शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • मिर्गौला प्रत्यारोपण प्रकरण- यस्तो छ ‘नक्कली भान्जा’, आमा र विष्णुगोपालको बयान [भिडियो]

मिर्गौला प्रत्यारोपण प्रकरण- यस्तो छ ‘नक्कली भान्जा’, आमा र विष्णुगोपालको बयान [भिडियो]

नक्कली भान्जाकी आमाले रुँदै भनेकी थिइन्- दाइ बचाउन छोरालाई मिर्गौला दिन लगाएँ

  • सोमवार, साउन ५, २०७७
मिर्गौला प्रत्यारोपण प्रकरण- यस्तो छ ‘नक्कली भान्जा’, आमा र विष्णुगोपालको बयान [भिडियो]

काठमाडौं — नक्कली व्यक्ति खडा गरेर मिर्गौलाको ‘अवैध’ प्रत्यारोपण गरेको भन्दै प्रहरीले १२ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ। मानव बेचबिखन ब्यूरोले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का प्रमुख कार्यकारी अधिकृत डा सुप्रभात श्रेष्ठ, अस्पतालका डा बालकृष्ण कालाखेती, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाललाई मिर्गौलाको ‘अवैध’ प्रत्यारोपणमा संलग्न रहेको आरोपमा असार २७ गते चितवनबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

सोही आरोपमा डा राकेशकुमार बर्मा, ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर–६ की जमुना राजभण्डारी, भोजपुर घर भई भक्तपुर बस्ने रेश्मा राई, प्रहरीका असई भीमप्रसाद खनाल, सई योगेन्द्रराज थपलिया र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसीविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरूलाई ‘नक्कली भान्जा खडा गरेर गैरकानुनी रूपमा भक्तपुरका ५३ वर्षीय विष्णुगोपाल बतासलाई मिर्गौला प्रत्यारोपण गराएको’ आरोप लागेको छ। बतासका भान्जा रिजनवीर जोशीले मिर्गौला दिन तयार भएको भन्दै नाता प्रमाणितसमेत गराइएको थियो। तर त्यसबेला उनी अस्ट्रेलियामा थिए।

ओखलढुंगाका एक व्यक्तिलाई नक्कली भान्जा अर्थात् रिजनवीर जोशी बनाउँदै उनीहरूले मिर्गौला प्रत्यारोपणका लागि कागजात बनाएर पेश गरेका थिए। उनीहरुले वास्तविक भान्जा रिजनवीरको फोटो उप्काएर त्यसठाउँमा ओखलढुंगाका ती व्यक्तिको फोटा टाँसी कागजी भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ब्यूरोले अनुसन्धान गरिरहेको छ।

मिर्गौला प्रत्यारोपण गर्नुअघि जाँचबुझ गरिएका कागजात, सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिएका घटनाहरूको भिडियो स्वास्थ्यखबरले प्राप्त गरेको छ। स्वास्थ्यखबरलाई प्राप्त भिडियोमा अंग प्रत्यारोपण स्वीकृत समितिले उनीहरुसँग सोधपुछ गरेको देखिन्छ। विष्णुगोपाल बतासले ओखलढुंगाका ती युवालाई आफ्नै भान्जा भएको बयान दिएका छन्।

अंग प्रत्यारोपण स्वीकृतिका पदाधिकारी र मिर्गौला लिनेवाला विष्णुगोपाल बतासबीचको संवाद यस्तो छ-

समिति पदाधिकारी : भान्जा (रिजनवीर जोशी)सँग किड्नी मिल्छ भनेर कति समय पहिला थाहा पाउनु भयो?
मिर्गौला दान लिने विष्णुगोपाल : पाँच/छ महिनाअघि थाहा पाएको।
समिति : यसमा लेनदेन केही छैन नि?
विष्णुगोपाल : छैन।

समितिले विष्णुगोपालका साख्खे भान्जा बनेर मिर्गौला दिन लागेका ‘नक्कली भान्जा’सँग समेत सोधपुछ गरेको पाइएको छ।
समिति : तपाईको नाम के हो?
नक्कली भान्जा : रिजनवीर जोशी। (ओखलढुंगाका ती युवाले समितिलाई आफ्नो वास्तविक परिचय लुकाएर विष्णुगोपालको साख्खै भान्जाको परिचय दिए)

समिति : तपाईंले स्वेच्छाले मिर्गौला दिन लागेको हो?
नक्कली भान्जा : हो।
समिति : पारिवारिक ‘इमोसनल ब्ल्याकमेलिङ’ त गरेको छैन नि?
नक्कली भान्जा : छैन।

‘एउटा कमिटीमा बसिसकेपछि हामीले सबै कुरा बुझ्नुपर्छ, नभएपछि समस्या आउँछ। अंग प्रत्यारोपण सजिलो छैन, गाह्रो छ भन्ने थाहा छ कि छैन?,’ समितिले भान्जा बनेर बयान दिइरहेका युवासँग सोधपुछ गरेको थियो।

अहिलेसम्म त केही समस्या परेको छैन। तपाईंहरु मिलेर बस्नुभएको छ। भोलि केही खटपट आएर मलाई झुक्याएर/फकाएर मिर्गौला प्रत्यारोपण गरिएको हो भन्दै कानुनी झैझगडा हुनसक्छ भन्ने तपाईंहरूले सोच्नु भएको छ/छैन?,’ समितिले नक्कली भान्जालाई बनेर उत्तर दिइरहेका ती युवालाई सोधेको थियो।

उनले कपाल कन्याउँदै भनेका थिए, ‘छैन।’

समिति : तिम्रो बाआमा खोई? अझै आइपुग्नुभा छैन?
नक्कली भान्जा : अर्को कारमा आउँछन्।
समिति : मामाको दिदीबहिनी कति जना छन्?
नक्कली भान्जा : दुई वटा।
समिति : नाम के हो?
नक्कली भान्जा : मामाघर त्यति गइँदैन नाम त मलाई थाहा छैन। म अलि ठूलो भएपछि इन्डिया गइहालेँ।
समिति : के गर्छौ तिमी?
नक्कली भान्जा : म त्यतिकै। पहिला स्कुल पढेँ साँगामा।
समिति : कति पढ्यौं?
नक्कली भान्जा : एसएलसी फेल। त्यसपछि इन्डिया गएँ।
समिति : इन्डिया कोसँग कहाँ गयौं?
नक्कली भान्जा : इन्डिया जयपुरमा होटलमा काम गरेँ।

होटलको नाम के? होटलको म्यानेजरको नामलगायत प्रश्न पनि समितिले सोधेर उनको यर्थाथता जाँच्न खोजेको देखिन्छ। सोही क्रममा समितिले उनी अस्पताल पुग्नुको कारणबारे सोधेको देखिन्छ।

समिति : पहिला तपाईं यहाँ केका लागि आउनु भएको?
नककली भान्जा : मामालाई भेट्न।
समिति : तपाईं त बिहे नगरेको मान्छे मिर्गौला दिन लाग्नु भएको छ। कति वर्षको हुनुभयो?
नक्कली भान्जा : २५ वर्षको भएँ।
समिति : किड्नी दिन लागेको कुरा बाबुआमालाई थाहा छ/छैन?
नक्कली भान्जा : थाहा छ।
समिति : ममीबुवा आउनु भएको छ?
नक्कली भान्जा : ममी आउनु भएको छ। ड्याडी पसलमा हुनुहुन्छ।

त्यसपछि नक्कली भान्जाले मोबाइलबाट आफ्नै आमा भन्दै गीतादेवीलाई फोन गरेर सोध्छन्, ‘ममी, ड्याडी आउँछ/आउँदैन?’ समितिलाई विश्वासमा पार्न उनीहरुकै अगाडि नक्कली भान्जाले आफ्नै आमा जसरी गीतादेवीलाई फोन गरेका थिए। जसकारण पनि उनीहरूले समितिलाई थप विश्वासमा पारेको देखिन्छ।

समिति : नागरिकता ल्याउनु भएको छ?
नक्कली भान्जा : ममीले ल्याउँदै हुनुहुन्छ।
समिति : सिफारिस, नाता प्रमाणित गरेको छ?
नक्कली भान्जा : सबै गरेको छ।
समिति : पैसाको लेनदेन गरेर पनि मिर्गौला दिने भन्ने कुरा मिडियामा आउँछन्, त्यस्तो होइन नि?
नक्कली भान्जा : मामासँग त्यस्तो हुँदैन।
समिति : बाबुआमालगायत अरु कसैले फकाएर दिन त लागेको होइन नि?
नक्कली भान्जा : होइन।
समिति : तिम्रो हेल्थलाई नराम्रो गर्छ कि गर्दैन भन्ने थाहा छैन? कसैसँग सोधेको छ/छैन?
नक्कली भान्जा : सोधेको केही हुँदैन भन्नुभयो।
समिति : कति सालमा एसएलसी दिएको?
नक्कली भान्जा : २०६९ सालमा। त्यसपछि इन्डियामा ३ वर्ष बसेँ। नेपाल आएर ममीसँग केही समय बसेँ। त्यसपछि पोखरा गएँ। अहिले पसलमा सघाइरहेको छु।

सक्कली भान्जा बनेर बयान दिएका नक्कली भान्जा (ओखलढुंगाका युवा)ले समितिलाई विश्वासमा पारिसकेका थिए। त्यही अनुसारको कागजात पनि तयार गरिएको थियो। त्यसपछि भान्जाका आमासँग पनि समितिले सोधपुछ गरेको भिडियोमा देखिन्छ।

नक्कली भान्जाको आमा बनेकी गीतादेवी मिर्गौला प्रत्यारोपण गर्नुपर्ने विष्णुगोपालकी साख्य बहिनी हुन्। उनीसँग पनि समितिले सोधपुछ गरेको छ।

गीतादेवी समितिको कोठामा प्रवेश गर्नेबित्तिकै आँसु पुच्छ्दै रुन थाल्छिन्।

‘रुन पर्ने कारण छैन नरुनू’ भन्दै समितिका सदस्यले गीतादेवीलाई सम्झाएको भिडियोमा प्रष्टै देखिन्छ। गीतादेवी रोएर समितिलाई प्रभावमा पारेर विश्वास दिलाउन खोज्छिन्।

समितिका एक सदस्यले भन्छन्, ‘केही चिजहरु कानूनी हिसाबले सोध्नुपर्ने भएकाले सोध्न लागेका हौं।’

मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा सुप्रभातले सोध्छ्न्- तपाईंको छोराले कति पढेको छ?
गीतादेवी : एसएलसी फेल।
समिति : किन पढेन त्यसपछि? इन्डिया गयो रे भन्छ त?
गीतादेवी : हो।
समिति : किन गयो त इन्डिया?
गीतादेवी : नपढेर गयो।
समिति : कति भयो फर्केर आएको?
गीतादेवी : दुई वर्ष भयो पसलमै बस्छ।
समिति : के पसल छ?
गीतादेवी : इलेक्ट्रिक पसल छ।

समितिले गीतादेवी र नक्कली भान्जा अर्थात् गीतादेवीको नक्कली छोरा बनेका रिजनवीरसँगको कुरा दाँज्दै प्रश्नहरु सोधे। उनीहरुले दिएको जवाफको मेल खाइरह्यो।

समिति : मिर्गौला दिएपछि बच्चालाई के इफेक्ट पर्छ भन्ने तपाईंहरुलाई थाहा छैन?
गीतादेवी : थाहा छ। सबै जाँच पनि गरेको छ, राम्रै छ भनेको छ। त्यही भएर गर्न लागेको हो। अब दाईको लागि। (गीतादेवी फेरि रुन्छिन्। नरुनू भन्दै समितिका सदस्यहरु सम्झाउँछन्।)

समितिका सदस्यले तपाईंको माइती कहाँ रे भनेर सोध्छन् उनी रोएरै बस्छिन्।

समिति : तपाईंहरूले तयार गर्नुपर्ने काजगपत्रहरू लिएर आउनु भएको छ/छैन?
गीतादेवी : सबै ल्याएको छु।
समिति : नागरिकताहरू पनि सबै ल्याउनु भएको छ?
गीतादेवी : ल्याएको छ।

(त्यसपछि आवश्यक कागजपत्रको जाँच हुन्छ। गीतादेवी फेरि आँसु बगाउँछिन्।)

समितिका अर्का सदस्य : चिनेजानेको र मानवीय कुरा एकातिर छ। कानुनी प्रक्रिया अर्कातिर छ यो अंगदान गर्ने कुरामा। कमिसन समिसनको कुरा भा’छ/छैन?
गीतादेवी : छैन। आफ्नै दाइ हो।
समिति : हाम्रो सोध्ने कर्तव्य हो। सोध्नु त पर्‍यो नि!

त्यसपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्ति विष्णुगोपालकी श्रीमती सुशीला मुनकर्मीको प्रवेश हुन्छ। उनी खासै नबोली बस्छिन्। समितिले कागजात जाँच गर्छ।

समितिले शंका लागेको भन्दै मिर्गौला दिने व्यक्तिको नागरिकता र नाता प्रमाणितको कागजात जारी गर्ने सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पठाउँछ।

वडा र जिल्ला प्रशासनबाट अस्पतालमा पेस भएका कागजात ठिक भनेपछि मिर्गौला प्रत्यारोपणको काम भएको देखिन्छ। तर प्रहरीले अस्पतालकै मिलेमतोमा मिर्गौलाको अवैध प्रत्यारोपण गरेको आरोपमा अनुसन्धान अघि बढाएको छ।

चर्चामा

सम्बन्धित समाचार