शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • शुक्र ग्रहमा फेला पारियो सयौँ ‘कोरोना’

शुक्र ग्रहमा फेला पारियो सयौँ ‘कोरोना’

  • शनिबार, साउन १०, २०७७
शुक्र ग्रहमा फेला पारियो सयौँ ‘कोरोना’

एजेन्सी– अन्तरीक्षमा प्रायः यस्ता घटनाहरु हुने गर्दछन् जसका बारेमा थाहा पाउँदा आम मानिसमात्र होइन वैज्ञानिकहरु समेत हैरान हुन्छन् । उसो त कैयन् शोधहरुमा यस्तो दाबी गरिएको छ कि ज्वालामूखी विस्फोटन केवल पृथ्वीमा मात्र नभइ सौर्यमण्डलका अन्य ग्रहहरुमा पनि भइरहन्छ । तथापि सौर्यमण्डलका कतिपय ग्रहहरुमा रहेका ज्वालामुखी करोडौँ वर्षदेखि शान्त छन् त कतिपय बेला बेलामा सक्रिय हुन्छन् । पृथ्वी बाहेक एउटा अर्को ग्रह छ सौर्यमण्डलमा जहाँ अहिले पनि लगातार ज्वालामुखी विस्फोट भैरहन्छ ।

वैज्ञानिकहरुका अनुसार बेलुकीको तारा भनेर चिनिने शुक्र ग्रहमा एकसाथ ३७ वटा भयानक ज्वालामुखी सक्रिय छन् । ती ज्वालामुखीहरु छिनछिनमा विस्फोट हुने गरेका छन् ।

मेरिल्याण्ड विश्वविद्यालयका वैज्ञानिकहरुले शुक्र ग्रहका सक्रिय ज्वालामुखीहरु पत्ता लगाएका हुन् । यसअघि शुक्र ग्रहको टेक्टोनिक प्लेट शान्त रहेको अनुमान गरिँदै आएकोमा पछिल्लो खोजले त्यसलाई गलत सावित गर्दै ज्वालामुखी विस्फोटका कारण शुक्र ग्रहमा रहेका टेक्टोनिक प्लेटहरुमा हलचल भैरहेको र भूकम्प पनि आउने गरेको पुष्टि गरेको हो ।

नेचर जियोसाइन्समा प्रकाशित उक्त अनुसन्धान रिपोर्ट अनुसार ज्वालामुखी विस्फोटकै कारण शुक्र ग्रहको सतहमा ठूलो संख्यामा गोलाकार खाल्डाहरु बनेका छन् । ती खाल्डाहरुलाई कोरोने अर्थात् कोरोना भनिन्छ । शुक्रको दक्षिणी ध्रुवमा त्यस्ता खाडलहरु अत्यधिक छन् । सबैभन्दा ठूलो कोरोनालाई अर्टेमिस भनिन्छ । त्यसको व्यास २१ सय किलोमिटर रहेको छ ।

वैज्ञानिकहरुका अनुसार सन् १९९० देखि हालसम्म शुक्र ग्रहको सतहमा कुल १३३ वटा कोरोना अर्थात् ज्वालामुखीका खाडलहरुको अनुसन्धान गरिएकोमा ३७ वटा सक्रिय ज्वालामुखी पाइएका छन् । अहिले पनि ती ठाउँहरुबाट तातो ग्याँस निस्किरहेको वैज्ञानिकहरुको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार