बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • संक्रमित मन्त्रीसँगै बैठकमा थिए प्रधानमन्त्री र गृहमन्त्री

संक्रमित मन्त्रीसँगै बैठकमा थिए प्रधानमन्त्री र गृहमन्त्री

  • बिहिबार, साउन २२, २०७७
संक्रमित मन्त्रीसँगै बैठकमा थिए प्रधानमन्त्री र गृहमन्त्री

विराटनगर ः कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी रहेका थिए । काठमाडौंमा भएको प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, सुरक्षा प्रमुख लगायत उच्च पदस्थहरु रहेको खुलेको छ । बैठमा मन्त्री यादवले प्रदेश २ को नेतृत्व गरेका थिए । बैठकपछि उनले अरु उच्च पदस्थहरुलाई पनि भेटेको बताएका छन् ।

बैठकको प्रमुख अतिथी प्रधानमन्त्री ओली थिए । संक्रमण पुष्टि भएका मन्त्री यादवले काठमाडौंमा सम्पन्न बैठकको फोटो साउन १५ गते राति १२ः३२ बजे आफ्नो फेसबुकमा शेयर गरेका छन् । उनले सामाजिक सञ्जालमा अपलोड गरेको तस्बिरमा प्रधानमन्त्री, गृहमन्त्री, अरु प्रदेशका मन्त्रीदेखि सुरक्षा निकायका उच्च पदस्थहरुलाई देख्न सकिन्छ । मन्त्री यादवले बैठकमा सहभागिता जनाउने क्रममा मास्क प्रयोग गर्दै समाजिक दूरी कायम गरेको बताएका छन् । तस्बिरका लागि आफू नजिक जस्तो देखिएपछि सबैजना सतर्क र सजग रहेको उनको भनाइ थियो ।

यसअघि विभिन्न कार्यक्रममा सहभागी भएर परीक्षण गराउँदै आएको बताउँदै मन्त्री यादवले मन्त्रालयका दुई जना कर्मचारीमा पोजेटिभ देखिएपछि परीक्षण गराएका हुन् । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएका थिए । साउन १८ गते काठमाडौंबाट फर्किएर १९ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गराउँदा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै बैठकमा सहभागी प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की केही दिन अघि विराटनगर फर्किएर मन्त्रालय तथा कोरोना रोकथामका लागि योजना र कार्यान्वयनको काममा व्यस्त छन् ।

एउटै बैठकमा रहेका प्रदेश २ का मन्त्रीको रिपोर्ट पोजेटिभ आएपछि उनले पनि पीसीआर परीक्षणको तयारी गरिरहेका छन् । मन्त्री कार्कीले बिहीबार नभए शुक्रबार आफ्नो स्वाब परीक्षणका लागि दिने बताए । मन्त्री यादवले काठमाडौंबाट फर्किएर धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएको बताइएको छ । आफ्नो रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेसनमा छन् । मन्त्री यादवले आफ्नो सम्पर्कमा आएका सबै जनाले स्वाब संकलन गरेर जतिसक्दो चाँडो पीसीआर परीक्षण गराउनु पर्नेमा जोड दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार