शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कैलालीमा क्वारेन्टिनका स्वास्थ्यकर्मी र भान्छे पनि संक्रमित

कैलालीमा क्वारेन्टिनका स्वास्थ्यकर्मी र भान्छे पनि संक्रमित

  • बुधबार, साउन २१, २०७७
कैलालीमा क्वारेन्टिनका स्वास्थ्यकर्मी र भान्छे पनि संक्रमित

कैलाली । कैलालीको एक क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार र भान्छेमा समेत क कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलारी गाउँपालिका– १ हसुलियाको एक विद्यालायमा सञ्चालित क्वारेन्टिनका स्वास्थ्यकर्मी, चौकीदार र भान्छेसहित ७ जनामा कोरोना पुष्टि भएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए ।
उनीहरु सबै अहिले सुरक्षित आइसोलेसनमा रहेको शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । कोरोना संक्रमित स्वास्थ्यकर्मी एक दिन घर गएर आएको उनले बताए । ‘उहाँ एक दिन घर जानुभएको रहेछ’ उनले भने ‘उहाँका घरपरिवारका सदस्यहरूको पनि स्वाब सङ्कलनको तयारी गरिरहेका छौँ ।’

८ महिने बालिका पनि संक्रमित

कैलालीमा ८ महिने बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिकामा ८ महिने बालिकासहित १४ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये १० जना एउटै टोलका छन् ।

८ महिनाकी बालिकाको बुवा आमा र दाजुलाई पनि संक्रमण पुष्टि भएको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले जानकारी दिए । ‘उनीहरु सबै एकै पटक भारतबाट आएका हुन्’ उनले भने ‘क्वारेन्टिनमा समय पूरा गरेर केही दिनदेखि घरमै बसिरहेका थिए ।’

उनीहरुको स्वाब संकलन गरेर रिपोर्ट आउनु भन्दा अघि नै उनीहरूलाई घर पठाइएको थियो । एउटै टोलमा १० जना संक्रमित देखिएपछि टोल सिल गरिएको उनले बताए ।

कैलालीमा हालसम्म १ हजार १७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सबैभन्दा धेरै गोदावरीमा ३५३ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै लम्की चुहा नगरपालिकामा २२० जना, गैरिगंगामा १४६ जना, धनगढी उपमहानगरपालिकामा १३० जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीमा सबैभन्दा कम जोशीपुर गाउँपालिका र मोहन्याल गाउँपालिकामा छन् । मोहन्यालमा ६ र जोशीपुरमा ८ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए ।

चर्चामा

सम्बन्धित समाचार