शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • १० करोड क्षतिपूर्ति माग्दै भुवनले हाले साम्राज्ञीविरूद्ध मुद्दा

१० करोड क्षतिपूर्ति माग्दै भुवनले हाले साम्राज्ञीविरूद्ध मुद्दा

  • शनिबार, साउन १०, २०७७
१० करोड क्षतिपूर्ति माग्दै भुवनले हाले साम्राज्ञीविरूद्ध मुद्दा

अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार दिउँसो उनले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।

केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्।

‘विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता भुवन केसीले मुद्दा दर्ता गर्न ल्याउनु भएको थियो, दर्ता भएको छ,’ सूचना अधिकारी कार्कीले सेतोपाटीसँग भने।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्। केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी थिइन्।

उनले अहिलेसम्म आठ वटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीन वटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ थियो।

आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने डरसमेत देखाइएको उनले भिडियोमा भनेकी थिइन्।

‘मैले १७ वर्षको उमेरमै चलचित्र क्षेत्रमा डेब्यू गरेँ। त्यति बेला नेपाली चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनियो,’ उनले भिडिओमा भनेकी थिइन्, ‘यहाँ जसको शक्ति छ, उसैले यो क्षेत्र नियन्त्रणमा लिएको हुन्छ। यस्तो बेला म भर्खर चलचित्रमा आएको मान्छेले यो कुरा बाहिर ल्याउँदा मेरो लागि ढोका बन्द हुन्छ भनेर सम्झाउँथे।’

आफूले विश्वास गरेको र अभिभावकझैं मान्ने नजिकको मान्छेले नै त्यस किसिमको हर्कत गरेको उनको भनाइ थियो।

‘अंकलजस्तो उमेरको मान्छेलाई त्यही भनेर सम्बोधन गर्दा ‘दाइ’ भनेर बोलाऊ भन्थे,’ उनले भनेकी थिइन्, ‘कामको विषयमा केही कुरा गर्नुपरे गालामा टाँसिएर बोल्न आउँथे। त्यो कुरा अलि पर बसेर भन्न सकिँदैन थियो र?’

‘मलाई त्यतिबेला नै भित्रबाट घिन लागेको थियो, तर हाँसेरै बोलिदिएँ। मेरो परिवारलाई फिल्म क्षेत्रको विषय केही ज्ञान छैन। मैले पनि त्यतिबेला यो कुरा नजरअन्दाज गरेँ तर आखिरमा सबैको असली रूप बाहिर आएको छ।’

साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनी भुवनकै छोरा अनमोल केसीसँग पहिलोपटक पर्दामा देखिएकी थिइन्। उक्त फिल्म व्यावसायिक रूपमा सफल भयो। यसबाट चलचित्र क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिले पनि सँगसँगै खुट्टा तान्ने मान्छेहरूको सामना गर्नुपरेको उनले बताएकी छन्।

‘हरेक फिल्मको प्रचारप्रसारमा जाँदा मलाई तपाईं किन घमण्डी हुनुहुन्छ भनेर सोधिन्थ्यो। मलाई भेट्दै नभेटेको, चिन्दै नचिनेको मान्छेले पनि म घमण्डी छु भनेर धारणा बनाइसकेका थिए। यसले मलाई दिक्क बनाउथ्यो। अन्तिममा थाहा पाएँ, जोसँग मैले काम गर्दै आएको थिएँ, उनीहरूले नै मेरोबारे अफवाह फैलाएका रहेछन्,’ उनले भनेकी थिइन्।

साम्राज्ञीले काम गरेको प्राय: ब्यानरमा उनी दोहोरिएकी छैनन्। यसो हुनुमा फिल्म क्षेत्रका केही सहकर्मीले गर्ने व्यवहारलाई उनी कारण बताउँछिन्।

सुटिङ बेला समयमा खाना, पानी नपाएको कुरा उठाउँदासमेत अपशब्द प्रयोग गरेर गाली गरिएको उनले बताइन्। यस्तो बेला कयौंपटक रूनुपरेको र फेरि केही नभएजस्तो नाटक गर्दै काममा फर्किनुपरेको अनुभव उनले सुनाइन्।

साम्राज्ञीले आफ्नो भिडिओमा कसैको नाम खुलाएकी थिइनन्। तर, उक्त भिडिओ भाइरल भएलगत्तै भुवन केसीले फेसबुकमार्फत् आफ्नो कुरा राखेका थिए।

उनले लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन्? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने। सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि!’

भुवनको यस्तो प्रतिक्रियापछि साम्राज्ञी फेरि बोलेकी थिइन्।

‘उहाँले मसँग राम्रो व्यवहार गरेको भए मैले यस्तो भन्नुपर्ने स्थिति आउँदैन थियो। यो हुनुको कारण उहाँ आफैं हो। यो विषयमा कति जनाले बोल्नुभयो होला, तर कसैले नसुनेको पनि हुनसक्छ। उनी त पहिलो व्यक्ति हुन्, त्यसपछि मलाई कति जनाले के गरेको छ, तर म चुप लागेर बसिरहेको छु,’ उनको भनाइ थियो।

आफूले यो विषयमा बोल्दा माया वा घृणा जे पनि आउन सक्ने उनी बताउँछिन्। आफूलाई भने नराम्रो प्रतिक्रियाको बानी परिसकेको उनले बताएकी थिइन्।

साम्राज्ञी ले आफू दुर्व्यवहारमा परेको सार्वजनिक गरेपछि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको बताएकी छन्।

फेसबुकमा अभिनेता केसीसँगको च्याटको स्क्रिन भिडिओ राख्दै स्वेता रेग्मी नामकी महिलाले यस्तो आरोप लगाएकी हुन्।

उनले फेसबुक लाइभमा आएर भुवनको बोल्ने शैलीबाट असहज महशुस भएको बताएकी थिइन्। रेग्मीले सार्वजनिक गरेको च्याटको स्क्रिन भिडिओमा उनले आफूलाई आपत्तिजनक लागेका भुवनका भनाइहरूमा रातो घेरा लगाएकी थिइन्।

यसैगरी लाइभ भिडिओमा उनले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नु पर्ने लागेर बोलेको बताएकी थिइन्।

भिडिओमा उनले आफूमाथि भएको दुर्व्यवहारबारे जसलाई परेको हो उसले आफूलाई सहज लागेको बेला भन्ने अधिकार रहेको र त्यसमाथि कसैले ‘पहिला किन नभनेको?’ भनेर प्रश्न गर्नु उचित नहुने उनको भनाइ थियो।

उनले भिडिओमा आफू एउटा पीडित भएरभन्दा पनि यस्ता घटनामा साथ दिनका लागि आएको बताएकी थिइन्।

यसैगरी उनले आफूले क्यानडामा काम गर्दा आफूभन्दा उच्च तहका पुरूष कर्मचारीले निरन्तर आफ्नो पहिरन र शरीरलाई लिएर गरेको अशोभनीय र असहज टिप्पणीबारे काम गर्न छोडेको पाँच वर्षपछि मुद्दा दायर गरेको र सो मुद्दा जितेको उल्लेख गर्दै यस्ता घटनामा चुप नबस्न आग्रह गरेकी थिइन्। सेतोपाटीबाट सभार

चर्चामा

सम्बन्धित समाचार