्वारेन्टाइन नजिकै गाडेकी थिइन् । पतिको लास बेर्ने सेतो कपडा मात्र होइन धूप किन्ने पैसा समेत नभएकी कलमतीले रुँदै भनिन्, “मसँग मेरो बूढा मर्दा सेतो लुगा किन्ने पैसा पनि भएन, खर्च अभावले काजकिरिया गर्न पनि सकिनँ ।”
पतिको मृत्युपछि पनि २५ दिनसम्म कलमती छोराछोरी सहित क्वारेन्टाइनमा बसिन् । क्वारेन्टाइनमा खाने व्यवस्था नगरपालिकाले गरेको थियो । क्वारेन्टाइनबाट घर फर्केपछि कलमतीको विजोग शुरू भयो । उनको पुरानो घर भत्किसकेको छ, अरूको घरमा बसिरहेकी कलमतीलाई गाउँलेहरूले खाद्यान्न सहयोग गरेर बिहान-बेलुका खाने व्यवस्था गरेका छन् । उनी भन्छिन्, “श्रीमान् बितिहाले, अब यी चार छोराछोरी कसरी पाल्ने ?” क्वारेन्टाइनबाट फर्केपछि बडिमालिका नगरपालिका वडा नम्बर २ को कार्यालयले कलमतीलाई राहतका नाममा ३० केजी चामल दिएको थियो । वडाध्यक्ष डम्मर महत भन्छन्, “गरीबीमा गुज्रिएको परिवार भएकोले कलमतीलाई अहिले खान लाउनकै समस्या छ, वडाको सहयोगले कति दिन पुग्छ र ?”


कोरोनाका कारणले भारतमा रोजगारी गुमेर बाजुरा फर्किएका विपन्न नागरिकले झेलेका यी केही प्रतिनिधि दृष्टान्त हुन् । यस्तो संकट झेल्ने अरूहरू पनि छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक अनुसार भारतमा रोजगारी गुमाएर बिचल्लीमा परेकामध्ये लकडाउनको अवधिमा मात्रै ८ हजार ३८१ जना नेपाली बाजुरा आएका छन् । उनीहरूमध्ये सबैलाई क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो ।
बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मी भन्छिन्, “भारतबाट आएकाहरूले राहत वा अन्य विशेष सहयोग पाएका छैनन् । शुरूमा भारतबाट आउँदा चाहिं दलित समुदायलाई यातायात खर्च भनेर केही रकम छुट्याएका थियौं । अरूलाई त्यस्तो केही थिएन ।”
नगरपालिकाले वितरण गरेको राहतबाट अधिकांश क्वारेन्टाइनमा बस्नेहरू वञ्चित भए । क्वारेन्टाइनबाट घर फर्किंदा नगरको राहत वितरण सकिएको थियो । त्रिवेणी नगरपालिका कार्यपालिका सदस्य हरि नेपाली भन्छन्, “नगरपालिकाको राहत वितरण सकिएपछि भारतबाट धेरै मानिस आए । भारतमा रोजगारी गुमाएर सपरिवार नेपाल आउने गरीब श्रमिकहरूले अहिले चरम खाद्य संकट भोगिरहेका छन् ।”
बाजुरामा बूढीगंगा नगरपालिका बाहेक ८ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । तर, सबैको बजेटमा भारतबाट रोजगारी गुमाएर फर्केका नेपालीको संकट समाधान गर्ने कार्यक्रम परेको छैन । बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल भन्छन्, “अहिले बाजुराको ठूलो विपत्ति भनेको बाढीपहिरो नै भएकोले अरू समस्यामा ध्यान दिन सकिएको छैन ।”

चर्चामा

सम्बन्धित समाचार