बुधबार, अशोज ७, २०७७
  • होमपेज
  • समाज
  • जो ५५ वर्षदेखि कपडा धोएर जीवन धानिरहेका छन्

जो ५५ वर्षदेखि कपडा धोएर जीवन धानिरहेका छन्

  • मङ्लबार, भदौ ९, २०७७
जो ५५ वर्षदेखि कपडा धोएर जीवन धानिरहेका छन्

बुटवल-२ मैनाबगरस्थित धोबीटोलका ७२ वर्षीय मङरु धोबीको हरेक उज्यालो साबुन र सर्फबाट हुन्छ। हरेक दिउँसो र साँझ, धोएका कपडा घरघरमा पुर्‍याएर बित्छ।  उनले अरूका कपडा धोएरै जीवन धान्न सुरू गरेको ५५ वर्ष भयो। यो अवधिमा उनले कसका, कति र कस्ता कपडा धोए, त्यसको लेखाजोखा राखेका छैनन्।

सुरूमा उनी ‘साहु-महाजन’ र सरकारी कार्यालयका कर्मचारीहरूका कपडा धुन्थे। बजारमा ‘वासिङ मेसिन’ आउन थालेपछि साहु-महाजनहरूले घरमा मेसिनमै कपडा धुन थाले। त्यसयता मङरु अस्पताल र विद्यालयका कपडा धुन थालेका छन्।  ‘अचेल मान्छेहरूका कपडा धेरै धोइँदैन। धोबीलाई धुन दिनेहरू अचेल मेसिनमै धुन्छन्,’ उनी भन्छन्। मङरुलाई उनकी श्रीमती सावित्रीले कपडा धुन र आइरन लगाउन सघाउँछिन्। सावित्री पनि ६० वर्षकी भइन्।

हातखुट्टा ठिहिर्‍याउने जाडो होस् वा उखर्माउलो बुटवलको गर्मी, मौसम हेरेर कपडा धुन छाड्यो भने उनीहरूको छाक टर्दैन। पुष-माघको चिसोमा तिनाउको पानी छुन नसक्ने गरी चिसो बग्छ। तर कपडा धुँदाधुँदा उनीहरूका हातखुट्टाले तातो-चिसो खुट्याउन छाडिसकेको छन्।

‘जाडोमा खोलाको पानी धेरै चिसो हुन्छ। तर यतिका वर्ष कपडा निरन्तर कपडा धोएर होला, हातखुट्टाले चिसोतातो नै छुट्याउँदैन,’ मङरु भन्छन्।

भोकको पीडा टार्न हातखुट्टाका दुखाइ वेवास्ता गरे पनि शरीरले त लक्षण देखाइहाल्छ। हिउँदमा चिसो पानीले उनीहरूका हातखुट्टा सुनिन्छन्। गर्मीमा खोलाको तातो पानीले औंला र कापमा घाउ बनाउँछ।

मङरुका छोराबुहारी पनि कपडा धुने नै काम गर्छन्। तर उनीहरूलाई खोलाको पानीमा आफ्ना हातखुट्टा खियाउन पर्दैन। अचेल उनीहरूले मेसिनमा कपडा धुन थालेका छन्। तर यसमा खर्च बढी लाग्ने हुनाले कमाइ कम हुने सावित्री बताउँछिन्।

‘हातले कपडा धुँदा जति बचत हुन्छ, मेसिनले धुँदा छिटो भए पनि पैसा कम बच्छ। अलि धेरै मिहेनत गरेर भए पनि केही रकम बचत होस् भनेर हातैले कपडा धुन्छौं,’ सावित्री भन्छिन्।

मङरुको यो पेसा बुवाबाटै आएको हो। उनका बुवा कपडा धुने कामकै लागि भारतबाट बुटवल आएका थिए। मङरु बुटवलमै जन्मिए।

त्यति बेला अहिलेको पुरानो बुटवलमा बाक्लो बजार थियो। अहिले मुख्य बुटवल बजार सुनसान थियो। तिनाउ नदीपारिको अहिलेको पुरानो बजार नै बुटवल बजारको नामले परिचित थियो। पहाडबाट घिउ बेच्न ल्याउने र मट्टीतेल, नुन, चिनी तथा वर्षभरीलाई चाहिने घरायसी वस्तु किनेर लैजानेहरूको त्यही बजारमा भिड लाग्थ्यो। सरकारी अड्डा-अफिस पुरानो बुटवलमै थिए।

पूर्वपश्चिम राजमार्ग बनेको थिएन। अहिले राजमार्ग बनाइएको स्थानमा बस्ती थियो। मङरु त्यही बस्तीमा बुवाले बनाएको छाप्रोमा हुर्किए। तिनाउकै पानी खाएर, खेलेर बढे।

अभावै अभावमा बितेको आफ्नो बाल्यकाल सम्झिँदा पनि मङरुलाई अहिले रमाइलो लाग्छ रे।

‘तिनाउको पानीमा धेरै पौडी खेलिन्थ्यो। माछा मारेर पोलेर खाने रमाइलो थियो नि,’ उनी भन्छन्।

राजमार्ग बनाउन सुरू गरेपछि भने उनीहरूलाई गढिकिल्ला भएको ठाउँमा स्थानान्तरण गरियो। जितगढी किल्लाको संरक्षणको काम सुरू भएपछि त्यहाँबाट पनि थोरै दक्षिणतर्फ सारियो। जुन स्थान अहिले धोबी टोल भनेर चिनिन्छ।

हजुरबुवा आएर बसोबास गरेको स्थानदेखि अहिले छोरानातिसम्म आइपुग्दा उनीहरूको बसोबास तीन ठाउँ फेरिएको छ। पेसा भने हजुरबुवादेखि नातिसम्म धोबी नै हो।

मङरुका बुवाजस्तै उनको जिउने आधार त्यही तिनाउको पानी बन्यो। घरमा जोडिएको खानेपानीको धारामा कपडा धुँदा पानीको बिल धेरै आउँछ भन्छन् उनी। बिल थोरै आओस् भनेर उनले खोलामै कपडा धुने बताउँछन्। वर्षामा धेरै धमिलो पानी आउँदाबाहेक सबै कपडा खोलाकै पानीले धोएर घरघर पुर्‍याउँछन्।

मङरुका बुवाले भारतबाट माटो ल्याएर कपडा धोएको उनलाई अझै सम्झना छ। उनका अनुसार त्यो बेला भारतबाट गधालाई बोकाएर ल्याएको माटोले कपडा धोइन्थ्यो।

‘बुवाले चार-पाँच वटा गधामा बोकाएर माटो लिएर आउनुहुन्थ्यो। सोडा, सर्फ, साबुन खासै थिएन। माटोले कपडा सफा हुन्थ्यो। एकपटक ल्याएको माटो सक्किएपछि फेरि लिन जानुहुन्थ्यो,’ उनी सम्झन्छन्।

माटोले धोएको कपडा साबुन हुँदै छोरानातिको समयमा मेसिनमा धुन थालेपछि उनी दंग परेका छन्। चार पुस्तादेखि पेसा परिवर्तन नगरे पनि प्रविधि विकाससँगै कपडा धुने शैली र साधन फेरिएको छ।

कपडा धुने शैली र प्रविधि फेरिएपछि पाउने ज्याला पनि बढेको छ। पहिले एक सय रुपैयाँमा ४-५ सय वटासम्म कपडा धुनेमा अहिले एउटै कपडाको चार सय रुपैयाँसम्म लिने उनीहरू बताउँछन्।

‘हजुरबुवाले एक सय रुपैयाँमा चार-पाँच सय कपडा धुनुहुन्थ्यो। बुवाले दुई-तीन सय रूपैयाँमा एक सय वटा कपडा धुनुभयो। अहिले हाम्रो पालोमा एउटै कपडा धोएको चार-पाँच सयसम्म लिन्छौं,’ छोरा पुस्ताका बद्री धोबीले भने।

नयाँ पुस्तासँगै कपडा धुने पेसालाई व्यवसायिक र आधुनिक बनाउँदै लगेको उनीहरू बताउँछन्। अन्नपुर्णपाेष्टबाट शाभार

धोबी टोल।  तस्बिरः भगवती पाण्डे

चर्चामा

सम्बन्धित समाचार